|

काठमाडौं : 'गुहु' अर्थात दिशा, 'मुत' अर्थात पिसाब, हामी सबैले बुझेको र दैनिक देख्दै आएका कुरा हुन्। हामीले 'फोहोर' भनेर 'छि:छि: दूरदूर' गर्ने गरेका यी चिज वनस्पतिहरूका लागि महत्त्वपूर्ण 'खाना' हुन्।।'मुत' अर्थात पिसाबलाई वनस्पतिको 'दूध'को रूपमा लिने गरिन्छ। 'पसिना' हामी सबैको शरीरबाट निस्कने फोहोर हो। यसको माध्यमबाट हाम्रो शरीरभित्रको विकार निस्कन्छ। हामीले आफ्नो आहारा जुटाउन जति मेहनत गर्दछौँ, त्यत्ति नै मेहनत हामीले आफ्नो शरीरबाट निस्कने विकारको व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिन्छ। यसको संरक्षण तथा प्रयोग गर्न जानेमा हामीले शौचालय (चर्पी) बनाउने खर्च जुटाउनुपर्दैन। मात्र ३ हजार ५ सय रूपैयाँले हामी 'गुहु, मुत र पसिना'को उचित व्यवस्थापन गर्न सक्छौँ।

हो, लामो समयदेखि 'गुहु, मुत, पसिना'को संरक्षण गर्दै आएका छन्, कृषिविज्ञ मदन राई। 'अहिले वातावरणका विषयमा ठूला ठूलो कुरा गर्नेहरूले वातावरणको विषयमा नजानेका हुन् कि मैले वातावरणको विषय बुझ्न नसकेको हो', ६७ वर्षीय कृषिविद् राई भन्छन्, 'विश्वमा वातावरणको विषय उठान गर्नेहरूले सुरुमा नै अरूलाई वातावरणको विषय ठूलो भएको र यो सामान्य व्यक्तिले बुझ्न सक्दैन भन्नु नै ठूलो कमजोरी हो। यो त सबैले दैनिक झेल्दै आएको र बुझ्दै आएको विषय हो।' उनकै भाषमा भन्ने हो भने वातावरण भनेको 'गुहु, मुत र पसिना'को उचित व्यवस्थापन गर्नु हो। ढिलो विद्यालय यात्रा सुरु गरेका राईले खोटाङमा बाल्यकाल बिताए भने कृषिमा स्नातक पूरा गरेका उनी राष्ट्रसंघको जागिरेसम्म भए। अमेरिकाबाट पीएचडी गर्दागर्दै संयुक्त राष्ट्रसंघको जागिरे भएका थिए उनी। त्यसक्रममा उनले विश्वका धेरै मुलुकमा कृषि क्षेत्रको विकास र यसबाट उत्पादकत्व बढाउने विषयमा ज्ञान बाँड्दै हिँडे।

'हामीले खाने कुरा अन्नबाली, सागसब्जी, गेडागुडी, फलफूललगायतको खाना त्यसै ढलको माध्यमबाट नदीनालामा फालिरहेका छौँ', उनी भन्छन्, 'हामी आफूले खानको लागि जति खर्च गर्छौं, अर्थात जति मेहनत गर्छौं, त्यत्ति नै हामीले निकाल्ने 'गुहु, मुत र पसिना'को व्यवस्थापनमा लगाउने हो भने वातावरण त्यत्तिकै स्वच्छ हुन्छ र अर्ग्यानिक उत्पादन आफैँ हुन्छ।'उनी प्रकृतिलाई बुझ्न नसक्दा ठूलो भ्रम उत्पन्न भएको र त्यसलाई 'हाउगुजी'को रूपमा लिँदा बुझाइमा समस्या आएको बताउँछन्। उनको बुझाइमा हामीले जान्नुपर्ने पहिलो विषय भनेको 'गुहु, मुत र पसिना'को संरक्षण र व्यवस्थापन नै हो। सेफ्टी ट्याङ्की बनाएर दिसा, पिसाब, अझ उनकै भाषामा भन्नुपर्दा 'गुहु र मुत'लाई थन्क्याउने गर्दा हामीले पारिस्थितिकीय प्रणालीमा असर पुर्‍याइरहेका छौँ।

उनी मात्र होइन, उनका परिवारका जति पनि सदस्य छन्, सबैको पिसाब गर्ने छुट्टाछुट्टै बोतल छन्। उनी गाडीमा हिँड्दा पनि पिसाब सङ्कलन गर्ने बोतल बोक्छन्।

उनी आफ्नो ढालाहिटीस्थित घरमा आधुनिक चर्पीको प्रयोग गर्दैनन्। उनले इकोसान चर्पीको निर्माण गरी दिसा, पिसाब र पसिनाको सङ्कलन गर्दछन्। उनी आधुनिक चर्पीको विरोध गर्छन्। चर्पीले हाम्रो अर्ग्यानीक उत्पादनमा बाधा पुर्‍याएको छ भन्ने उनको बुझाइ छ। 'हामी सुनको थाली बोकेर बालुवाको देशमा भिख मागिरहेका छौँ', उनी भन्छन्, 'प्रकृतिले दिएको उपहारलाई जोगाएर राख्न नसकी अरू मुलुकमा भिख मागिरहेका छौँ।'

 

उनका अनुसार हामी नौ प्रतिशत युरिया भएको पिसाबलाई मिल्काउँछौँ अनि मल किन्न लाइनमा बस्छौँ। उनी जति पटक पिसाब गर्छन्, बोतलमै गर्छन्। त्यसलाई प्रशोधन गरेर तरकारी, फलफूलमा प्रयोग गर्छन्। उनी मात्र होइन, उनका परिवारका जति पनि सदस्य छन्, सबैको पिसाब गर्ने छुट्टाछुट्टै बोतल छन्। उनी गाडीमा हिँड्दा पनि पिसाब सङ्कलन गर्ने बोतल बोक्छन्। उनको घरसँगै रहेको कार्यालयमा उनी हरेक दिन बाल्टिनमा दिसा गर्छन् र बोतलमा पिसाब। उनी बिहानको समयमा टेलिभिजनमा समाचार हेर्दै आफ्नै घरमा रहेको कार्यालयमा बिहानको शौच गर्दछन्।

सबैले पिसाबलाई बोतलमा जम्मा गर्ने मात्र हो भने पनि नेपालका २ करोड ७५ लाख मानिसबाट कम्तिमा दुई करोड लिटर जम्मा गर्न सकिने उनी बताउँछन्। यसबाट १८ लाख लिटर बराबरको युरिया प्राप्त हुने उनको अनुमान छ। पिसाबलाई वनस्पतिको दुधको रूपमा उनी लिन्छन्। घरको भान्छाबाट निस्कने पानी मात्र होइन, छिमेकीको भान्छाको पानीलाई समेत जम्मा गरेर उनले आफ्नो मिनी फार्ममा प्रयोग गरेका छन्।

बीस वर्षमा नेपाललाई अर्ग्यानिक मुलुक बनाउन सकिने बताउँदै राई त्यसको जिम्मेवारी आफूले लिनसक्ने दावी गर्छन् । पहिलो अर्ग्यानिक मुलुकको परिचय बनेपछि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने र राष्ट्रिय आयमा पनि वृद्धि हुने उनको बुझाइ छ। 'पर्यटकको सङ्ख्या बढेसँगै धेरै मानिसले रोजगारी पाउँछन्', राई भन्छन्, 'नेपालमा करिव तीन करोड जनसंख्या छ। कामदार नपुगेपछि, अहिले हामीले विदेशमा श्रम बेचिरहेका छौँ, त्यसपछि हामी आफैँ श्रम किन्छौँ।'

रसायिक मल र कीटनाशक औषधि बिक्री गर्ने नेपालकै पहिलो अधिकृत तथा कृषिविद् राई अहिले आफूले विगतमा जागिर खान गरेका काम अज्ञानताले भएको काम भन्न रुचाउँछन्। 'माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ', राईको भनाइ छ, 'खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो।' जल र मलको अभाव छैन, केवल प्रयोग गर्न जान्नुपर्छ भन्ने उनको मत छ। उनी पानी भनेको सम्पत्तिको खानी भएको बताउँछन्। वनस्पति पानीविना हुँदैन। नेपालमा पानी नभएको ठाउँ छैन।

उनकै भाषामा भन्ने हो भने हामीसँग मल प्रशस्त छन्, त्यो पनि अर्ग्यानिक। नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन, तर पनि उत्पादन घट्दैन। त्यो भलपानीको देन हो। बर्खाको भलपानी मलिलो हुन्छ। त्यही भलपानी खेतमा हालिन्छ। 'हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ', राईको दुखेसो छ, 'चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ।' भलपानी कसरी छोप्ने? 'सजिलो छ,' कृषिविद् राईले सुझाए, 'बाटोभरि गोबर, पत्कर, सुली हुन्छ। पानी पर्दा बगेर जान्छ। त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा लैजानुपर्यो।'

नेपालमा भएका भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छन्। त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ। हामी सङ्कलन गर्दैनौँ। सबै उडेर जान्छ। सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ भन्ने उनको धारणा छ। ओजन तह प्वाल पर्ने भनेको नै यही हो।

गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ। एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ। 'सोलिडलाई हिट गरे लिक्विड हुन्छ। लिक्विड हिट गरे ग्यास बन्छ। गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो', राई भन्छन्, 'गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन। त्यसैले आकाश प्वाल पार्दा हामी ठूला-ठूला कुरा गरेर भ्रम छरिरहेका छौँ।' त्यसको सही सदुपयोग गर्न सक्यौँ भने अहिलेको वातावरणीय बहसलाई सहजै बुझ्न सकिन्छ भन्ने उनको मत छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.