|

धनकुटा : धनकुटामा मात्रै बसोबास रहेको सीमान्तकृत समुदायमा पर्ने आठपहरीया जातिले होमस्टे सञ्चालन गर्ने भएका छन। धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरीया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन्।

होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए।

जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरि पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइ अनुसारको खानपान व्यवस्थापन गरिने भएको छ। व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरीया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आर्कषण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरीयाले बताइन्।

आठपहरीया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन ग्रिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष आठपहरीयाको भनाइ छ।

नेपालको पृथक जातिको रूपमा आठपहरीया होमस्टे आठपहरीया मौलिक सांस्कृति विश्वभरका पर्यटकलाई आकर्षणको केन्द्रको रूपमा रहने संस्थाको विश्वास रहेको छ। नेपालमा मनाइने प्राय सबै चाड मनाउने आठपहरीयाको छुट्टै तीन चाड बैशाखे, भदौरे र मंसिरे चाडमा पूजा हुने मार्गाथानीसँगै होमस्टे विशेष आकर्षण हुने आठपहरीया राई केन्द्रीय समितिका महासचिव सूर्यबहादुर आठपरीयाले बताए।

तत्काल नगरको ५ नं वडासँगै ८ नं वडाको स्वारिफा, टम्मुवा, पिग्मेरीमा होमस्टे संचालन गर्ने तयारी रहेको आठपहरीया होमस्टे संचालक समितिका संयोजक कोमल किम्दाङ आठपहरीयाले बताए। धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको आठपहरीया जातिको १४ सय घरधुरी र करिब ६ हजार जनसंख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.