'एमालेले स्वार्थअनुकूल राजनीति गर्‍यो'

|

उदयपुर : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमालेले देशको आवश्यकता भन्दा पनि आफ्नो स्वार्थअनुकूल राजनीति गरिरहेको आरोप लगाएका छन्।

उदयपुरको गाईघाटमा शनिबार भएको कार्यक्रममा भट्टराईले भने- 'आवश्यकता के हो भन्दा पनि आफ्नो स्वार्थ अनुसार र आफूलाई जे लाग्छ त्यही गर्ने गरिएको छ।' भट्टराईले एमालेलाई व्यंग्य गर्दै एउटा कथा सुनाए।

भट्टराईको कथा यस्तो छ-

नेपालीको परीक्षामा निबन्ध आउँथ्यो, केही उदाहरणका रुपमा घोक्ने चलन थियो। एकजनाले गाईको सम्भावना छ भनेर घोकेर गए तर प्रश्न आयो नदीको। अनि उनले सुरु गरे- नदी हिमालबाट सुरु हुन्छ, पहाडका खोच हुँदै मैदानमा पुग्छ। मैदानमा नदीका दुबै किनारामा राम्रो घाँस पलाउँछ। घाँस खान गाई आउँछ। गाईको चार खुट्टा हुन्छ, दुई कान हुन्छ... इत्यादी इत्यादी।

भट्टराईले अहिलेको मुख्य विषय राज्यको पुनर्संरचना भएको बताउँदै भट्टराईले संघीयता र शासकीय स्वरुपलाई आआफ्नो ढंगले व्याख्या गर्ने गरिएको बताए। 'यी दुबै कुरामा आवश्यकता भन्दा भिन्न ढंगले अलिकती जोडेर नदीको नाममा गाईको निबन्ध लेखेजस्तो भएको छ', उनले भने।

विकास र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने जिकिर गर्दै भट्टराईले भने- विविधतापूर्ण देशमा राज्यसत्तामा सबैलाई सहभागी बनाउनु छ र सबैको बीचमा राष्ट्रिय एकता कायम राख्न सक्ने स्थिर शासन प्रणाली पनि चाहिएको छ। त्यसैले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली हाम्रो आवश्यकता हो।

कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुन्छ भन्ने शंका व्यक्त गरेको भन्दै भट्टराईले सन्तुलन गर्ने प्रावधान राख्न सकिने बताए। 'निरंकुश हुने डर नराखौं। कतिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दैन कि भन्ने गरेका छन तर झन् सुनिश्चित हुन्छ', भट्टराईले भने, 'प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो सरकारमा सक्षम, विज्ञ, समावेशी मन्त्रीहरु राख्न सक्छ। संसदीय प्रणालीमा त्यो स्वतन्त्रता प्रधानमन्त्रीलाई हुँदैन, सत्ता गठबन्धनको ख्याल गर्नुपर्ने बाध्यता हुन्छ।'

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले राष्ट्रिय एकतालाई बलियो बनाउने तर्क गर्दै उनले प्रतिनिधिले प्रयोग गर्ने भन्दा जनता आफैंले सार्वभौम अधिकारको प्रयोग गर्दा लोकतन्त्र उन्नत हुने बताए। 'प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भोट मागेर चुनाव जितेको एमाले र प्रचण्डजीले खुट्टा छोडिदिएपछि संविधानमा छुट्न गयो, हामी टुलुटुलु हेर्न बाध्य भयौं। एमाले र प्रचण्डले नछोडेको भए कांग्रेस समेत दवावमा पर्थ्यो।'  

पहिलेका गल्ती नसच्याउने हो भने देश झन् कंगाल हुने उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.