|
फाइल फोटो

सोलुखुम्बु : थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिटपछि घाइते बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले उक्त घटनाप्रति ध्यानाकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो।

गाउँपालिका अध्यक्ष असिम राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा आफ्नो छोराछोरीलाई उचित शिक्षा, हेरचाह र माया दिई अभिभावकत्व प्रदान गर्नुपर्ने बाबुबाटै कुटपिट गरि घर निकालासमेत गरेकाले ती बाबुलाई कानुनअनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख छ। वडा कार्यालयमा दर्ता भएको निवेदनमाथि छलफल हुँदा बालकको तत्काल उपचार गर्नुपर्ने भएकाले गाउँपालिकाले नै आवश्यक खर्च व्यवस्थापन गरि जिल्ला अस्पताल फाप्लु पठाएको पालिका अध्यक्ष राईले बताए।

बुधबार जारी विज्ञप्तिमा नै उक्त बालकको उपचार खर्च न्यायीक समितिको सिफारिसको आधारमा गाउँपालिकाले नै बेहोर्नेसमेत उल्लेख गरिएको छ। गाउँपालिका ६ मुक्लिका तीर्थ राईले आफ्नै ९ वर्षका छोरा संयोकलाई निर्घात कुटपिटका साथै स्टिल झुसले ढाँडमा रगडेर नुन, खोर्सानी र सिस्नो पानी लगाएका थिए। चरम यातना पाएका ती बालकको ढाँडमा ठूलो घाउँ बनेको छ।

असोज ९ गते घटना भए पनि १३ गते मात्रै सार्वजानिक भएको थियो। ती बाबुले कान्छीआमा सँग मिलेर जेठी श्रीमती पट्टीका तीनजना छोराछोरीलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको खुलासा भएको छ।

ती बालबालिकाले दिएको बयानको आधारमा बाबुको कुटाइबाट १० महिनाअघि १५ वर्षीया छोरीको समेत हात भाच्चिएको थियो। मदिरापान सेवन गरी घरमा आउँने र विभिन्न कठिन श्रममा लगाउँदा बालबालिकाले काम गर्न नसकेपछि डोरीले बाध्ने, खोर्सानीको धुँवा लगाउँने र मरासन्न हुने गरी यातना दिने गरेको पीडित बालकका दिदी अपना राईले बताइन्। आर्थिक अवस्था अति न्यून भएका ती बालबालिकाको खर्च नहुँदा उपचारमा समस्या आउन सक्ने अवस्थालाई समेत गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले बताए।

मंगलबार मात्रै जिल्ला अस्पताल फाप्लुमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले ती बालकको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने बताएका थिए।

हुनसक्ने कानुनी कार्वाही

बालबालिका सम्बन्धी ऐनको परिच्छेद ८ को दफा ६६ को उपदफा २ को खण्ड (घ) र (ङ) निजले छोराछोरीमाथि गरेको व्यवहारप्रति आकर्षित हुने देखिन्छ। खण्ड (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र (ङ) मा शारीरिक चोट पटक वा असर पुर्‍याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्यालाई बालबालिका विरुद्धको कसुर ठानेको छ। तीर्थ राईले छोराछोरीलाई अमर्यादित व्यवहारसँगै शारीरिक चोटपटकसमेत पुर्‍याएका छन्।

उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यक्तिलाई सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिवानाको व्यवस्था किटानको साथ उल्लेख गरेको छ। उल्लेखित व्यवस्थाअनुसार त्यस्ता व्यक्तिलाई पचास हजार रुपैयासम्म जरिवाना र एक वर्षसम्म कैद हुन्छ। तर, यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधिसहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई तत्कालको लागि छाडिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.