बिलिङ समस्याले सुदूरपश्चिममा सञ्चालन भएन सुपथ मूल्य पसल

|

बैतडी : नेपालीको मुख्य चाडपर्व सुरु भएका छन्। तर, सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशमा भने अझै सञ्चालनमा आउन सकेका छैनन्। यस वर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भए पनि सुदूरपश्चिममा भने अझै सञ्चालनमा आउन नसक्दा उपभोक्ता समस्यामा परेका छन्।

विगतका वर्षमा  दशैंतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो। तर, सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझै खुल्न नसकेका साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले बताए।

साल्ट ट्रेडिङ कर्पोरेशनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कर्पोरेशनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दीपायल, डडेल्धुरा र  बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो। यस वर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भए पनि ३ हप्ता बढी भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अझै आउन सकेका छैनन। दशैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ।

उपभोक्तालाई सहुलियत मूल्यमा वस्तु बिक्री गर्ने गर्ने उद्देश्यसहित सञ्चालनमा आउने सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा समस्या भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका सूचना अधिकारी जोशीका अनुसार अनलाईन बिलिङले गर्दा समस्या भएको हो।  'आन्तरिक राजश्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री बिक्री गर्न भनेको छ' उनले भने 'सुदूरपश्चिममा साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा अनलाइन  बिलिङ काट्न समस्या छ।'

उनका अनुसार कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायतका उपकरणको समस्याले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न सकिएको छैन।  'यस विषयमा आन्तरिक राजश्व कार्यालय र मुख्यमन्त्रीसँग अनुरोध गरेका छौँ' उनले भने, 'अहिले हाते बिल काटेर पछि धनगढीमा एकै पटक इन्ट्री गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ।”

आन्तरिक राजश्व कार्यालयले ३५ करोडभन्दा माथिको कारोबा गर्ने संस्थालाई अनिवार्य अनलाईन  बिलिङ गरेको उनले बताए। 'कम्युटरमा दक्ष जनशक्तिसमेत नहुँदा समस्या भएको छ' उनले भने।

सुपथ मूल्य पसलको लागि नून यसअघिकै मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआएकाले सम्बन्धित डिपोमा नपठाएको साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीले जनाएको छ।

महँगो मूल्यमा सामान किन्दै उपभोक्ता 

दशैं सुरु हुँदासमेत सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा महँगो मूल्यका सामान खरिद गर्नुपर्दा यहाँका स्थानीय बासिन्दा आक्रोशित भएका छन्। चाडपर्वलाई लक्षित गरि खुल्ने सुपथ मूल्य पसल दशैं सुरु हुँदासमेत सञ्चालनमा नआउँदा  उपभोक्ता आक्रोशित भएका हुन्।

चाडपर्वको बेला  सहुलियत मूल्यमा सामान किन्नको लागि सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै हात फर्किनुपरेको स्थानीय वसन्त विष्टको भनाइ छ। 'सुपथ मूल्यका पसल सञ्चालन नहुँदा बजारमा तोकिएभन्दा महँगो मूल्यका सामान किन्नुपरेको छ। नागरिकले पाउने सुविधाबाट समेत बञ्चित भएका छन्' उनले भने

सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै फर्किनुपरेको पाटनका स्थानीय दिनेश विष्टले बताए। सुपथ मूल्य पसलमा बजारको दररेटभन्दा कम्तीमा पनि १० रुपैयाँ कममा दैनिक उपभोग्य वस्तु  उपलब्ध हुने गरेको छ। बजारमा हाल चिनी ९० देखि १०० सम्म  र नून २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ। सुपथ मूल्य पसलमा भने चिनी प्रतिकिलो ७२ र नून प्रतिकिलो १८ रुपैयाँमा बिक्री हुन्छ।

डिपो कार्यालयका कर्मचारी अन्योलमा 

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालयका कर्मचारी सुपथ मूल्य पसल सञ्चालनमा नआँउदा अन्यौलमा छन्। डिपोमा नून भएपनि सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन नदिएकाले बिक्री गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनका प्रमुख नरेन्द्र धामीले बताए। सुपथ मूल्य पसल सञ्चालन कहिले आउछ भने सोध्ने गरेको र सञ्चालनमा  नआएकोले फर्किने गरेका छन्।  'माथिवाट सुपथ मूल्य सपल सञ्चालनको अनुमती नआँउदा भएको सामानसमेत बिक्री गर्न समस्या छ' उनले भने।

पाटनमा हाल ३८० बोरा नून मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा नआएको डिपो प्रमुख धामीको भनाइ छ। सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्वलाई लक्षित गर्दै हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। गत वर्ष पाटनमा दशैंको घटस्थापना भन्दा १३ दिन अगाडि असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.