जाम हटाउन थप १५ जना ट्राफिक प्रहरी खटाइयो

|
समाचार प्रतिनिधि तस्बिर

काठमाडौं :  दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक भएपछि पृथ्वी राजमार्गमा ३५ किलोमिटर लामोसम्म जाम भएको छ। मंगलबारदेखिको चर्को जामले यात्रुलाई भोगेको सास्ती वर्णन गरी साध्य छैन। 

जाममै परेर शुक्रबार बिहान मात्रै नागढुङ्गा-नौबिसे सडकखण्डमा एक विरामी यात्रीको मृत्यु भएको छ। रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका गरुडा नगरपालिका-८ का ३५ वर्षीय रुपलाल साहको शुक्रबार बिहान पृथ्वीराजमार्गस्थित महादेवबेँसी बजारमा जाममा परेको बेला मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

जामका कारण गन्तव्यमा पुग्ने यात्रुले सास्ती भोगेको यो नौलो घटना होइन।  उपत्यका भित्रिने मुख्य नाका नागढुङा अझै व्यवस्थित हुन सकेको छैन।

दशैँको पूर्वसन्ध्यामा उपत्यकाबाट देशका विभिन्‍न भूभागमा जाने यात्रूले भोग्नु परेको समस्या हल गर्न ट्राफिक महाशाखा गम्भिर रहेको प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

उनले नागढुङ्गादेखि महाबे‌ंसीसम्म जाम खुलिसकेको बताएका छन्। अहिलेलाई जाम खुले पनि यसको दीर्घकालिन समाधानको उपाय सरकारले निकाल्न सकेको छैन।

अहिलेको जामको कारण वर्षा रहेको प्रमुख ढकालले बताए। वर्षाका कारण बाटोमा खाडलै खाडल परेका छन्। थानकोटस्थित उकालो सडकका खाल्डाखुल्डीले गाडी फस्दा जाम ह्वात्तै बढेको प्रमुख ढकालले जानकारी दिए। 'ती खाडलमा प्रहरीले बालुवा हालेर पुरेको छ। त्यसपछि सवारी आवागमन सहज हुन थालेको छ,' ढकालले भने।

१० चक्के गाडी निषेध

प्रहरीले  थानकोट नाकालाई सहज बनाउन १२ गते देखी १८ गतेसम्म १० चक्का भन्दा माथीको गाडीलाई काठमाडौं आउन निषेध गरेको छ। यातायात विभागसँग समन्वय गरेर यस्तो निर्णय गरिएको प्रमुख ढकालले बताए।

अब मालवाहक सवारीसाधन नारायणगढमै रोकिने छन्।  मालवहक ट्रकहरू नारायणगढमा रोकिने भएपछि काठमाडौं उपत्यकामा दसैँ महँगो हुने पक्का छ। तर यो कुरा मान्‍न तयार छेननन प्रमुख ढकाल। उनी भन्छन्, 'खाद्यान्‍न, लत्ताकपडा र पेट्रोलियम पदार्थका गाडीलाई निषेध गरिने छैन।'

जनशक्ति थपियो

थानकोटको जाम हटाउन ट्राफिक महाशाखाले इनसपेक्टरको कमाण्डमा १५ जना ट्राफिक थप गरेको छ। यस्तै जामका कारण लुटपाट हुन सक्ने भन्दै सादा पोशाकमा प्रहरी खटिइसकेका छन्।

सडकमा सवारी दुर्घटना र सवारी बिग्रेर जाम हुने अर्को समस्या छ। यसका लागि ट्राफिक महाशाखाले ४ वटा र्‍याकरको व्यवस्था गरेको छ। उक्त र्‍याकरले चार दिनमा ८९ वटा गाडीलाई व्यवस्थापन गरेको प्रमुख ढकालले जानकारी दिए।

सवारी ट्रफिक नियम कडाइका साथ पालना गरे नगरेको अनुसन्धान गर्न ट्राफिक महाशाखाले मोटरसाइकलबाट पनि चेकजाँच गरिरहेको छ। जसले नियम मिचेर सवारी जाम गरेको छ त्यसलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्‍ने प्रमुख ढकालले बताए।

होटलको मनपरी

जामका कारण यात्रुलाई सास्ती एकातिर छदैँछ। अर्कोतिर राजमार्गमा खोलिएका होटल तथगा गेस्ट हाउसले पनि खानाको मूल्य बढाएका छन्। यात्रुले खानाका लागि चर्को मूल्य तिर्नुपरेको छ। धादिङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले अहिलेसम्म त्यसबारे कुनै उजुरी नआएको बताए। 

जाम हुँदा यात्रु ठग्ने होटलहरूको अनुगमन गरिरहेको उनले बताए। उनले चाडवाडलाई केन्द्रित गरे राजमार्गमा विशेष सुरक्षा व्यवस्था गरिएको बताए। 'साविक भन्दा बढी प्रहरी खटिनु भएको छ। हामीले सादा पोशाकमा प्रहरी खटाएका छौं', खड्काले थाहासँग भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.