|

उदयपुरः उदयपुरको चुरे क्षेत्रमा विशेष गरेर नदी बगर, सरकारी जग्गा, वन छेउछाउका जग्गा भूमाफियाको पञ्जामा पर्नु कुनै पनि नौलो विषय होइन।

अतिक्रमण परेका नदी किनार तथा सरकारी जग्गा खाली गर्ने दायित्व जसको भए पनि अहिलेसम्म कुनै पनि प्रयास पनि भएको देखिँदैन। यस्तै वर्षौदेखि बग्दै आएको त्रियुगा नदीलाई पनि भूमाफियाले अतिक्रमणको चुंगुलमा पारेका छन्। त्रियुगा नदीको बहाबै परिवर्तन गरी जग्गा उकास्ने कामले अहिले सयौं विघा खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् भने बस्ती समेत जोखिममा परेको छ।

उदयपुरको त्रियुगा नगरपालिका ६ बोझेमा भूमाफियाले त्रियुगा नदी अतिक्रमण गर्दा अहिले त्रियुगा नदीनै बस्तीतिर सोझिएको स्थानीयको जनगुनासो छ। तीन गाउँका सयौं घरधुरी जोखिममा परेका छन्। सामान्य पानी पर्दा पनि खोला किनारमा गएर हेरिरहनु पर्ने बाध्यता आएको स्थानीय मीना ढकालले बताइन्।

‘मेरो तीन चार विघा खेत कटान गर्‍यों’ उनले भनिन्, ‘केही दिन यता उदयपुरमा अविरल वर्षा भइरहेको छ। त्रियुगा नगरपालिका ६ र ७ कोबीचमा चकलघट्टीतर्फ भूमाफियाले बाँध बाँधेपछि त्रियुगा नदी बस्तीतिर सोझियो।’

त्रियुगा नगरपालिका ६ को बोझे, मोहनपुर र राजदेवी टोल जोखिममा परेको छ। खोलाको पारिपट्टी बीचभाग अग्लो बाँध बाधिएको छ। जसको कारणले गर्दा त्यही बाधँले त्रियुगा नदी फर्केर वारिपट्टिको सयौं विघा धान खेत कटान गरेको उही ढकालको गुनासो छ।

‘भूमाफियाकै कारण अहिले त्रियुगा नगरपालिका ६ का तीन गाँउका सयौं घरधुरी बाढीको खतरामा छन्’ उनले खोलाको बारेमा यसरी गुनासो गरिन्, ‘पहिला खोला बग्ने ठाउँमा अग्लो बाँध बाधिएपछि खोला पारिपट्टिबाट बग्न छाडेर वारिपट्टि आएको छ। खेत कटान गर्दै छ।’

पारिपट्टिको भागमा बाँधेको बाधको तुलनामा वारिपट्टि सामान्य माटोको बाँध बाधिएको छ। त्यही पनि त्रियुगा नदी कटान गरिरहेको अर्का स्थानीय खिलबाहादुर ढकाल बताउँछन्। ‘पारिपट्टि त्रियुगा नगरपालिका ७ चकलघट्टी लगायतको गाउँ छ’ उनले भने, ‘त्यहाँ पहुँचवाला व्यक्ति छन्। त्यही  ठूला-ठूला पदमा रहेका व्यक्तिले खोलाको जग्गा उकास्न बाँध बाँध्दा हामी सुकुम्बासी हुने भयौ।’

असोजको बाढीले पनि वारिपट्टिको बाँध भत्काई पाक्न लागेको धान समेत बगाएको छ। खोलाले बाँध भत्काउने थालेपछि त्रियुगा नगरपालिका ६ मा पर्ने बोझे, मोहनपुर, राजदेवि टोल र जलजले बजार उच्च जोखिममा परेको छ। त्रियुगा नगरपालिका ७ चकलघट्टीतिर पहुँचवाला व्यक्तिले खोला अतिक्रमण गर्दा समस्या उत्पन्न भएको सोही गाउँका स्थानीय पत्रकार भुपेन्द्र पौडेलको भनाइ छ।

वारिपट्टि त्रियुगा नगरपालिका ६ मोहनपुर, बोझे र राजदेवी टोलमा सामान्य मान्छे मात्र छन,’ उनले भने, ‘पारिपट्टि त्रियुगा नगरपालिका ७ चकलघट्टीमा राज्यको स्रोत साधान सदुपयोग गर्ने व्यक्तिले मध्य खोलाको भागमा बाँध बाध्दा समस्या भयो।’

बाँध बाध्न आएको बजेट समेत पहुँचवालाको कब्जामा हुन्छ। पहुँचवालाले आफू खुसी प्रयोग गर्दा तीन गाउँमा जोखिममा परेका छन्। नदी उकासका जग्गा जोगाउने प्रबृति नै भूमाफिया प्रबृति भएको सर्वसाधारणको बुझाई छ। 

पहुँचवाला व्यक्तिले बाँध लगाउँदा खोलाको साविकको बाटो खोज्नु पर्छ। खोलाकै बाटो कब्जा गर्ने भूमाफियालाई राज्यले समयमै पहिचान गरी वस्ती र खेतीयोग्य जमिन जोगाउनु सर्वसाधारणको माग छ।

सत्ताधरी दल नेकपा उदयपुरका युवा नेता सुभाष राउत  स्थानीय, तह, प्रदेश, संघीय सरकारको सहयोगको अपिल गरेको बताउँछन्। ‘पारिपट्टिको बीच त्रियुगा नदीमा बाँध बाँधेपछि पारिपट्टिका सयौं विघा खेतीयोग्य जमिन बगरमा परिणत भइसकेका छन्’ उनले भने, ‘यसमा तीनै तहका सरकारको ध्यान केन्द्रीत हुन जरुरी छ।’

त्रियुगा नदी किनार आसपास धेरै ठाउँमा भूमाफियाले खोला नै कब्जा गर्दै आएका छन्। वर्षेनी त्रियुगा नदी नियन्त्रणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाले पनि भूमाफियाको नजर गिराउँदै वस्ती र खेतीयोग्य जमिन जोगाउन योजना ल्याउनु पर्ने राउतको तर्क छ। 

उदयपुरको त्रियुगा, तावा, बरुवा नदी किनार र वन क्षेत्रका जग्गा अतिक्रमणको उच्च जोखिममा परेका छन्। विशेष गरेर भूमाफियाले नदी उकासका जग्गा, वन क्षेत्रका जग्गा, सडक छेउको जग्गा ऐलानी जग्ग्गाको अतिक्रमण बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.