आवश्यकताभन्दा धेरै मासु उपभोग नगर्न डाक्टरको सल्लाह

|

पोखरा : यस वर्षको दशैंलाई पोखराका लागि १५ हजार हाराहारीमा भेडाच्यांग्रा र १० हजार खसीबोका आइसकेका छन्। च्यांग्रा तिब्बत, मुस्ताङ, मुगु र डोल्पादेखि भेडा,च्याङ्ग्रा पोखरा ल्याइएका हुन्।

व्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङग्रा काठमाडौं लैजाने तयारी छ। ‘खासातिरबाट यसपाली च्याङग्रा आएको छैन। काठमाडौंका अधिकांश व्यापारी पनि यतै छन्’, उनले भने, ‘मुस्ताङको च्याङग्राको माग अहिले निकै बढेको छ। धेरैजसो च्याङग्रा काठमाडौं जान्छ।’ मुस्ताङका च्याङग्रा पोखरा हुँदै चितवन, नारायणगढ, बुटवलका शहरमा पुग्ने गरेका छन्।  

एउटा च्याङग्राको मूल्य २० देखि ३२ हजार रुपैयाँसम्म पर्छ। दशैंमा अत्याधिक खोजी हुने हिमाली क्षेत्रका च्याङग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन्। ‘दशैंमा च्याङग्रा किन्ने चलन छ। वर्षमा एकपटक मात्रै आउने भएकाले पनि मान्छेहरु हुरुक्कै हुन्छन्’ खड्कीले भने, ‘हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ।’

पोखरामा दशैंमा ५० करोड रुपैयाँ हाराहारीको च्याङग्राको मासु बिक्री हुन्छ। सबै गरेर पोखरामा एक अर्ब ५० करोडको मासु खपत हुने कास्की मासु ब्यवसायी समितिले जनाएको छ। ब्यवसायीका अनुसार दशैंमा एक लाख ८० कुखुरा बिक्री हुने अनुमान छ। यसबाहेक राँगा, भैँसी, बंगुरलगायतको मासु पनि बिक्री हुन्छन्। यसबाहेक पोखरामा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका, च्याङग्रा र चार अर्ब रुपैयाँको कुखुराको मासु बिक्री हुन्छ।

वर्षमा करिब एक लाख वटा खसीबोका, २५ हजार वटा भेडा च्याङग्रा र ६६ लाख वटा कुखुरा बिक्री हुन्छन्। पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका व्यवसायी समितिका ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो।

भन्सार मूल्य र खसीबोकाकै मुल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए। ‘भारतबाट आउने खसीबोकाको मूल्य नै बढी भैसक्यो। त्यसमाथि भन्सार पनि ५०० रुपैयाँ बढ्यो’, उनले भने, ‘नेपाली उत्पादनलाई प्राथमिकता दिऔं भनेर आयात घटाएका छौं। अहिले अधिकांशले नेपालकै खसीबोका किन्न पाउँछन्।’ पोखरामा भारतसहित दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्जलगायतका जिल्लाबाट खसीबोका आयात भइरहेको छ।

मासुका पारखीलाई डाक्टरको यस्तो सल्लाह

नेपालीको महानपर्व बडादशैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरूले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा सितल अधिकारीले  पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताए। अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनको भनाइ छ। मुख्य रुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ।

रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उनले सुझाव दिए।

धुँवामा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ। त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन्। अलग÷अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ। धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन्।

क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउँछन्। चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनकोे सुझाव छ। विज्ञहरूले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन्। चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरूले सुझाएका छन्।

खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने चिकित्सकको अध्ययनले देखाएको छ। राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने ठाकुरको छ। पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उनले यस्ता खानेकुरा नखान सुझाव दिए।

खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ। पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भाबना देखिएको छ। यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन्।

नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ। त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ।
चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ। दशैंका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरूको सुझाव छ।

मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन्। मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ।

मासु खानै पर्दा ताजा नै खानुपर्ने चिकित्सकको सुझाव छ। मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ। यी दुबै तरिका हानिकारक हुने उनको भनाइ छ। फ्रिजमा राख्दा कडा संक्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै डा अधिकारीले भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउँछन्।

डा. अधिकारीले भने, ‘मासु धेरै थुपार्न हुँदैन, बोसो र नुनको मात्रा बढाउनु हुँदैन। मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ।’ अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उनको भनाइ छ।

बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.