|

काठमाडौं नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा संग्रहको विमोचन भएको छ। नेपाल म्यानमारमैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे।

घिमिरेले भने - ‘धेरै नेपाली रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरूले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन्। तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ।’

कृतिबारे समीक्षा गर्दै समालोचक महेश पौडेलले भने - ‘देश छाडेका नेपालीको हृदय गाँसिएको छ यो कृतिमा। नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो छ।’

पौडेलले थपे - ‘यात्रा साहित्यमा यो एउटा अब्बल कृति हो । यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको छ।’

साहित्यकार मोमिलाले भनिन् - ‘नयाँघरेको आफ्नो लेखकीय शैली तनक्खामा राम्रोसँग आएको छ। नेपालीहरुो जीवनशैली, संस्कृति र सभ्यताको राम्रो शल्यक्रिया भएको छ।’

कृतिकार युवराज नयाँघरेले भने - ‘आफ्नो मूलथलो छोडेपछि नेपालीहरूको समग्र चरित्र र पहिचान कस्तो हुँदोरहेछ भन्ने अध्ययन र निष्कर्ष दिने मेरो प्रयास थियो। तनक्खामा बर्मामा रहेका नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना पनि गरेको छु।’

नयाँघरेले थपे - ‘बर्मामा नेपालीले कृपा होइन कदर पाएका छन्, दया होइन सम्मान पाएका छन्, बहिस्कार होइन स्वीकारको वातावरण पाएका छन्। म्यानमारमा नेपालीको पहिचान ज्यादै सम्मानित छ। हिजो गाई पाल्न गएकाहरु आज ठूलो–ठूलो कारोबारी भएका छन्। तनक्खामा नेपालीको सबै पुस्ताको सुक्ष्म वर्णन छ।’

विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यानमारमैत्री परिषद्का तुलसी ज्ञवालीलगायतले मन्तव्य राखेका थिए।

नयाँघरेको यो १६औं कृति हो। मदन पुरस्कार प्राप्त नयाँघरेको यो कृति रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ। उनी निबन्ध र नियात्राका लोकप्रिय र सिद्धहस्त स्रष्टा मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.