|

म्याग्दी : म्याग्दीको चर्चित पर्यटकीय स्थल मोना लभ्लीहिल पदमार्गको आइतबार उद्घाटन गरिएको छ। बेनीदेखि नजिकै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुर्‍याउन बनाइएको पदमार्गको प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन्।

उद्घाटनपछि लभ्लीहिलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले बेनी नगरपालिका, प्रवासी म्याग्देलीको संस्था मोना आइइसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्मित पदमार्गले जिल्लामा लगानी भित्राउने वातावरण बनाएको बताए।

संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशका सांसद विनोद केसीले पर्यटन, जलविद्युतको क्षेत्रमा लगानीको वातावरण रहेको बताए। सोही अवसरमा पदमार्गको बीचमा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्वर्गीय पिताको नाममा निर्मित विश्रामस्थल र लभ्लीहिलमा निर्मित बाटिकाको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गरेका थिए।

डिभिजन वन कार्यालयको आर्थिक सहयोग तथा स्थानीय उपभोक्ताको समेत जनश्रमदानबाट निर्मित बाटिकाको उद्घाटनसँगै अवलोकनसमेत गरिएको थियो। बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की,कार्यक्रममा वडा नं  २ का अध्यक्ष हिराबहादुर थापा, मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन,मोनाका पदमार्ग संयोजक ओमनारायण जुग्जालीले मन्तब्य राखेका थिए।

कार्यक्रममा पदमार्ग निर्माणमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो। पदमार्ग निर्माणका लागि क्रमशः बेनपाले ५०, मोना आइईसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारी भएको थियो। जसअन्तर्गत मोना आइइसीबाट २९ लाख ८९ हजार ४४४, बेनी नगरपालिका ३७ लाख ३६ हजार ८०५ र म्याग्दी उद्योग वाणिज्य संघले ७ लाख ४७ हजार ३६० सहयोग गरेको थियो।

उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, स्वागत मोना आइइसीका अध्यक्ष चक्रबहादुर थापा, आर्थिक प्रतिवेदन पदमार्ग व्यवस्थापन समितिका कोषाध्यक्ष सुनिता केसी र  सञ्चालन म्याग्दी उवासंघका सचिव सुर्वण रिजालले गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.