|

  • दीपेन्द्र शर्मा-

जाजरकोट :  जिल्लाका विद्यालयहरुमा दिवा खाजाको रुपमा वितरित पौष्टिक आहार तितो भएपछि विद्यार्थीहरुले खान छाडेका छन्। विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित 'शिक्षाका लागि खाद्य कार्यक्रम' अन्तर्गत वितरित पौष्टिक आहार गुणस्तरहीन भन्दै विद्यार्थीले खान छाडेका हुन्।

दिवा खाजामा वितरण गरिने पौष्टिक आहार तितो भएपछि विद्यार्थीहरुले खान छाडेका खगेनकोटको हिमालय प्राविकी शिक्षिका मनिषा सिंहले बताइन्। पौष्टिक आहार पकाएर खाँदा पनि तितो भएपछि विद्यार्थीहरुले खाना छाडेका उनले जानकारी दिइन्। विद्यार्थीले पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले वान्ता गरेपछि गुणस्तरहीन भएको भन्दै शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालयमा जानकारी समेत गराएको छ।

पौष्टिक आहार तितो भएको गुनासो आएपछि आफूले खादा पनि तितो भएको पत्रकार हेमन्त केसीले बताए। दिवा खाजा पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले पेट दुख्ने र वान्ता हुने बताएका पनि उनले जानकारी दिए।

शिक्षाका लागि खाद्य कार्यक्रमले जिल्लाको १८ गाविसका प्रावि तथा निमाविमा अध्ययनरत ३४ हजार विद्यार्थीलाई दिवा खाजाका लागि पौष्टिक आहार वितरण गर्दै आएको छ। जिल्लाका २६ वटा बाल  विकास केन्द्र, १६६ वटा प्राथमिक विद्यालय र ४६ निम्न माध्यामिक विद्यालय गरी २३१ विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरिएको छ।

गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले श्रोत व्यक्ति योगेन्द्र आरसी, ज्ञानेन्द्रबहादुर सिंह, शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाईका खरिदार जयबहादुर वली र प्रताप हमाललाई आइतबार नै विद्यालय पठाउन लागिएको जिल्ला शिक्षा अधिकारी ललितबिक्रम सिंहले जानकारी दिए।

पौष्टिक आहार तितो भएर खाना नमिल्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यालय र शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालयका प्रतिनिधिहरुलाई गुनासो आएका विद्यालयमा पुगेर यथार्थ जानकारी ल्याउन निर्देशन दिएको शिक्षाका लागि खाद्य कार्यक्रम काटमाडौंका निर्देशक विष्णुबहादुर द्वारेले बताए। प्रारम्भिक प्रतिवेदन आएपछि यस विषयमा थप अनुसन्धान गरिने उनले बताए।

'पौष्टिक आहार तितो छ भन्ने गुनासो आएपछि ३ महिना अगाडि जिल्लाबाट स्याम्पल लिएर ल्याब टेष्ट गर्दा खाना योग्य छ भनेपछि खुवाउन थालिएको हो' निर्देशक द्वारले भने 'मिनरल्स बढी हुँदा पनि तितो हुन्छ त्यसैले विद्यार्थीलाई खुवाउदा कुनै समस्या हुँदैन।' विद्यार्थीहरुलाई विद्यालयमा खुवाइएको पौष्टिक आहारले नभई गाउँघरको अन्य कुनै कारणले पेट दुखेको हुन सक्ने उनको दावी छ।

शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाईका प्रमुख रवीन्द्रसिंह भण्डारीले जिल्लामा रहेका आठवटा गोदामबाट वितरण गरिएको पौष्टिक आहारमा समस्या नभएको दावी गरे। विद्यालयमा खाजा बनाउने मान्छेलाई तालिम सञ्चालन गर्दा त्यही पौष्टिक आहार खाजा खाँदा तितो नभेटिएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.