|

मुगु : मुगुको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकामा प्रतिनिधिहरुको विवादका कारण अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माणका कामको अझै भुक्तानी हुन सकेको छैन। 

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा सञ्चालित योजनाको नगरपालिकाले अनुगमन नगर्दा भुक्तानी हुन नसकेको हो। भुक्तानी नभएपछि रकम नपाएको वडा नम्बर ३ निगाले गाउँका नौलासिंह रोकायाले बताउँछन्। त्यही रकमले दशैँ खर्च गर्ने योजना रहे पनि जनप्रतिनिधिहरुको विवादले समस्या भएको रोकायाको भनाइ छ। दिनहुँ नगरपालिका धाउँदा पनि भुक्तानी पाउन नसकेको र कर्मचारीले गाली मात्र खाने अवस्था आएपछि पत्रकार सम्मेलन नै गर्नु परेको उनले बताए।

नगरका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको तर अनुगमन समितिले योजनाको अनुगमन नगर्दा भुक्तानी दिन नसकिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत ललितजंग मल्लले बताएका छन्। अघिल्लो आर्थिक वर्षमा नै एक जना प्राविधिक जतिखेर पनि योजना स्थल खटिने गरी अनुगमन समितिलाई योजना अनुगमन गर्न भने पनि योजना अनुगमन नगरिएको र २०७६ असोज १ गते नगर कार्यपालिकाको बोर्ड बैठकले सबै योजनाको अनुगमन गर्न सानो अनुगमन समितिले अनुगमन गर्न नसक्ने भन्दै अर्को समिति समेत बनाई असोज १० गतेभित्र दुवै समितिलाई अनुगमन प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो।

असोज १ गतेको बैठकमा उपप्रमुख सुन्तला रोकायाले निर्णय पुस्तिकामा हस्ताक्षर नगरी हिँडेपछि २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले रोकायालाई हस्ताक्षर गर्न निर्णय पुस्तिका दिएका थिए। तर, उपप्रमुख रोकायले केही नबोलि निर्णय पुस्तिका च्यातिदिएको र योजना अनुगमनको कार्य रोकिएको हो। यता, उपभोक्ताले योजनाको भुक्तानी कर्मचारीले रोकेर दुःख दिएको भन्ने आरोप लागिरहेको प्रमुख प्रशासकीय अधिकृत मल्लको गुनासो छ।

जनप्रतिनिधि आफैंले निर्णय लेख्ने र आफैं निर्णय च्यात्ने गर्दा कर्मचारी अनिर्णयको बन्दी बनको कर्मचारीहरु बताउँछन्। नगर प्रमुख हरिजंग शाहीले उपप्रमुखलाई प्राविधिक समेत खटिने गरी कार्ययोजनासहित योजना अनुगमन गर्न भने पनि उल्टै नगर कार्यपालिकाको बैठकको निर्णय च्यातेर योजना अनुगमन नगरी जनतालाई दुःख दिने गरेको दाबी गरे। आफुहरु निर्वाचित भएदेखि नगर कार्यपालिकाका कुल ३७६ बैठक बसेको जसमा उपप्रमुख रोकायले जम्मा पाँचवटा बैठकका निर्णय पुस्तिकामा मात्र सही गरेको नगर प्रमुख शाहीको जानकारी दिए। हरेक बैठकको अन्तिमसम्म बैठक कक्षमा बस्ने, भएका निर्णयमा असहमति सहमति केही नजनाउने तर निर्णमा हस्ताक्षर गर्ने बेला बैठक कक्ष छोडेर उपप्रमुख रोकाया हिँड्ने गरेको प्रमुख शाही बताउँछन्।

यता, उपप्रमुख रोकाया भने आफ्नो संयोजकत्वमा अनुगमन समिति हुँदा हुँदै अर्को समिति गठन गरिएको र उपप्रमुखका अधिकारमाथि हस्तक्षेप गरिएकाले आफुले निर्णय पुस्तिका च्यातेको बताउँछिन्। उनले भनिन्, ‘निर्णय मात्रै च्यातिने हैन, अब मान्छे पनि च्यातिन्छन्।’ तर, अनुगमन कार्र्य आफूभन्दा पनि प्राविधिक नभएकाले अघि बढ्न नसकेको उनको दाबी छ। 

वडा नम्बर २ का अध्यक्ष परेकराज चौलागाईले भने दशैँ नजिक आएकाले यस समस्यालाई समाधान गर्नुपर्ने बताउँछन्। ‘दशैँ नजिक आएको छ, उपभोक्ता समितिका दैनिक ४० जनाभन्दा बढीले धाएका छन्, त्यसको जिम्मेवार उपप्रमुख बन्नु पर्छ,’ उनले भने, ‘हलो अड्काएर गोरु चुट्ने काम गर्नु हुँदैन। आपसी मनमुटावका कारण जनताले दुःख पाउने काम गर्नु हुँदैन।’

नगरपालिकाका चौध वटा वडाहरुमा आर्थिक वर्ष २०७६/७६ मा सञ्चालन गरिएका १४२ वटा योजनाको अनुगमन हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.