म्याग्दीदेखि झापासम्मका महिला ठगिए

|

काठमाडौं : विदेश पठाइदिने नाममा सर्वसाधारणलाई ठगेपछि झापाका नेत्रप्रसाद गिरी २०६९ सालमा जेल परेका थिए। देशका विभिन्न कारागारमा गरेर उनले ३ वर्ष जेल सजाय काटे। सजाय सकिएपछि जेलबाट रिहा भए। तर सुध्रिएनन्।

जेलसजाय काट्ने क्रममा नेत्रप्रसाद गिरीले म्याग्दीको कारागारमा अर्का कैदी खगेन्द्र न्यौपानेसँग भेटेका थिए। नेत्रले खगेन्द्रलाई विदेश जाने मान्छे भेटाइदिन आग्रह गरे। जेलबाट छुटेपछि नेत्रलाई  खगेन्द्रले म्याग्दीकै विमला कार्की (नाम परिवर्तन) सँग चिनजान गराइदिए।

विमलासँगको भेटमा नेत्रले आफ्नो नाम ढाँटेका थिए। अभिषेक केसीको नामले उनी विमलासँग नजिक भए। मिठो बोली बोल्ने अभिषेकले नाम थर नै गुमराहमा राखेर विमलालाई प्रेममा फसाए। उनीहरुको बिहे भयो। ललितपुर इमाडोलमा यो जोडी कोठा लिएर बस्न थाल्यो। विमलाका भाईलाई अभिषेकले कामका लागि पोर्चुगल पठाइदिने प्रलोभन देखाए। तर त्यसका लागि १६ लाख चाहिने भयो। विमलाले भाईमार्फत १६ लाख लिएर श्रीमानलाई बुझाइन्। त्यसपछि अभिषेश कोठामा आउन छाडे। उनको फोन उठ्न छाड्यो। भाईको पोर्चुगल जाने सपना भताभूंग भयो। भर्खरै बसेको विमलाको घरबार भताभूंग भयो। विमलाले केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिइन्। केन्द्रीय अनुसन्धान ब्युरोले यस घटनालाई सामान्य रुपमा लियो किनकी यो घटना एकजनासँग मात्रै सम्बन्धित थियो।

०००००००००००००००

ठगी धन्दामा संलग्न रवि केसी भनिने रवि चिमोरिया

 

अभिषेकले आफ्नो ठगी धन्दा बढाउँदै लगे। उनले अपहरण तथा शरिर बन्धक मुद्दामा जेलबाट रिहा भएका रविन चिमोरियासँग मिलेर अन्य महिलालाई पनि ठग्न थाले। रविन चिमोरियाले आफ्नो परिचय रविन केसीका रुपमा दिने गरेका थिए।

अभिषेक केसी र रविन केसीका नाममा ठगिने महिलाहरुको संख्या बढ्न थाल्यो। केन्द्रीय अनुसन्धान ब्युरोमा उनीहरुका नाममा उजुरी बढ्न थाले। अभिषेकको ठगी धन्दामा रविनको नाम समेत जोडिन थालेपछि प्रहरीले घटनालाई गम्भीर रुपमा लिन थाल्यो। एकातिर अपराधीको जालो फैलदै थियो, अर्कातर्फ पीडितहरुको संख्या बढ्दै थियो। केन्द्रीय ब्युरोले अनुसन्धान अघि बढायो।

म्याग्दीबाट सुरु भएको ठगी धन्दालाई रविन केसीको सहयोगमा अभिषेकले चितवन, पर्सा, सप्तरी हुँदै झापासम्म फैलाए।

प्रहरीका अनुसार भलाद्‍मी बनेर ठगी धन्दा चलाउने अभिषेक भनिने नेत्रप्रसाद गिरी र रवि चिमोरिया विरुद्ध उजुरी दिनेमा अधिकांश महिला छन्। 'उनीहरु विरुद्ध केवल ३ पुरुषको उजुरी परेको छ। दर्जनौ महिलाको उजुरी छ,' अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्,'पक्राउ परेका व्यक्तिले ४५ वर्ष उमेरसम्मका महिलालाई विभिन्न झुट्टा विवरण पेश गरेर आर्थिक तथा शारिरीक शोषण गरेको देखियो। महिलाहरुसँग शारिरीक सम्बन्ध राखेर  मोबाइलमा फोटो राखेको पाइयो।'

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरुले दर्जनौं महिलालाई प्रलोभनमा पारेर १० करोड १५ लाख ९३ हजार रुपैयाँ ठगी गरेका छन्।

यसरी फसाउने युवती

झट्ट हेर्दा नेत्रप्रसाद र रविन भलाद्‍मीजस्ता देखिन्छन्। उनीहरु समाजिक कार्यक्रममा सरिक हुन्थे। महिनाको ४५ हजार रुपैयाँ तिरेर आइ-टेन कार भाडामा लिएका थिए। भाडामा लिएको यो कारमा चढेर उनीहरु पिकनिक तथा सभा-सेमिनारमा जान्थे। आकर्षक पहिरनमा सजिएका यी ह्यान्डसम युवाहरु उत्तिकै मिठो बोल्थे। सभा-सेमिनारमा जम्मा भएका धनाढ्य युवतीहरुसँग परिचय गर्थ्ये। त्यसपछि सम्बन्ध अघि बढाउँथे।

उनीहरुले कसैलाई बिहेको प्रलोभन देखाउँथे भने कसैलाई लगानी गर्दा धेरै मुनाफा हासिल हुनसक्ने बाटाहरु देखाउँथे। बिहे गरेका युवतीलाई उनीहरुले मुद्दती खातामा पैसा राखेको बहाना गर्थे। उनीहरु युवतीको घरबाट विजनेश गर्नका लागि पैसा झिकाउँथे। कसैलाई जग्गा प्लटिङ गर्ने भन्दै लगानीको लागि रकम माग्थे। कसैलाई मार्टमा लगानी गर्दा धेरै मुनाफा हुने भन्दै फसाउँथे।

पीडित भएका अधिकांशले यी दुईको बोली नै लट्ठ पार्ने खालको रहेको बताएका छन्।'रविन चिमोरिया मिठो गाउने रहेछन्। नेत्रप्रसाद गिरीले मिठो बोलेरै युवती आकर्षित गर्ने, अनुसन्धानका क्रममा अधिकांश पीडितले उनीहरुको बोली नै मोहनी लगाउने खालको भएको बताए,' अनुसन्धानमा संलग्न अधिकृत भन्छन्। उनीहरु विरुद्ध कम्तिमा ३ लाख रुपैयाँदेखि बढीमा १ करोड ५० लाख रुपैयाँसम्म ठगी गरेको उजुरी परेको छ।

जसरी युवती फसाउँथे, त्यसरी नै युवतीले फसाइन्

अभिषेक र रविनले पीडितहरुसँग कहिल्यै बैंकबाट करोबार गरेनन्। उनीहरु पैसा आइएमइ गर्न लगाउँथे। आइएमइ पनि आफ्नो नाममा होइन अरुकै नाममा।'आफ्नो कागजपत्र हराएको र पैसा झिक्न नपाएको भन्दै विभिन्न ठाउँमा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर रकम झिकेको पाइयो,' व्युरोका अनुसन्धान अधिकृतले भने। उनीहरुले सीमकार्ड पनि पीडितहरुकै नामबाट झिक्ने र प्रयोग गर्ने गरेका थिए। त्यसैले उनीहरुलाई पक्रन प्रहरीलाई सजिलो थिएन।

यी दुई युवाले महिलालाई धेरै ठगी गरेको तथ्य पत्ता लागिसकेका कारण प्रहरीले युवतीकै प्रयोग गरेर उनीहरुलाई पक्राउ गर्ने योजना बनायो।  त्यही योजना अनुसार पुस १३ गते उनीहरुलाई पक्राउ गर्न सफल भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

प्रहरीले ठग सार्वजनिक गरेपछि केन्द्रीय अनुसन्धान ब्युरोमा पीडितहरु उपस्थित भइरहेका छन्। समाजिक प्रतिष्ठा गुम्ने डरले अझै धेरै पीडितहरु सार्वजनिक रुपमा उपस्थित नभएको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी बताउँछन्। 'पीडितहरुलाई सम्पर्क गर्न हामी अपिल गर्छौं,' केन्द्रिय अनुसन्धान व्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.