|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ दलले शुक्रबार राजधानीमा बृहद शक्ति प्रदर्शन गरे। व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाति भएको भन्दै नौ दलले आयोजना गरेको सभामा हजारौं सहभागी भए।

यस प्रदर्शनलाई एमालेको शक्ति प्रदर्शनका रुपमा समेत हेरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा गरिएको जनप्रदर्शनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै दलका अध्यक्ष तथा प्रतिनिधिले सम्बोधन गरेका थिए। कुन दलका कुन नेताले के भने?

केपी शर्मा ओली

अध्यक्ष, नेकपा एमाले

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रिय हितमा लिएको अडान नछोड्ने दाबी गरे। उनले नेपालीले घुँडा टेक्न नजानेको बताए। राष्ट्रिय हितको पक्षमा लिएको अडान नछाड्ने अभिव्यक्ति नेता ओलीले बारम्बार दोहोर्‍याए। 'हाम्रा पुर्खाले दु:ख अप्ठेरो झेल्न सिकाए लम्पसार पर्न सिकाएनन्। घुँडा टेक्न सिकाएनन्' उनले भने 'नेपाल फेरि लम्पसार पर्दैन। नेपाली जनताले लम्पसारवादलाई घृणा गर्छन्।' उनले संसदमा राष्ट्रघाती प्रस्ताव छलफल हुन नदिने बताए।

चित्रबहादुर केसी

अध्यक्ष, राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई टुक्रा टुक्रा पारेर छिमेकीलाई बुझाउने षड्यन्त्र भइरहेको दाबी गरे। अध्यक्ष केसीले नेपालको हिमाल, पहाड र तराइ अलग गर्ने र छिमेकीलाई बुझाउने षड्यन्त्र भएकै कारण आन्दोलनमा होमिनुपरेको बताए। 'अहिले ५ नम्बर प्रदेश टुक्र्याउने भनिरहेका छन्। ५ नम्बर हुँदै अरु प्रदेशमा पनि जान्छ,' उनले भने, 'सबै प्रदेश टुक्र्याउने हिसाबले संविधान संशोधन विधेयक आएको हो।'

ईश्वर पोखरेल

महासचिव, नेकपा एमाले

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकले नेपालमा कुनैपनि हालतमा रजाई गर्न नसक्ने बताए। संविधानको किटानी व्यवस्था भन्दा फरक ढंगले ल्याइएको विधेयक संविधानको मर्ममाथि नै प्रहार भएको उनको दाबी छ। 'संविधानको किटानी व्यवस्था भन्दा फरक ढंगले गर्न खोजिएको सिमा हेरफेर हामी कुनैपनि हालतमा मान्दैनौ,'पोखरेलले भने,'सर्वोच्च अदालतले समेत गलत भनिसकेको अवस्थामा यो विधेयक संसदमा चल्न दिँदैनौ।'

सिपी मैनाली

महासचिव, नेकपा माले

नेकपा मालेका महासचिव सिपी मैनालीले सर्वोच्च अदालतले समेत गैर संवैधानिक भनिसकेको अवस्थामा त्यसलाई प्रतिवाद गर्नेगरी संविधान संशोधन विधेयक अगाडी बढाएमा विधेयकको विपक्षमा बोल्नुको विकल्प नरहने बताए। उनले अदालतको आदेश अनुरुप नै अगाडी बढ्नु उत्तम हुने बताए। 'गैर संवैधानिक रुपमा अगाडी बढाइएको संशोधन विधेयक यसरी नै अगाडी बढाए त्यसलाई रोक्नुको विकल्प छैन,' मैनालीले भने,'सर्वोच्चको आदेश मान्छ भने बाइज्जत सरकारले विधेयक फिर्ता लिएर जाओस होइन भने हामी यसको कडा प्रतिवाद गर्छौ।'

प्रेम सुवाल

नेता, नेमकिपा

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारले संविधान संशोधन विधेयक संवैधानिक रुपमा पनि अगाडी बढाउने अधिकार नराख्‍ने बताए। विधेयक राष्ट्रघाति भएकाले त्यसलाई फिर्ता गरी सहमतिमा आउन उनले सरकारलाई आग्रह गरे। 'तराई पहाड अलग गर्नेगरी सरकारले जुन प्रस्ताव अगाडी बढाएको छ यो एकदमै गलत छ। सत्तापक्षले भोली विधेयक अगाडी बढाउने कुरा आएको छ। प्रधानन्यायाधिशले पनि संसदमा हस्तक्षेप गर्न मिल्दैन,'उनले भने।

विश्वेन्द्र पासवान

अध्यक्ष, बहुजन शक्ति पार्टी

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले कहिलेकाँही सपुतका रुपमा जन्मिएका पार्टीहरु कपुतको रुपमा पदार्पण हुने बताए। उनले 'राष्ट्रलाई बिखण्डन हुने गरी ल्याइएको' प्रस्ताव फिर्ता गर्न माग गरे। 'निर्वाचनको काम, संविधान कार्यान्वयनको कार्यमा नलागेर सत्ताधारी दल अहिले जसरी अगाडी बढिरहेको छ यसले राष्ट्रलाई फाइदा गर्दैन,'उनले भने, बाहिर त सिद्धिन लागेको छ नै। यस्तो गतिविधिले भित्र(संसद) पनि माओवादी सिद्धिदैछ।'

एकनाथ ढकाल

अध्यक्ष-नेपाल परिवार दल

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सिमाङ्कन तोडमोड गर्नेगरी ल्याइएको ल्याइएको संशोधन विधेयक सानोतिनो षड्यन्त्र नभएको दाबी गरे। 'सरकारमा रहेका दलहरु नक्कली संघीयताको पक्षमा छन्। पहिचानको कुराले मात्र संघीयता कार्यान्वयन हुन सक्दैन हामी सामर्थ्य र पहिचान दुवैको पक्षमा छौ,'ढकालले भने।

शिवलाल थापा

अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापाले सरकारले पटक-पटक गल्ति गरेको बताए। नैतिकताका आधारमा वर्तमान प्रधानमन्त्रीले राजिनामा दिने बेला आएको उनको दाबी छ। उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत भारतलाई आग्रह गरे। 'म भारतलाई आग्रह गर्न चाहान्छु, हाम्रो आन्तरिक मामिला हामीले नै सल्टाउने हो। यसमा कसैको हस्तक्षेप हामीलाई स्विकार्य छैन,'उनले भने।

लक्ष्मण राजवंशी

नेता, नेपाः राष्ट्रिय पार्टी

नेपाः राष्ट्रिय पार्टीका नेता लक्ष्मण राजवंशीले सिङ्गो राष्ट्रिय स्वाभिमानसहितको नेपाल निर्माणका लागि राष्ट्रघाति कदमको विरोध गरेको बताए। सर्वोच्चले संविधान संशोधन विधेयक फिर्ता लिइसकेपछि अब यसलाई रोक्नु नै उत्तम हुने उनले बताए। 'सर्वोच्चले पास,फेल जे गरेपनि यसलाई फेरि कठघरामा उभ्याउँछु भनेको छ। यस्तो अवस्थामा यो विधेयक रोकेर अगाडी बढ्नु नै उचित देखिन्छ,'उनले भने,'म त कहिले जान्छु थाहा छैन। तर पनि आफ्ना सन्तानका लागि हाम्रो भूमी बचाउन म लागिरहेको छु यहाँहरु पनि लाग्नुस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.