२०७२ मंसिरमा नेपाली मिडियामा एउटा शब्द खुब बिक्यो ‘थापाराजको अन्त्य!’ दुई दशकभन्दा बढी अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकछत्र राज गरेका गणेश थापा भष्टाचार प्रकरणमा प्रतिबन्धमा परे। त्यही समयमा नेपाली फुटबल टिमका कप्तान सागर थापा, रितेष थापा, अन्जन केसी, विकाससिंह क्षेत्री, सन्दीप राईलगायतलाई 'म्याच फिक्सिङ' प्रकरणका कारण फिफाले कार्वाही गरेपछि सबैको आश थियो अब नेपाली फुटबलले 'ट्रनिङ पोइन्ट' लिन्छ।
सन् २०१६ नेपाली फुटबलले भटाभट ३ वटा उपाधी आफ्नो पोल्टामा पार्यो। ‘२३ वर्षको उपाधी खडेरी मेटियो’ नेपाली मिडियामा अर्को शीर्षक जन्मियो। तर, फेरि अहिले अवस्था उही 'थापाराज'मै फर्कियो। थापाराज भनेको गणेश थापा, सागर थापा र रितेष थापा होइन। यहाँ भन्ने खोजिएको थापाराज कुनै व्यक्ति होइन प्रवृति हो।
यसलाई अहिलेको परिवर्तनको नारा बोकेको एन्फा नेतृत्वले पनि पुष्टि गर्दैछ। ‘चेन्ज एन्फा’ को नारामा कर्मा छिरिङ शेर्पासँगै हिडेका नवीन पाण्डेले १ वर्ष नभई साथ छाडनु। यी यस्ता कुराले शंका उपशंका उब्जाएको छ। प्रतिबन्धमा परेपछि थापाले तत्कालीन वरिष्ठ उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष दिएपछि फिफाले फुटबलसम्बन्धी गतिविधिमा प्रतिबन्ध लगाएको व्यक्तिले गरेको निर्णय अमान्य हुने उपाध्यक्ष कर्मा छिरिङले चेतावनी पनि दिए। त्यसलगतै ६५ वर्षे एन्फा इतिहासमा पहिलो पटक मतदानबाट नेतृत्व चयन भयो। थापाको समितिमा रहेका २ उपाध्यक्षबीच अध्यक्षको लागि लडाइँ भयो जसमा नरेन्द्र श्रेष्ठले बाजी मारे।
अध्यक्ष पदमा हारेपछि शेर्पाले आफ्नो पराजयलाई परिवर्तनको एजेन्डाको पराजय भनि प्रतिक्रिया दिए। त्यसको २ वर्ष नबित्दै परिवर्तनशील एजेन्डा बोकेर कर्माले निर्वाचन जिते पनि। भनौँ उनको एजेन्डालाई मतदानमा सहभागिता जनाउन पाउने ७७ मध्ये ६३ मतदाताले समर्थन गरे। जसरी कर्माले परिवर्तनको एजेन्डाको हारको शंज्ञा दिए उसैगरी उनका प्रतिद्वन्द्व साफका उपाध्यक्षसमेत रहेका मणि कुवरले डर, त्रास र धम्की दिएर जितेको भन्ने प्रतिक्रिया दिए। पराजयपछि आक्षेप लगाउनु फुटबलमा मात्र हैन सबै क्षेत्रमा चलेको चलन नै हो। अदालतमा मुद्दा मामिलापछि अन्ततः नयाँ नेतृत्वले सफाइ पायो।
कर्माको विजयपछि सबैको आश थियो नयाँ नेतृत्वले केही गर्छ। जसको शक्ति उसको भक्ति भने झै केही नपाउनेले पद पाए केही योग्यले गुमाए। अनि त्यही शक्तिको आडमा उही थापाराज चलाए। त्यसको पछिल्लो उदाहरण वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग जोडिन्छ। शक्तिको आडमा पंकजले पहिलो रोजाइका गोलरक्षक रोशन नेपालको स्थानमा आफ्ना छोरा पथ्थुहाङ नेम्वाङलाई जोर्डन पठाएको भन्ने विषयले चर्चा पाएको छ। एन्फा एकाडेमीमै नरहेका भनिएका पथ्थुहाङ कसरी टोलीमा परे यसको बारेमा एन्फाबाट आधिकारिक धारणा आउनै बाँकी छ।
यहाँ रोशन मात्र होइन भारतमा यु–१५ टोलीमा सहभागी भएका कप्तान प्रदीप लम्साल, असिम राई र गोलरक्षक इश्वर गुरुङ यु–१६ टिममा परेनन्। १५ वर्षमूनिको टोलीमा खेलेकाहरू १६ वर्षमूनिकोमा नपर्नुको कारण देखाइयो उमेर बढी भएकाले। उमेर बढी भएकै हो भने भारत खेल्न जाँदा सबै खेलाडीको उमेर परीक्षण किन गरिएन्? प्रश्न यहाँ उठ्छ। त्यसो त एन्फाले शक्तिको आडमा सबै गलत गरेको छ भन्ने पनि होइन्। केही सुधारका काम पनि भए। त्यसको सराहना गर्नुपर्छ। कर्मा आफैँ आएर इलामको करफोक र झापाको काँकडभिट्टामा एन्फाको एकाडेमी बनाउने काम अगाडि बढाउने भए। नेपाली फुटबल इतिहासमा पहिलो पटक रौतहटमा महिला एकाडेमी बनाउने कार्य सुभारम्भ गरे। केही प्राविधिक त्रुटिले काम अगाडि बढ्न सकेन त्यो फरक पाटो हो।
रेलिगेसबिना भए पनि ४ वर्षदेखि रोकिएको शहीद स्मारक लिग गराए। अहिले नयाँ मिति पनि तोके। मोफसलमा भइरहेको गोल्डकप र टोलकपलाई नियम गराउन मापदण्ड नै बनाए। यी सुधारका कदम छोटो समयमा गरे। तर, नेपालीमा उखान नै छ ‘हात्तीको दुई वटा दात हुन्छ एउटा देखाउने अर्को चपाउने’ परिवर्तनशील नेतृत्वको पनि त्यस्तै संकेत देखिन सुरु गर्यो। त्यसअघि खेलाडीको तलब रोकेर गाडी किन्नेको कुराले एक पटक नेपाली मिडिया ततायो। अहिले एन्फा डेमा घोषणा गरिएको पुरस्कार पूर्वस्ट्राइकर जुमानु राईले अझै पाएनन्, यु–१८ विजेता खेलाडीको सम्मानका लागि तोकिएका रकम २ वर्ष बित्दा पनि पाएनन्। शहीद स्मारक लिगको उत्कृष्टले बाइक पाएनन्। यी यस्ता धेरै विषय एन्फासँग जोडिएको छ। केही प्राविधिक समस्याका कारण कार्यान्वयन हुन सकेनन् केही नेतृत्वकै गल्ती कमजोरीले।
यस्तै, कमजोरीको फाइदा उठाएर प्रतिबन्धमा परेका गणेश थापाले टाउको उठाउने मौका पाए। एन्फा नेतृत्वको हरेक निर्णयको आलोचना गर्दै सामाजिक संजालमा उनी पछिल्लो समय सक्रिय छन्। केही अघिसम्म उनको कुरामा मिडिया गम्भीर नभए पनि अहिले भने मिडियामा उनको भनाइले हल्काफुल्का स्थान पाउन थालेको छ। मिडियामार्फत नै एन्फामा आफ्नो पकड जमाउने थापाको ध्येय हुन सक्छ।
आगामी महिना अष्ट्रेलियामा हुने विश्वकप छनोटमा नेपाली टोली ७० सदस्यीय हुने अर्को विषय। अष्ट्रेलिया जाने टोलीमा २३ सदस्यीय खेलाडी र अफिसियल गरी अधिकतम ३० को हाराहारीमा हुनुपर्ने तर हुने संकेत देखियो ७०। बाँकी रहेका ४० जनाको खर्च कसले व्यर्होने? ३० जनाबाहेक अरू आफ्नै खर्चमा जाने भन्ने छ। अब सोच्नु पर्ने विषय एन्फा फुटबल संघहरूको निकाय हो कि ट्राभल एजेन्सी। जसलाई विदेश घुम्न मन लाग्यो एन्फा टोलीमा समावेश भयो भिसा लगायो अनि घुम्यो। ती ४० भित्र एन्फाका पदाधिकारी पनि समावेश छन्।
गणेश थापाले एन्फाभित्र आफ्नै एकल निर्णय लागू गराएर निरंकुशता लादे भन्दै कर्माले ‘चेन्ज एन्फा’ अभियानबाटै नेतृत्वमा पुगे। थापाले जे गरे कर्माले पनि त्यही गर्ने हो भने ‘चेन्ज एन्फा’ को औचित्य के? शक्ति केन्द्र बनाएर आफू खुशी गर्ने हो भने एन्फामा कर्मा छिरिङ हुनु र गणेश थापा नहुनुको भिन्नता के रहयो। त्यसैले थापाराज कुनै व्यक्ति होइन प्रवृति हो। २५ वर्षसम्म गणेश थापाले थापाराज चलाए अहिले कर्माले चलाउन खोज्दैछन। नाम फरक होला व्यवहार उही। पक्कै पनि एन्फासँग यसको जवाफ भए चाँडै आउनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।