|

पर्सा : वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले स्थानीय सरकारलाई प्राप्त अधिकार संघ सरकारले फिर्ता लैजाओस् भनेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जको पहिलो अधिवेशन तथा पदस्थापन समारोहमा बोल्दै नगरप्रमुख सरावगीले यस्तो बताएका हुन्।

नेपालको संविधान र कानूनले स्थानीय सरकारलाई दिएको अधिकार अझ थोरै भएको भन्दै प्रदेश २ को एक मात्र महानगरका नगरप्रमुख सरावगीले त्यो अधिकार संघ सरकारले फिर्ता लैजाओस् भनेका छन्। गएको स्थानीय निर्वाचनका समयमा 'मेरो कसम' भनी जनतासामु १४ बुँदे पर्यटन प्रवर्द्धनको एजेण्डा प्रस्तुत गरेका नगरप्रमुखले चुनाव जितेर गएपछि पर्यटन प्रवर्द्धनमा केही नगरेको अन्य वक्ताहरूले उनको कटाक्ष गरेपछि उनले आफ्नो बचाउ गर्दै यस्तो बताए।

अन्तिममा कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख सरावगीले दोष केन्द्र सरकारतर्फ देखाएर आफू पन्छिए। उनले आफ्नो बचाउ गर्दै भने ‘संघ सरकारले अधुरो अधिकार दिनुभन्दा बरू स्थानीय तहलाई दिएको अधिकार फिर्ता लिएर जाओस्।' 'कागजमा सबै अधिकार छ तर व्यवहारमा अधिकार छैन' उनले दावी गरे।

तराईमा पनि पर्यटन प्रवर्द्धनको सम्भावना

पछिल्लो समयमा हिमाल र पहाडमा मात्र होइन, समथल भूगोलमा पनि पर्यटनको राम्रो अवसर रहेको कुरा चौतर्फी उठ्न थालेपछि नीजि क्षेत्रबाट पनि पर्यटन प्रवर्द्धनमा जोड दिने भन्दै वीरगन्जमा होटल तथा पर्यटन व्यवसायी संघ गठन नै भई पर्यटन प्रवर्द्धनका कुरा उठान गर्न थालेको छ।

सोही क्रममा होटल तथा पर्यटन व्यवसायीहरुको पहिलो अधिवेशनले स्थानीय क्लासिक होटलका संचालक बुद्धि (हरि) पन्तको अध्यक्षतामा पहिलो कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। १५ सदस्य सो समितिको पहिलो अधिवेशन तथा पदस्थापन समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता लगायतले पर्यटन प्रवद्र्धनमा सबैको सहकार्य हुनु पर्नेमा जोड दिए।

अझ सबैभन्दा बढी भूमिका स्थानीय तहहरूको हुनु पर्ने भन्दै उनीहरूले नगरप्रमुख सरावगीलगायतले निर्वाचनका समयमा गरेका प्रतिबद्धता नभुल्न भन्दै प्रतिबद्धताका बुँदासमेत उल्लेख गरी पर्यटन प्रवर्द्धनमा लाग्न सुझाव दिए।

मधेश तराईमा आउने पर्यटकका लागि नेपालको ऐतिहासिक स्थल, मठ मन्दिर र सांस्कृतिक सम्पदा अनि पर्सा राष्ट्रिय निकुञ्ज जस्ता प्रदेश २ मा ४०० आधारहरु भएको बताउँदै सुनको अण्डा पार्ने कुखुरा झै समथल क्षेत्रमा पनि पर्यटनको सम्भावना रहेकोमा कार्यक्रमका वक्ताहरुले जोड दिएका दिए।

पर्सागढी नगरपालिकामा नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको ठाउँसमेत रहँदा पनि यसको प्रचार/प्रसारमा कमी भएको उनीहरूको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.