|

विमला ढकाल

बर्दिया : बारीमा लटरम्म फलेको टमाटर, काउली अनि खुर्सानी। करिब १० कट्ठा जति जमिनमा फैलिएको तरकारी बाली। मौसमी तथा बेमौसमी दुवै प्रकारका तरकारी लगाइएको छ। 

ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी बृहस्पति थारुको दिन तरकारी बारीमै बित्छ। उनले तीन वर्षअघि नयाँ तरिकाले तरकारी खेती गर्न थालेकी हुन्। टनेल बनाएर तरकारी खेती गर्दै आएकी छन्। बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताइन्।

‘बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन’ उनले भनिन्, ‘व्यावसायिक रुपमै खेती गर्ने हो भने त टनेल चाहिँदो रहेछ।’

उनको टनेलभित्र तरकारीका बेर्ना पनि छ। बृहस्पतिले बेर्ना बेचेरै पनि एक सिजनमा १० ÷१२ हजार रुपैयाँ आम्दानी गर्छिन्। बेर्ना किन्न बारीमै मानिसहरु आउने गरेको उनले बताइन्।

लहरे बालीका लागि स्थायी प्रकृतिको झाल बनाइएको टनेलभित्र प्रत्येक बिरुवाको जरामा थोपा प्रविधिबाट सिँचाइ गर्ने व्यवस्था मिलाइएको छ। तरकारीमा गाईभैसीको मुत्र संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्दै आएकी छिन्। खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन लिन उनको अनुभव छ।

बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरण्ीाय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु पर्दछ। यसका लागि प्लाष्टिक घर आवश्यक छ। प्लाष्टिकको घरभित्र वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ।

बृहस्पतिले मौसमी तथा बेमौसमी दुवै खेती गर्दै आएकी छिन्। एक सिजनमा करिब ८० देखि ९० क्विन्टल गोलभेडा बिक्री गर्छिन । उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुँदै आएको उनले बताइन्। ‘पहिले नगरपालिकामा तरकारी संकलन केन्द्र नहुँदा धेरै तरकारी त खेर जाने गरेको थियो। कति त गाई भैंसीले नै खान्थे,’ उनले भनिन्, ‘अहिले तरकारी संकलन केन्द्र सञ्चालनमा आएपछि धेरै सजिलो भएको छ। उत्पादन गरिएको तरकारी संकलन केन्द्रले नै खरिद गरिदिन्छ।’

तीन वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरेकी थारुले अहिले वैदेशिक रोजगारीमा गएका पतिलाई नेपाल फर्काउन सफल भइन्। उनका श्रीमान अहिले बारीमै सघाइरहेका छन्। उनले भैंसीपालन समेत सुरु गरेका छन्। श्रीमानलाई नेपाल फर्काउन सफल भएकोमा बृहस्पति खुसी छन्।


तीन वर्ष विदेश बसेर फर्किएका बृहस्पतिका श्रीमान मायाराम थारु अब विदेश जाने योजना नभएको बताउँछन्। विदेश जाने युवाहरुलाई पनि उनी आफ्नै भूमिमा पसिना बगाउन अनुरोध गरिरहेका छन्। बृहस्पति पनि थोरै तरकारी लगाउने व्यक्तिलाई टोकरीमा तरकारी बिक्री नगरेर अब व्यावसायिक रुपमा तरकारी उत्पादन गर्न सुझाब दिन्छिन्।

उनले तीन वर्षअघि प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत समूहमार्फत अनुदान पाएकी थिइन्। समूहमा ४५ जना कृषक रहेका छन्। बृहस्पति नगरकै उत्कृष्ट कृषकमध्येकी एक हुन्। उनीजस्तै कृषिबाटै जीविकोपार्जन गरिरहेका अन्य कृषकहरु समेत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.