|

म्याग्दी : नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्रै होइन नेपालीहरु पनि विदा र विशेष अवसरमा  देश दर्शन गर्न विभिन्न ठाउँहरुमा भ्रमण गर्ने चलन पनि बढदै गएको छ।

गत वर्ष सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक छ। मन्त्रालयको तथ्यांकअनुसार चालु वर्ष सन् २०१९ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा  कुल ५ लाख ८५ हजार ५ सय ३१ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको पर्यटक आगमन १३ प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको यही अवधिमा कुल ५ लाख २० हजार १४ जना पर्यटकले भ्रमण गरेका मन्त्रालयको तथ्याङ्क छ।

नेपाल भित्रने विदेशी पर्यटकहरुमध्ये धेरैको रोजाइ विविधताले युक्त नेपालको भूगोल छिचोल्दै रोमाञ्चक पदयात्रा गर्दै विभिन्न ठाउँहरुमा पुग्ने र पदयात्राको अनुभव हाँसिल गर्ने नै हुन्छ।

नेपाल बसाइ र खर्चका हिसावले पनि पदयात्रा मार्फत नेपाल भ्रमण गर्ने पर्यटकहरु नेपालका लागि बढि फाइदाजनक हुन्छन्। सबैभन्दा बढी खर्च गरेर नेपाल भ्रमण गर्नेमा यही वर्गका पर्यटक पर्दछन्। साहसिक यात्रा गर्ने उनीहरू प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदल यात्रा गर्न रुचाउँछन्। विकासका पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यसमा गुड्ने सवारीसाधन यस वर्गका पर्यटकलाई निरुत्साहित गर्ने पक्ष हुन्।

यसरी पदमात्रा गर्न इच्छुक विदेशी पर्यटकहरुको रोजाइमा सगरमाथा, अन्नपूर्ण हिमाल, उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्र पर्ने गर्दछन्। दिनभर कोशौंको निर्जन क्षेत्र पार गर्दै गन्तव्यमा पुग्न दैनिक सयौं अमेरिकी डलर तिर्न उनीहरू तयार हुन्छन्।

तर उनीहरूले हिँड्ने पदमार्गमा सडक तथा सवारीसाधनका गतिविधि नहुन् भन्ने उनीहरू चाहन्छन्। आफ्ना देशका सडक तथा सवारीमा बिताइने दिनचर्याभन्दा फरक अनुभव लिन आपूmहरू यस्ता ठाउँ खोज्दै आएको उनीहरूको प्रतिक्रिया रहने गरेको छ।

उपल्लो मुस्ताङ विदेशी पर्यटकहरुका लागि रोमाञ्चक पदयात्राको अवर्णित अनुभूति गराउने महत्वपूर्ण ठाउँ हो। यहाँ आउने पर्यटकहरु मोटर चढेर होइन पदयात्राको रोमाञ्चक अनुभूति गर्दै यहाँको भूगोलमा रमाउन चाहन्छन्। तर,उनीहरुको यो चाहना जोमसोम–कोरला (११० किमी) सडकका कारण तुसारापात हुँदै गएको उनीहरुको भनाइ रहेको छ।

यहाँ आउने पर्यटकहरुलाई धेरै ठाउँमा मोटर बाटो र त्यसकै आसपास हुँदै हिँड्नुपर्ने बाध्यता छ। सरकारले आफ्नो रणनीतिक महत्वका साथ बेनी–जोमसोम हुँदै उपल्लो मुस्ताङ पार गरी चीनको कोरला जोड्ने सडक निर्माण गरिरहेको छ।

ग्राभेलिङ मात्रै गर्ने योजना रहेको यही सडकका कारण उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटकहरु असन्तुष्ट हुँदै गएका छन्। निर्माणाधीन सडक तथा त्यहाँ गुड्ने गाडीले उडाउने कुइरिमण्डल धूलोले उनीहरू झनै बढी आजित छन्। यस्ता पर्यटकहरूले जतिसक्दो चाँडो सडकभन्दा परबाट पदयात्राका लागि वैकल्पिक मार्ग खोल्नुपर्ने सल्लाहा दिदै आएका छन्। उनीहरु भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग पनि नमास।'

नभड्काऊँ पर्यटक : विकल्प रोजौं’

विगत ४० वर्षदेखि मुस्ताङको पर्यटन क्षेत्रमा लागिरहेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले सडकका कारण उपल्लो मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकहरुलाई निकै सास्ती भएको बताए।

‘सडकले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतामा अतिक्रमण गरेको छ’ अध्यक्ष तुलाचनले भने ‘सडककै कारण यहाँ आउने विदेशी पर्यटकहरुलाई भड्काउनु हुँदैन,हामीले विकल्प खोज्नै पर्ने भएको छ।’

अध्यक्ष तुलाचनका अनुसार सडकरुपी खुकुरीले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतालाई छिनाली दिएको छ। सडकको विस्तार हुनुपूर्व उपल्लो मुस्ताङमा देखिने खच्चड,घोडा,पैदलयात्री,काठेपुल सवै चिजहरु एकै ठाउँमा देखिने र ती सबैको गज्जबको दृश्य अहिले लोप भएकोमा मुस्ताङीहरुले नमज्जा मानेको अध्यक्ष तुलाचनले बताए।

पूर्वाधारको अभावले विकासमा पछाडि परेको उपल्लो मुस्ताङमा सडक तथा यातायात पूर्वाधार विकास गर्नु पहिलो आवश्यकता हो। यसबाट यहाँको अर्थतन्त्रमा सुधार आउनुका साथै दूरदराजका बासिन्दा र त्यहाँका उत्पादन तथा सम्पदाले स्थान पाउँछन्। साथै पूर्वाधारकै कारण बढ्ने आन्तरिक पर्यटनले राज्य र नागरिक दुवैलाई लाभ र्पुयाउँछ।

तर, सडककै कारण बाह्य पर्यटक घट्ने अवस्था भने आउन दिनु हुँदैन। बाह्य पर्यटनले विदेशी मुद्रा आर्जनमा देशलाई ठूलो योगदान पु¥याउने हुँदा यसलाई पनि जोगाउनु तथा बढाउनु उत्तिकै आवश्यक छ। त्यसका लागि पर्यटक अनुकुलको वैकल्पिक पदमार्गको व्यवस्था हुनु पर्ने अध्यक्ष तुलाचनको भनाइ रहेको छ।

विदेशी पर्यटकको खर्च ५० प्रतिशतले बढी

उपल्लो मुस्ताङमा नेपाली पर्यटकको तुलनामा विदेशी पर्यटकले ५० प्रतिशतले बढी खर्च गर्ने गरेका छन्। त्यहाँ रहेका होटल तथा लजहरुले पनि नेपाली र वाह्य पर्यटकलाई अलग अलग दरमा खाने र बस्ने रकम लिने गरेका छन्।

नेपालीलाई ३ सय रुपैयाँमा शाकाहारी खाना खुवाउने उपल्लो मुस्ताङका होटलहरूमा विदेशी पर्यटकका लागि त्यही खाना मूल्य ४ सय ५० रुपैयाँ रहेको छ। यस्तै फरक अन्य खानाका साथै कोठाको शुल्कमा पनि छ।

नेपाली पर्यटकका तुलनामा विदेशी पर्यटकले महँगा चिनोहरू लैजाने लोमान्थाङका व्यवसायी रामबहादुर गुरुङले बताए। ‘नेपाली पर्यटकले खासगरी चिनियाँ सामान किनेर लैजान्छन्’ उनले भने, ‘विदेशीले महँगा नेपाली चिनोहरू लैजान्छन्।’ खाने, बस्ने तथा खरीद गर्ने समेत गरी समग्रमा आन्तरिक पर्यटकले भन्दा विदेशी पर्यटकले ५० प्रतिशत बढी खर्च गर्ने उनको भनाइ छ।

देश दर्शन गर्ने अवसर

विदेशी पर्यटकले गुनासो गरिरहेका सडक तथा त्यहाँ गुड्ने सवारीसाधन नै उक्त क्षेत्रमा ठूलो संख्यामा आन्तरिक पर्यटक पुर्‍याउने माध्यम बनेका छन्। बेनी–जोमसोम–कोरला सडकको ट्र्याक खुलेसँगै नेपालीहरू कार, मोटरसाइकलका साथै स्थानीय रूपमा चल्ने सवारीसाधनबाट उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुग्न थालेका छन्। यसले नेपालीलाई देश दर्शनको अवसर मिलेको छ भने देशलाई आन्तरिक पर्यटनको लाभ पनि भएको छ।

गाडी पुगेपछि सबैभन्दा बढि आन्तरिक पर्यटकहरु उपल्लो मुस्ताङमा गएका पर्यटन व्यवसायी गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.