|

ब‌ैतडी : सुदूरपश्चिम आफैँमा सुन्दर र मनोरम क्षेत्र हो। यहाँ थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेको छन्। हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा थुप्रै पर्यटकीय गन्तव्य रहेका छन्। सुदूरपश्चिमको पहाडी जिल्लाका रूपमा रहेको बैतडी जिल्लामा पनि थुप्रै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र रहेका छन्। त्यसो त, बैतडीलाई काठमाडौंपछिको सबैभन्दा बढी मन्दिर भएको जिल्ला पनि भन्ने गरिएको छ।  

एसियाकै गहिरो गुफा पत्ताल भुवनेश्वरधाम पनि बैतडीमा छ। दशैंतिहारका लागि घुम्न योजनामा रहेका आन्तरिक तथा बाह्य पर्यटकका लागि बैतडीका विभिन्न गन्तव्यहरू रहेका छन्। दशरथचन्द नगरपालिकामा रहेको निंगलाशैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर लगायतका रहेका छन्।

निंगलाशैनी भगवती मन्दिर धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित छ। वर्षमा चारपटक भव्य रुपमा जात्रा लाग्ने यो मन्दिर पर्यटक तान्ने आकर्षक गतन्व्यका रूपमा रहेको दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष रनबहादुर बोहरा बताउँछन्। निंगलाशैनी भगवती मन्दिरमा दशैंको अवसरका पनि मेला लाग्ने गर्दछ। दशैंको घटस्थापनाका दिन यो मन्दिरमा सामूहिक जमरासमेत राख्ने चलन रहेको छ।  यसका साथै महाअष्टमीका दिन पूजाआजासहित  रांगा र बोकाको बली दिइन्छ।

यसका साथै सरकारी हालै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल त्रिपुरासुन्दरी मन्दिर पनि पर्यटकका लागी आकर्षक केन्द्र बनेको छ। सदरमुकाम गोठलापानीवाट करिब ४ किलोमिटर पश्चिममा रहेको यो मन्दिरमा पनि विभिन्न पर्वहरूमा जात्रा लाग्ने गर्दछ।

यस्तै मेलौलीमा रहेको मेलौली भगवती मन्दिर पनि दशैंका बेला पर्यटकहरुका लागि आकर्षक केन्द्रको रुपमा रहेको छ। मेलौलीसम्म सडक पुगेकाले अहिले दर्शनार्थीलाई समेत पुग्न सजिलो हुने गरेको मेलौलीका केशवसिंह भाटले बताउँछन्।

यस्तै, जिल्लाको पुर्चौडी क्षेत्रमा रहेको डिलाशैनी भगवतीको मन्दिरमा पनि दशैंको समयमा मेला लाग्ने भएकाले घुम्न तथा दर्शन गर्नका लागि उपयुक्त स्थान हुने स्थानीयहरुले बताएका छन्। बैतडीमा सात बैनी भगवतीका मन्दिर र सात भाइ केदारका मन्दिर धार्मिक पर्यटकहरूका लागि आकर्षणका केन्द्र बिन्दु बनेका छन्।

यसका साथै पाटनमा रहेको उदयदेव मन्दिर, महारुद्र मन्दिर, सिगास गाउँपालिकास्थित सिगासधुरा, सुर्नया स्थित रौलाकेदार, दशरथचन्द नगरपालिकास्थित ग्वाल्लेक मन्दिर पनि धार्मिक पर्यटकका लागि उचित गन्तव्य रहेका छन्।

निंगलाशैनी भगवती मन्दिर

पर्यटकीय दृष्टिकोणले चाडपर्वमा घुम्नको लागि बैतडीको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर उत्तम गन्तव्य रहेको छ। पर्षको चारपटक जात्रा लाग्ने उक्त मन्दिर धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित छ। दशैंको बेलासमेत घटस्थापनादेखि उक्त मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। दशैंका प्रसादका रूपमा ग्रहण गरिने जमरासमेत उक्त मन्दिरमा सामूहिक रूपमा राखिन्छ। त्यसैले पनि उक्त निंगलाशैनी मन्दिरमा दशैंको बेला दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। 

दशरथचन्द राजमार्ग छेउमै रहेको  निंगलाशैनी मन्दिरमा पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सहज छ। उक्त मन्दिर दशरथचन्द राजमार्गको देहिमाडौं बजारको पश्चिमतिर सडक किनारमै रहेको छ। मन्दिर नजिकै ठूलो बजार रहेकोले पर्यटकलाई बासबसाई तथा घुम्नको लागि सहज छ। निंगलाशैनी मन्दिरमा बैतडीकै सबैभन्दा बढी  रांगाबोकाको बली चडाइन्छ। महाअष्टमीका दिन पूजाआजासहित जात्राको आयोजना गरी बली चढाइन्छ। महाअष्टमी मेलामा सुदूरपश्चिमका अधिकांस जिल्लाका साथै छिमेकी राष्ट्र भारतवाट समेत दर्शनार्थी आउने गरेका छन्। 

निंगलाशैनी मन्दिर क्षेत्र पर्यटकका लागी निकै महत्वपूर्ण क्षेत्रका रूपमा परिचित हुदैं गएको छ ।  मन्दिरदेखि लिएर मन्दिर परिसर समेत चिटिक्क पारिएको हुन्छ। स्थानीय युवाहरुले हालै मात्रै मूलप्रवेशद्वार निर्माण गरिदिएकाले पर्यटक झनै लोभिन्छ। उक्त प्रवेशद्वारमा सेल्फी लिनकै लागि दैनिक दर्जनौं आन्तरिक पर्यटक पुग्ने गरेका छन्। 

रणशैनी(त्रिपुरा सुन्दरी) मन्दिर

सरकारले हालै घोषणा गरेका १०० धार्मिक पर्यटकीय गन्तव्यमा पर्न सफल बैतडीको रणशैनी (त्रिपुरा सुन्दरी)मन्दिर पनि एक हो।

प्रसिद्ध शक्तिपिठका रूपमा परिचित त्रिपुरा सुन्दरी मध्यपहाडी लोकमार्ग तथा दशरथचन्द राजमार्गको अन्तिम बिन्दुनजिक पर्छ। बैतडी सदरमुकामवाट करिब ४ किलोमिटर पश्चिममा राजमार्ग छेउमै यो मन्दिर अवस्थित छ। मन्दिरवाट छिमेकी राष्ट्र भारतको उत्तराखण्डका दृष्यका साथै महाकाली नदीको सुन्दर दृष्य देख्न सकिन्छ। चाडपर्वका बेला यो मन्दिरमा बलीसहित जात्रा लाग्ने गर्दछ। जात्राका अवसरमा बैतडीका साथै भारतबाट समेत दर्शनार्थी आउदे गर्दछन्।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नै महत्त्व रहेको छ। शक्तिशाली भगवती त्रिपुरा सुन्दरीको मन्दिरमा असार महिनामा अषढी जात, साउन अथवा भदौमा रक्षाबन्धनका दिन वोगाल, कार्तिक शुक्ल नवमीका दिन कार्तिक जात खोलिन्छ। असोज र चैतको नवरात्रिमा परेवोखी दशमीसम्म नियमित पूजा गरिन्छ। कार्तिकको जातका अवसरमा माताको सम्मानमा राँगा र बोका बलीसमेत गरिन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनोट गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा बैतडीको त्रिपुरासुन्दरी स्थापितमा परेको हो।

पत्ताल भुवनेश्वर धाम

फुर्सदको समयमा घुम्ने उपयुक्त स्थान बैतडीमा रहेको पत्ताल भुवनेश्वर धाम हो। महादेव मन्दिर रहेको छ। मन्दिरको छेउमा तलाऊ पनि छ। यस क्षेत्रको मुख्य हेर्नलायक पत्तालभुवनेश्वर गुफा हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पत्ताल भुमेश्वर चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य रहेका छन् यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ। जुन गुफाको अन्तिमम बिन्दुमा दूधको धारा रहेको जनविश्वास रहेको छ।

बैतडीस्थित पत्ताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरूको दाबी रहेको छ। केही वर्ष अगाडि इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भुवनेश्वर  गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइएको थियो।

आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो। यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रूपमा मानिदै आएको थियो।

दुसेनको अध्ययन टोलीले पत्ताल भमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो। संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवर्द्धन केन्द्रको पहलमा पत्ताल भुवनेश्वरको अध्ययन सुरु गरेका हुन्।  पत्ताल भुमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरू रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ।

गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछि मात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ। गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन्।

गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिड्नुपर्छ। त्यसपछि फराकिलो ठाउँमा गुफा–चौराहा(चारओटा बाटो) आउछ। जसमध्ये पूर्व तर्फको फराकिले बाटो हिँडेर पानीको धारा हेर्न सकिन्छ। भित्र पस्दै चट्टानले बनेका विभिन्न आकर्षक वस्तुको अवलोकन गर्न सकिन्छ। 

गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरू रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ। पत्ताल भुवनेश्वर को मुख्य आकर्षण भनेको सदाबहार जंगलको बीचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो। बैतडीकै उच्च स्थानमा अवस्थीत पत्ताल भुवनेश्वर एक तीर्थस्थल पनि हो। यस ठाउँमा रहेको तलाउँको पानी एकचोटी शिरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भइन्छ भन्ने जनविश्वास रहिआएको छ। 

हरेक पर्वहरूमा पूजाआजा गरिने पत्तालभुवनेश्वर मन्दिरमा महाशिवरात्री र रामनवमीमा विशाल मेला लाग्ने गर्दछ। यो क्षेत्र विवाह बन्धनमा बाँधिने गन्तब्यका रूपमा समेत चिनिने गर्दछ। पत्तालभुवनेश्वरको दर्शन गरेका मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। स्थानीय मन्धिरे नामका महात्मा दुई दशक अगाडीदेखि पत्ताल भुवनेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो।

दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भूभागमा रहेका पत्ताल भुमेश्वरको प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ। बैतडी सदरमुकामबाट १८ किलोमिटर पूर्वमा पर्ने सिउडेबाट २० मिनेट पैदल उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भुवनेश्वरमा पुगिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.