भट्टीले नै लियो परिवारका चारसहित पाँचको ज्यान

|

बारा : बाराको फेटा गाँउपालिका-४ बतराका जोग मुखिया बिनको घरमा अवैध घरेलु मदिरा भट्टि सञ्चालन भएको खबर पाएपछि १२ जनाको प्रहरी टोलीले घर घेरेर तयारी मदिरा, कच्चा पदार्थ र भट्टी नष्ट गर्‍यो। स्थानीय प्रशासनले १५ दिनअघि मदिरा भट्टी नष्ट गरेको विनको घरमा बुधबार राती ५ जनाले ज्यान गुमाए।

एक परिवारका चारसहित पाचजनाको शव मदिरा भट्टीभित्र प्रहरीले राति ८ बजेपछि भेट्टायो। मृत्यु हुनेमा बालिकादेखि ज्येष्ठ सदस्यसमेत थिए। मृत्यु हुनेमा ४० वर्षीय जोग मुखिया बिन, उनकी ३० वर्षीया पत्नी लालमुनी देवी, भाइ महेन्द्र मुखिया र १२ वर्षीया छोरी सुमनकुमारी र भारतीय मजदुर ५० वर्षीय गुल्सन माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कसरी भयो मृत्यु

ट्यांकीभित्र बालिकासहित शव भेटिएको घटनाको बारा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी मृत्युको कारण के हो भन्ने बारेमा अझैसम्म अन्तिम निष्कर्षमा पुग्न सकेको छैन। निसासिएर मृत्यु भएको प्रहरीले प्राम्भिक अनुमान गरेको छ।

‘शवको प्रकृति हेर्दा निसासिएर मृत्यु भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकाशराज खनालले भने-‘शवको पोष्टमार्टन रिर्पोट आएपछि मात्र कारण खुल्नेछ।’ शवमा चोटपटक वा रगतसमेत नदेखिएको प्रहरीले जनाएको छ।

करेन्ट प्रवाह भएर मृत्यु भएको अनुमान गरिए पनि घटनास्थलमा प्रहरीले विद्युत लाइन प्रयोग भएको नभेटिएको बताएको छ। स्थानीयले विद्युत लाइन हुक प्रयोग गरेर बत्ती बाल्ने गरेकाले करेन्ट लागेको हुन सक्ने अनुमान गरेका थिए।

ड्रमको सट्टामा ट्याकी

प्रहरीले मदिरा भट्टी कडाइ गरेपछि भारतीय नागरिक गुल्सन माझीको ‘डिजाइन’ मा बाहिरबाट हेर्दा नदेखिने र सुत्ने कोठाबाट पस्न मिल्ने २ फिट आकारको प्वाल बनाइएको थियो। त्यहाँबाट प्रवेश गरेर भट्टीबाट रक्सी बनाउन सुरु गरिएको थियो। कोठामा दुईवटा पक्की ट्यांकी निर्माण गरिएको छ। एउटा भट्टीमा रक्सी बनाउने गुडले भरिएको छ। 

'बुधबार मध्याह्न मात्र कच्चा पदार्थबाट रक्सी बनाउन सुरु गरिएको रहेछ’, सिमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक अशोक कुर्मीले भने- 'इँट्टाले बारिएको कोठाभित्रबाट पस्ने अवस्थाबाट निसासिएको हुन सक्छ।’

प्रहरी टोली शव निकाल्न पस्ने क्रममा दुईजना प्रहरी भित्र पस्दा निसासिएर बाहिर निस्केका थिए। शव निकाल्नसमेत समस्या भएपछि जनप्रतिनिधिसहित पुगेको प्रशासनको टोलीले दुवैतर्फका पर्खाल भत्काएर शव बाहिर निकालेको थियो। आपसमा खप्टिएको अवस्थामा शव फेला परेको थियो। शव जिल्ला अस्पताल कलैयामा राखिएको वडा सदस्य केशव मुखियाले बताए।

बुधबार राति नै प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकाशराज खनालसहित शसस्त्र प्रहरी, स्वास्थ्यकर्मी, विद्युतका कर्मचारी पनि घटनास्थल पुगेका थिए।

गाँउ शोकमा

एकैघरमा पाँचजनाको मृत्यु भएको घटनापछि बतरा गाँउ शोकमा डुबेको छ। घरमा स्थानीयको भीड छ। गाँउलेका आँखा रसाएका छन्। आश्चर्यजनक घटना भएपछि महिला जम्मा भएर रोइरहेका दृष्य देखिन्थ्यो। साना बालबालिकाको भविष्य के होला भनेर स्थानीय चिन्तित छन्। प्रहरीले घटनास्थललाई निगरानी गरिरहेको छ। प्रहरीले जनप्रतिनिधिको उपस्थितिमा घरको मुल ढोकामा ताला लगाएको छ।

बालबालिकाको विचल्ली

भान्सामा पाकेको खाना भान्सामा नै छ। भान्सामा भात र तरकारी पकाएर राखिएको छ। खाना पाकिसकेपछि घटना भएको सहजै अनुमान लगाउन सकिन्छ। घरमा खाना तीन दाजुभाइ रहेको विन परिवारको जेठा दाइ नगेन्द्र मुखिया विन घरबाहिर थिए। घरबाहिर मजदुरी गएका नगेन्द्र घटनाको खबर पाएपछि घर फर्किएका छन्।

उनी भाइहरूसँग छुट्टिएर घरछेउमै कच्ची घर बनाएर बसेका छन्। पक्की घरमा जोगा र महेन्द्र बस्दै आएका थिए। बालबच्चासहित १३ जनाको परिवारमा घरमुली जोगा, पत्नी लालमुनी र महेन्द्रको मृत्यु भएसँगै बालबालिकाको विचल्ली भएको छ। ४ बालिकासहित परिवारका ७ जना बाचेका छन्।

प्रदेश सरकारको चासो

घटनालाई जिल्लास्थित प्रशासनले गम्भीर रूपमा लिएको छ। दुःखद् घटनापछि प्रदेश सरकारले पनि चासो दिएको छ। वडा अध्यक्ष वकिलप्रसाद यादवले स्थानीय सरकार र प्रदेश सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन्। प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले टेलिफोन गरेर घटनाबारे जानकारी लिएको र भोली घटनास्थल आउने तयारी गरेको वडा अध्यक्ष यादवले बताए।

राहत दिनेबारे छलफल

घटनापछि मृतक परिवारलाई राहत दिने बारे छलफल गरिने वडा अध्यक्ष यादवले बताए। बालबालिकाको पालनपोषणका लागि समस्या आउने देखिएको भन्दै गाँउपालिकाबाट राहत दिने विषयमा छलफल गरिने उनले बताए। 'प्रदेश सरकारले पनि राहत दिन सक्छ' उनले भने। जनप्रतिनिधिको रोहबरमा शव बुझेर विहीबार नै दाहसंस्कार गरिने भएको छ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.