|
फोटो : कुटपिटबाट घाइते चिसंखुगढी गाउँपालिका २ का वडाअध्यक्ष तथा नेकपाका गाउँपालिका कमिटीका अध्यक्ष नरेन्द्र बस्नेत।

ओखलढुंगा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताले आफ्नै पार्टीका जनप्रतिनिधिमाथि कुटपिट गरेका छन्। जिल्ला कमिटीका सचिवालय सदस्य अशोककुमार थापाले चिसंखुगढी गाउँपालिका-२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतमाथि कुटपिट गरेका हुन्। पार्टीको आन्तरिक विवादपछि थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएका हुन्।

शानिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा तथा खाना खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेर घाइते बनाएको बस्नेतले बताए।

‘पार्टीको कार्यक्रम तथा विकासका योजनाका विषयमा छलफल गर्दा गाली गलौज गरेर मलाई आक्रमण गरेर घाइते बनाए’ उनले भने। बस्नेतको निधार र टाउकोमा गहिरो चोट लागेको छ। उनको खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्षसमेत हुन्। पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर यसअघि पनि थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुने गरेको थियो।

पार्टीको गाउँ कमिटीका अध्यक्षमाथि कुटपीट गरेको विषयमा थापाले आफू र प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गरेर आक्रमण गर्न खोज्दा प्रतिवाद गरेको बताए।

उनले आफूमाथि हात हालेपछि घटना भएको स्वीकारे। ‘म र अम्बीर माननीय जोडेर तल्लो स्तरको गाली गरेर झम्टिए, मेरो हातमा रहेको गिलासले ठेलिएको हो, नियतबस हानेको होइन’ उनले भने।

थापा गुरुङका विश्वास पात्र हुन्। उनीसँग नेकपाका स्थानीय कमिटी तथा जनप्रतिनिधिसँग विगतदेखि नै विवाद हुँदै आएको थियो। एक विद्यालयमा कर्मचारी नियुक्ति, २० गते वडा नं. ३ मा आयोजना हुने भनिएको कार्यक्रम तथा थापाले जिम्मा लिएर काम गरेको चार्खु-आँपस्वाँरा सडक आयोजनामा भएको भनिएको अनियमितताको विषयलाई लिएर पार्टी कमिटी तथा जनप्रतिनिधिहरूसँग विवाद भएको घटनाका एक प्रत्यक्षदर्शीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.