|

सिन्धुली : सिन्धुलीमा बस्तीमा खस्न लागेको ठूलो ढुंगा सेनाले बम पड्काए फुटाउन सुरु गरेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ बसेरी गणेशथानको बस्तीमाथि जंगलमा रहेको ठूलो ढुंगा वर्षा कारण बस्तीमा झर्ने जोखिम बढेपछि सेना लगाएर फुटाउन सुरु गरिएको हो।

सुनकोसी गाउँपालिका र प्रदेश ३ सरकारको पहलमा बर्द बहादुर गण सिन्धुलीले बम पड्काएर फुटाउन थालेको हो। बर्द बहादुर गण सिन्धुलीका काप्टेन सन्तोष पाण्डेको नेतृत्वमा खटिएको ३५ जना नेपाली सेनाको टोलीले बुधबार बिहानदेखि ढुंगा खोप्ने काम सुरु गरेको स्थानीय दूधराज पुलामी मगरले बताए।

सुनकोसी गाउँपालिका-१ बसेरी गणेशथानमा २२ घरधुरी रहेको छ। बस्तीमाथि रहेको ठूलो ढुंगा वर्षाको पानीले झर्ने जोखिम बढेपछि स्थानीय त्रासित थिए। ‘हाम्रो बस्तीमाथि धेरै पहिलादेखि नै यो ढुंगा छ। केही वर्ष अगाडि पनि यही ठूलो ढुंगा मुनी रहेका साना ढुंगा झरेर तीन चार वटा घर नै भत्काएको थियो। यो ढुंगा ती ढुंगाभन्दा पनि ठूलो छ। ढुंगा झर्दा मानवीय र भौतिक दुवै क्षति हुन सक्ने जोखिम बढेपछि सेनाले फुटाउन सुरु गरेको छ’ स्थानीय मगरले भने।

ढुंगा धेरै ठूलो भएकाले फुटाउन करिब ४,५ दिन लाग्ने क्याप्टेन सन्तोष पाण्डेले बताए। ‘बस्तीमाथि छ ढुंगा, एकै पटक फुटाउँदा बस्तीमै पुग्ने खतरा छ। सा-साना टुक्रा पारेर फुटाउने तर्खरमा छौँ। अहिले बम राख्नका लागि प्याल खोप्न सुरु गरेका छौँ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.