|

सोलुखुम्बु : यस वर्षको शरद ऋतुमामा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यो सिजनमा अनुमति लिएको तीन वर्षपछि हो।

अघिल्लो दुई वर्षमा कसैले आरोहणको अनुमति नलिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। यस वर्ष एउटा समूहमा नौ जना र अर्को एक जनासहित १० जना रहेको उनको भनाइ छ।

निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन्। मनास्लु विश्वसको आठौं र नेपालको सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १५६ मिटर रहेको छ। त्यस्तै, ८ हजार ५१६ मिटर उचाईको ल्होत्से हिमाल आरोहणका लागि दुई समूहका १३ जना र ७ हजार ८६१ मिटर उचाईको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाईको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन्। अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ जना अरोही रहेका छन्। जसमा ११४ जना महिला र ४०४ जना पुरुष आरोही रहेको नायव सुब्बा निरौलाले जानकारी दिए।

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइन्छ। शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ। सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद् ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैनन्। यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीका सहयोगीसहित करिब ७०० जनाले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए। आरोहणको क्रममा नौ जनाको ज्यान गएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.