|

नेपालगञ्ज : नेपाल तरुण दल बाँकेले आह्वान गरेको अनिश्चितकालिन बाँके बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ। तरुण दल बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्विजय जङ्ग शाहलाई प्रहरीले विना कारण पटक–पटक पक्राउ गरेको भन्दै बन्द आह्वान गरेको हो।

बन्दकर्ताले विपी चोकमा टायर बालेर विरोध जनाएका छन्। बन्दका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी साधन सञ्चालन हुन सकेको छैन भने नेपालगन्ज–कोहलपुर सडक खण्डमा समेत यातायात ठप्प भएको छ। नेपालगन्जमा फाट्टफुट्ट मोटरसाइकल सञ्चालनमा आएपनि ठूला सवारी साधन सञ्चालन नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तरुण दलका नेता, कार्यकर्ता कोहलपुर चौराह र नेपालगञ्जका विपी चोक र धम्बोझी चोकमा भेला भएर सवारी साधन सञ्चालनमा रोक लगाएका छन्। बन्दकर्ताले रिक्सा र ई–रिक्सा सञ्चालनमा समेत कडाई गरेको प्रहरीले जनाएको छ।

युवा संघका केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएयता कोहलपुर प्रहरीले आफ्ना नेता, कार्यकर्तालाई बिना कारण पक्राउ गरि मानसिक यातना दिने गरेको भन्दै नेपाल तरुण दल बाँकेले बिरोध जनाएको हो।

घटनासँग कुनै सम्बन्ध नरहेका आफ्ना क्षेत्रीय अध्यक्षलाई बारम्बार पक्राउ गरिनु नियोजित रहेको भन्दै तरुण दल बाँकेले बिरोध स्वरुप शनिबार बेलुका ६ बजेदेखि अनिश्चितकालका लागि कोहलपुर बन्द घोषणा गरेको थियो।

नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष दिग्विजय जङ्ग राणालाई कोहलपुर प्रहरीले पुनः पक्राउ गरेपछि तरुण दल सडकमा उत्रिएको हो। यसअघि खुकुरी काण्डमा अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएर छोडेपनि पुनः अनुसन्धानका लागि भन्दै प्रहरीले राणालाई शनिबार पक्राउ गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.