|

  • सविता जिसी

सुर्खेत : जिल्लाको लेखगाउँ गाविसमा रहेको एक विद्यालयमा छात्राहरु एक्कासी बेहोस हुने समस्या देखिन थालेको छ। गएको डेढ महिना अघिदेखि नै छात्राहरु एक्कासी बेहोस हुने समस्या हुँदा नियमित पठनपाठनमा असहज भएको छ।

गएको डेढ महिनादेखि केही छात्राहरुमा काम्‍ने र बेहोस हुने समस्या देखिएको शिक्षक भक्तबहादुर रानाले बताए। रानाका अनुसार १ जना छात्राबाट सुरु भएको यस्तो समस्या अहिले अन्य विद्यार्थीहरुमा पनि देखिन थालेको छ। दैनिक लगातार ३–४ जना विद्यार्थीहरु बिरामी हुन थालेका छन्। विद्यार्थीहरुमा बेहोस हुने, रिंगटा लाग्‍ने, बान्ता हुने, टाउको दुख्ने, घाँटी दुख्ने, अचेत हुने, बर्बराउने, छिनमै सञ्चो हुने, छिनमै बिरामी हुने लगायतका समस्या देखिने गरेको रानाले जानकारी दिए।
छात्राहरु बेहोस हुन थालेपछि पढाईमा बाधा पुगेको रानाको भनाइ छ। डेढ महिनाको अवधिमा १३ जना छात्रामा यस्तो समस्या देखिएको उनले बताए।  

उपचारका लागि धामीको साहारा 

समस्या समाधान नहुँदा बिरामी विधार्थीका अभिभावक पनि चिन्तित बनेका छन् । छात्राहरु विद्यालयमा रहँदाको समयमा मात्रै यस्ता समस्याहरु देखिने गरेको र घरमा रहँदा भने कुनै बिरामी नहुने गरेको विद्यालयले जनाएको छ। 

विद्यालयका छात्राहरुमा देखिएको यो समस्या डाक्टरहरुले समाधान गर्न नसकेपछि विद्यालयले धामीको साहारा लिएको छ।  शुक्रबार विद्यालयमा धामी बोलाइएको थियो। धामीले  १ हप्तामा निको हुने आश्वासन दिएका छन्। आगामी शनिबार पुन धामी बसाल्ने कार्यक्रम रहेको स्थानीय अभिभावकले जानकारी दिएका छन्। 

अभिभावकहरुका अनुसार छात्राहरु एक्कासी बेहोस हुने समस्या उक्त विद्यालयमा ५ वर्षअघि पनि देखिएको थियो । त्यतिबेला पनि डाक्टरहरुले उपचार गर्दा समस्या समाधान नभएपछि धामी बोलाइएको शिक्षक भक्तबहादुर रानाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.