|

सुर्खेत : सुर्खेतका नास्ता तथा मिठाइ पसलेले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेवाड गरेको भेटिएको छ। बजार अनुगमनका क्रममा न्यूनतम मापदण्ड पूरा नगरेका सुर्खेतका दुईवटा मिठाइ पसलमा सिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको बजार अनुगमनका क्रममा मिठाइ पसल मापदण्डअनुसार नभएपछि मिठाइ पसलमा सिलबन्दी गरिएको हो।

चाडबाडको अवसरमा पैसा कमाउने नाउमा मिठाइ पसलले न्यूनत मापदण्ड पनि पूरा नगरी उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै प्रशासनले दुईवटा पसलमा सिलबन्दी गरेको हो। मंगलगढी चौकमा रहेको सगुन स्विट हाउस र कोशेली मिठाई पसलमा प्रशासन कार्यालयले सिलबन्दी गरेको हो।

यसैगरी, मंगलगढी चौक जुम्लारोडमा रहेको लुम्बीनी मिष्ठान भण्डारलाई २४ घण्टे अल्टिमेटम र जिल्ला प्रशासनमा हाजिर हुने गरी चेतानीसहित छाडिएको छ।सुर्खेतको व्यस्त बजार मंगलगढी चौकमा संचालनमा रहेका सगुन स्विट हाउस, लुम्बिनी मिष्ठान भण्डार र कोशेली मिष्ठान पसलमा जिल्ला प्रशासन कार्यालयले छड्के गरेको थियो। 

मिठाइमा बढी रंग प्रयोग परेको, सरसफाइका न्यूनतम नियम पनि पूरा नगरेको, मिठाइमा मच्छर र किरा मरेको अवस्थामा भेटिएको, भाँडा फोहोर भएको, किचेन फोहोर भएको लगायतका न्यूनतमा मापदण्ड पूरा नगरेको भेटिएकाले पसलमा सिलबन्दी गर्नु परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उक्तम शर्माले जानकारी दिए।

‘रसभरीमा मच्छर मरेका भेटिएका छन्, खानेपानीको ठूलो ड्रममा तेल जस्तो चिल्लो पदार्थ तैरिएको अवस्थामा देखिएको छ, पुराना हापपाइन्टमा काँचो समोसा बनाइएको छ,’ अधिकृत शर्माले भने ‘यो त हद भयो, पैसा कमाउने नाउमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड हो।’

तीनपटकसम्म सुधार गर्न निर्देशन दिए पनि अटेर गरे पछि सिलबन्दी गर्नुपरेको शर्माको भनाइ छ। उनले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको स्वास्थ्यका लागि कुनै पनि सम्झौता नगर्ने बताए। नागरिकले भने प्रशासनबाट अनुगमन चाडबाडमा मात्र नभई नियमित रुपमा गर्नुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कानुनअनुसार कार्वाही हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.