|

नेपालगञ्ज : हात्तीसार राख्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद भएपछि बाँके राष्ट्रिय निकुञ्जको योजना अलपत्र परेको छ। बाँके राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी भए पनि निकुञ्ज प्रशासनका अनुसार हालसम्म ४ वटा हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएको छ। 

निकुञ्जले बर्दियाबाट ल्याएको हात्ती महादेवपुरी गाविसका बुच्चापुरमा अस्थायी रूपमा राखेपछि स्थानीयबीच विवाद भएको हो। निकुञ्जले बुच्चापुरमा हात्तीका लागि चाहिने पानी र घाँस पर्याप्त नभएकाले महादेवपुरी गाविसको चुङ्गई नालालाई स्थायी हात्तीसार बनाउने निर्णय गरेको हो। 

‘बुच्चापुरलाई तत्कालका लागि मात्र व्यवस्था गरिएको हो’, बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने, ‘हात्ती राखिसकेकोले यहाँ पनि हात्तीसार हुनुपर्छ भन्ने माग स्थानीयको छ।’ हात्तीलाई घाँस, पिउन र नुहाउनका लागि पानी धेरै चाहिने भएकोले चुङ्गई नाला छनोट गरेको भण्डारीले बताए । उनले दुवै ठाउँका बासिन्दाले आ–आफ्नो ठाउँमा हात्तीसार हुनुपर्ने अडान राखेपछि निकुञ्ज अलमलमा परेको उनको भनाइ छ। 

स्थानीयको सहमतिमा मात्र संरचना निर्माण
बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ वटा हात्ती ल्याएर हात्ती सफारी गराउने लक्ष्य लिए पनि महादेवपुरी गाविस बुच्चापुर र चङ्गई नालाका स्थानीय बीचको विवादले भौतिक पूर्वाधार निर्माणमा समेत बाधा पुगेको छ। 

केन्द्रको निर्णय बमोजिम चङ्गई नालामा मचान र हात्ती बस्ने टहरा (सेड घर) निर्माणका लागि रकम विनियोजन भइसकेको भएपनि हात्तीसारका लागि निकुञ्जले काम अगाडि बढाउन सकेको छैन। भण्डारीले स्थानीयको मागलाई मध्यनजर गरी दुवै ठाउँको पुनः अध्ययन, स्थानीयसँगको छलफल र अन्तरक्रियापछि मात्र हात्तीसार निर्माण गरिने बताए । 

संरचना निर्माणपछि मात्र हात्ती सफारी 
हात्तीका लागि चाहिने पूर्वाधार निर्माण नहुँदासम्म हात्ती सफारी गराउन नसकिने निकुञ्जले जनाएको छ। यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माण गरिसक्नु पर्ने छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारका लागि कुनै काम अघि नबढेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भण्डारीले जानकारी दिए। 

‘हात्तीका लागि खाने र बस्ने व्यवस्था नहुँदासम्म सफारी गराउन सकिंदैन’, भण्डारीले भने, ‘काम लगाएपछि राम्रोसँग खाने र बस्ने व्यवस्था हुनुपर्छ।’ उनले भने। यसै आर्थिक वर्षको जेठसम्ममा भौतिक पूर्वाधार निर्माण गरेर असारदेखि सफारीको व्यवस्था गर्ने उनले  जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.