सीमामा घर फर्कनेको लर्को

|

बैतडी : दशैं सुरु हुँदा वर्षा पनि वर्षा नरोकिएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ। वर्षाका कारण अधिकांस ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन्।

जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महँगो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको नागरिकले बताएका छन्। विभिन्न ठाउँबाट दशैं मनाउन आफ्नो पुर्ख्यौली थलोमा फर्कनेलाई समेत समस्या भएको छ।

जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताए। सडक हिलाम्य हुँदा दशैंका लागि घर फर्कने तथा पुर्ख्यौली घरमा आउने महँगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उनले बताए।

यस्तै, देहीमाण्डौं गिरेगडा सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ। ठाउँठाउँमा सडक चिप्लो भएकाले यात्रा गर्न निकै असहज हुने गरेको स्थानीय पदमराज जोशीले जानकारी दिए। सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको चालक किशोर मडैले जानकारी दिए। लगातारको वर्षातले सडकमा गाडी गुडाउन असहज भएको छ।

यस्तै, श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाललगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ। दशैंको मुखमा वर्षा भएकाले दशैंका लागि तराईबाट पहाड झरेकाहरुलाई गन्तव्यमा पुग्न मुस्किल भएको छ। कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ।

घर फर्कनेको लर्को

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ। दशैं शुरु भएसँगै रोजगारीका लागि मुग्लान पसेका घर फर्किन थालेका हुन्। सीमावर्ती भारतीय शहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन्।

सीमा नाकाबाट आजभोली दैनिक ४ सय बढी नागरिक स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायव निरीक्षक जनकसिंह धामीले बताए। गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको छ।

गाउँघरमा दशैंको बेला मठमन्दिरमा पूजाआजा हुने गरेको र गाउँका सबै मानिससँग भेटघाट पनि हुने गरेकाले घर फर्किने गरेका छन्। सीमापारी भारतीय बजारबाट नेपाली बजारमा सामग्री ढुवानी गर्ने कामदार पनि दशैंका लागि घर फर्केका छन्।

यसैबीच सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर झुलाघाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेका छन्। नेपाल प्रहरीले स्वास्थ्यकर्मी सहितको सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ।

सीमाबाट फर्किने नेपालीलाई दशैंको बेला दुःख नहोस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर यात्रु सहायता कक्ष स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए। यात्रु सहायता कक्षका कारण सजिलो भएको घर फर्किने नागरिकले महसुस गरेका छन्।

अन्य समयको भन्दा यात्रु सहायता कक्षले नागरिकलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहको भनाइ छ। सहायता कक्ष छठसम्म सञ्चालन रहेन उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.