|
फोटो : प्रकाश बराल

बागलुङ : प्रायः सबै गाउँमा सडक सञ्जाल पुगेको बागलुङमा हिउँदमा धुलो उडाएर घरघरै पुग्ने सवारी साधन वर्षातमा जोखिम मोलेर यात्रा गर्छन्। मुख्य राजमार्गमा बस चले पनि ग्रामीण सडक बस चल्ने खालका छैनन्। नगरपालिकाभित्रै पनि बस चल्ने सडक अभाव छ। त्यसैले यहाँका ग्रामीण बस्तीको सवारी साधान भनेका साना जीप र पिकअप भ्यान हुन्।

ग्रामीण सडकमा चल्ने जीप तथा पिकअप भ्यानले एउटै यात्रामा कैयौँ खोलाहरू तर्नुपर्ने अवस्था छ। अधिकांस ग्रामीण बस्तीका खोलामा पुल नभएपछि जिपहरूले खोला तर्न सक्दैनन्। मध्य पहाडी लोकमार्गको बुर्तिवाङ सम्म र कालीगण्डकी कोरिडोरमा नियमित सवारी चल्छन्। गत साताको वर्षात र पहिरोले कोरिडोर ठप्प छ। दर्जनौँ पहिरा खसेका छन्।

मध्यपहाडी लोकमार्गतर्फ बुर्तिवाङमा अझै पुल बनेको छैन। पुल अभावमा बुर्तिवाङदेखि ढोरपाटन र निसीखोलातर्फ जाने सवारी साधन वर्षा लागेपछि ठप्प छन्। तमानखोला जाने सवारी पनि अहिले तर्न नसकेर अलपत्र परेका छन्।

‘सवारी साधन तर्न नसकेपछि हिँडेरै गाउँपालिका केन्द्र पुग्छु’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत एउटा पुल र सडक स्तरउन्नतीको काम भएको थियो, ठूलो खोलाको पुल नबन्दा सवारी जान नसक्ने भए।’

तमानखोलामा पुल नभएपछि पैदल यात्रीले झोलुंगे तरेर गन्तव्यमा पुग्छन्। जिपले भने तर्न नसकेपछि यात्रा ठप्प जस्तै छ। काठेखोलामा पनि यो समस्या उस्तै छ। काठेखोला, तंग्राम खोला र रेश खोलामा पुल नभएपछि वर्षातमा खोलाबाटै जोखिमको यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रीहरू बताउँछन्।

‘पुल नभएपछि झरी परेको दिन जिप जाने आउने काम खतराको छ, कतिपय दिन यात्रा गरिँदैन’ तंग्रामस्थित एक विद्यालयका शिक्षकले भने, ‘बजार झर्नै पर्ने बाध्यता परेमा अक्षेतेसम्म पैदल गएपछि मात्र सवारी साधन चढ्ने हो।’ अघिल्लो वर्ष टेन्टर गर्दा ठेकेदारहरूको मिलेमतोमा पुलको टेन्डर नपर्दा ती स्थान अझै अलपत्र छ।

प्रदेश सरकारले विनियोजन गरेको रकमबाट पनि पुल बन्न नसकेको हो। गत वर्ष धेरै पहल गरेर पारेका ६ वटा पक्की पुलको काम अगाडि नबढेर अहिलेसम्म यात्रीले सास्ती खेपेको प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटाले बताए। ती पुलको काम नभएपछि गत आर्थिक वर्ष करोडौँ रकम फिर्ता भएको थियो।

‘कर्मचारी संयन्त्र र ठेकेदार मिलेपछि काम गर्न कठिन हुने रहेछ’ सापकोटाले भने, ‘बल्लबल्ल लागत स्टिमेट गराएको, ठेकेदारहरु मिलेर ठेक्कानै हालेनन् ।’ एक वर्षको कसरतपछि चालु वर्षका लागि काठेखोला गाउँपालिकाको बिहुँदेखि रेश जाने भुँदीखोलाको  एक्ले घाट र बिहुँदेखि नै भीमापोखरा जोड्ने काठेखोला पुलका लागि ठेक्का गएको छ। भीमापोखरादेखि तंग्राम जोड्ने डुँडिया खोला र पालादेखि सिगाना जोड्ने चनौटे घाटमा भने अझै ठेक्का भएको छैन।

गलकोट दरवार पुग्ने स्थानका तीनवटा पुल छैनन्। हटियास्थित गौंदी खोलामा वर्षौदेखि निर्माणाधीन पुल अलपत्र छ। चरौंदीमा निर्माणले गति लिए पनि वर्षातमा यात्रीले तर्ने ठाउँ पाएनन्। हरिचौरस्थित राजाको पुलमा काठले बनाइएको छ। पानी पर्दा चिप्लो र दुर्घटनाको खतरा भएर धेरै तर्नै डराउँछन्। पुरानो दरवार र सदरमुकाम समेत भएकोले यहाँ घुम्न आउने पर्यटक पैदलै जान्छन्। जिपमा जानै खोजेपछि धेरैजसो डराउने गरेको स्थानीय तुलसी निउरेले बताए।

यो सडकबाट ताराखोला गाउँपालिका पनि पुगिन्छ। तर, बस चल्नेगरी बाटो र पुल बनेको छैन। ताराखोलामै पनि निर्माणाधीन पुल यो वर्ष सम्पन्न भएको छैन। साना सवारीले वर्षातमा खोला तर्ननसक्दा गाउँ पुग्ने यात्री र सामान लैजानेले हैरानी खेपि रहेका छन्। जिल्लामा कतिवटा पुल आवश्यक छ, कति निर्माणाधीन छन् र कति अलपत्र छन् भन्ने तथ्यांक कसैले राखेको छैन।

‘जिल्ला बिकास समिति हुँदा केही तथ्यांक रहन्थ्यो, समन्वयमा कसैको तथ्यांक आएको छैन’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘समन्वयमा पनि सबै बिकास निर्माणको तथ्यांक राख्ने वा प्रतिवेदन दिने व्यवस्था गर्दैछौँ।’

नेपालको सार्वजनिक खरिद ऐनले कार्वाही गर्ने प्रावधानसमेत अप्ठ्यारो राखेकोले धेरै योजना अलपत्र पर्ने गरेको प्रतिनिधिसभाका सांसद डा. सूर्यपाठकको अनुभव छ। ‘हामीले ठेकेदार छुन पनि नसक्ने गरी कानून बनेको रहेछ, यस्ता कानून संशोधन गर्नुपर्छ’ पाठकले भने, ‘जनताले सास्ती पाउने, ठेकेदार मोटाउने कानून फेरेर जनताको हितमा काम गर्ने उत्तरदायी बनाउनुपर्छ ।’

गत बर्ष संघिय सरकराले बिनियोजन गरेको १७ लाख रुपैयाँको लागत स्टिमेट नभएपछि बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे जाने बहुलाहा खोला पुलसमेत बन्न सकेको छैन। यहाँ पनि हिउँद बर्षात दुवै सिजनमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको संविधानसभाका सदस्य नरबहादुर थापाले बताए। चालु वर्षका लागि विनियोजित ३६ लाख बजेट समेत सदुपयोग नहुने खतरा भइसकेको उनले गुनासो गरे।

‘नगरपालिकाले तत्काल लागत स्टिमेट गरेर ठेक्का प्रकृयामा नलगेमा उक्त बजेट पनि फिर्ता हुन्छ’ थापाले भने, ‘आएको बजेट पनि खोजी नगर्ने कर्मचारीबाट बिकास निर्माण गराउन गाह्रो रहेछ।’ उनले पटक पटक धाएर पनि पुल बनाउन नसकेको गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.