|
फाइल फोटो

सोलुखुम्बु : जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ। यस्तै बिहीबार मात्रै सोलुदूधकुण्ड नगरपालिका १ मा भालुको आक्रमणबाट एक वृद्ध शक्त घाइते भएका छन्। टाक्सिन्दुको हेवा जंगलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि भालुले आक्रमण गरेको थियो। उनको अनुहार, पेट, टाउँको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिए। उनका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

त्रासैत्रासमा बित्छ दिन

यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिकी त्रासैत्रासमा बित्ने गरेको छ। यहाँका नागरिक रातभरि जग्राम बस्ने गर्छन्। वर्षभर खान लगाएको मकै बाली जोगानदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्रम बस्नुपर्ने नगरपालिका ७ का चन्द्रमाण श्रेष्ठको भनाइ छ।

हिजोआज मकै पाक्ने बेला भएकाले घर आगनमै भालु आउँदा त्रासपूर्ण अवस्थामा बस्नुपरेको स्थानीय बताउँछन्। एक रोपनी क्षेत्रफलमा लगाएको मकैबाली एकै रातमा सखाप पारिदिने गरेको नगरपालिका-७ नाजिङका बलराम खत्रीले बताए।

दुई दिन अगाडि मात्रै करिब डेढ रोपनी क्षेत्रफलमा लगाएको मकै सखाप पारेको भन्दै गार्माका चन्द्रमाण श्रेष्ठले राहतको लागि वन डिभिजन कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन्। निवेदन दर्ता गराएको भए पनि राहत पाउँने आशामा नभएको उनको भनाइ छ। भालुले अन्नबाली सखाप पारिदिने भए पनि राज्यले नागरिकको सुरक्षा र हुने क्षतिको मूल्यांकन गरि सहयोग गर्ने सवालमा चुकेको स्थानीयको भनाइ छ।

वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन। त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरि सामान्य घाइते बनाएमा रु. २० हजारसम्म, सक्त घाइते बनाएमा रु. २ लाखसम्म र मृत्यु भएमा मृतकको हकवालाई रु. १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ।

निर्देशिका नै परिवर्तन गर्नुपर्ने

निर्देशिकामा जंगली जनवारले घरगोठ, पशुधन र अन्नबालीमा क्षति पुर्‍याएमा राहत रहकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरेको छ। क्षतीको प्रकृति र आवश्यक सिफारिसको आधारमा रु. १० हजारसम्म राहत रकम उपलब्ध गराउँन सक्ने भनी उल्लेख गरिएको छ।

निर्देशिकाले परिभाषित गरेअनुसार जंगली जनवारमा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बंदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर पर्छ।

हात्ती, गैंडा, अर्ना र जंगली बदेलले अन्नबालीमा क्षति पुर्‍याएमा राहत उपलब्ध गराउँने व्यवस्था उल्लेख गरे पनि अन्य जनवारले क्षति गरेमा राहत उपलब्ध नगराउने किटानका साथ सोही निर्देशिकामा लेखिएको छ।

हिमाली जिल्ला सोलुखुम्बुमा अर्ना, हात्ती, गैंडा नहुने, तर भालुले बारम्बार क्षति पुर्‍याउँदा राज्यले राहत उपलब्ध गराउनेतर्फ ध्यान नदिएको यहाँका स्थानीयको गुनासो छ। गार्माका चन्द्रमाण श्रेष्ठले भालुले मकै लगाएतको अन्नबाली सखाप पार्ने तर राज्यले राहत दिने व्यवस्था नगर्दा समस्या भएको बताए।

तराईका जिल्लामा हुने क्षतिलाई हिमाली तथा पहाडी क्षेत्रमा समेत राखिदा कृषक मारमा परेको महाकुलुङका युमन खालिङले बताए। हाल क्रियाशिल रहेको निर्देशिकासमेत तत्काल पुनर्रावलोकन गरि क्षेत्रअनुसार राहत वितरणको व्यवस्था गर्न उनीहरूले मागसमेत गरेका छन्।

अघिल्लो वर्ष ९ जना भालुको आक्रमणबाट घाइते भएका थिए भने चालु वर्षमा चार जना घाइते भएका छन्। भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखित रूपमा निवेदन दिँदै भालु नियन्त्रणको लागि माग गरेका छन्।

भदौ ५ गते मात्रै सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ३ मा स्थानीयले थापाको ट्रयापमा भालु फसेको थियो। डिभिजन वन कार्यालय, जिल्ला प्रशासन र प्रहरीको समन्वयमा उक्त भालुको उद्धार गरि अहिले काठमाडौंमा उपचार भइरहेको डिजिभन वन कार्यालय प्रमुख इन्द्रप्रसाद सापकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.