|

डडेल्धुरा : चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटना नियन्त्रणका लागि डडेल्धुरामा प्रहरी–प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। दशैंतिहारको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना नियन्त्रणका लागि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।

जिल्ला सुरक्षा समितिको बैठक बसेर जिल्लामा आउने सुरक्षा चुनौतीका विषयमा विश्लेषण गरेर त्यहीँअनुरुप ‘विषेश सुरक्षा योजना’ निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। चाडपर्वको समयमा आपाराधिक घटना हुन नदिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिइएको उनले बताए।

‘अपराधिक घटना हुन नदिनका लागि हामीले सुरक्षकर्मीहरु परिचालन गरेका छौँ’ प्रजिअ पौडेलले भने, ‘चोरी डकैती, जुवातासको नियन्त्रणमा पूर्व सतर्कता अपनाएका छौँ।’ चाडपर्वलाई मर्यादित ढंगले मनाएर शान्ति सुरक्षा कायम गर्नमा सबैमा उनले आग्रह गरे।

चारबुँदे सुरक्षा योजना

दशैंतिहारमा हुने अपराधिक घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले चारबुँदे सुरक्षा योजना निर्माण गरेको छ। नेपालीका महान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै प्रहरीले चारबुँदे सुरक्षा योजना निर्माण गरेको हो।

ठगी, लुटपाट, चोरीडकैतीविरुद्धको सुरक्षा योजना निर्माण गरिएको छ। सवारीसाधन र यात्रुलाई ध्यानमा राखेर सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

‘दशैंतिहारमा अवैधरुपमा चौपाय विक्रीवितरण गर्ने गरेको देखिन्छ। त्यसलाई र जुवातास निर्माण गर्नको लागि पनि सुरक्षा योजना तयार पारेको छौँ’ उनले भने,‘मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेर दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गरेर चारबुँदे सुरक्षा योजना निर्माण गरका हौँ।’ निर्माण गरिका चारबुँदे सुरक्षा योजना लागू गरिसकिएको उनको भनाइ छ।

चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, तस्करी, चोरी निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

जनशक्ति र गाडी थप

प्रदेश प्रहरी कार्यालयले डडेल्धुराका लागि थप केही जनशक्ति पठाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एउटा गाडीसमेत  प्रदान गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

अन्य समयभन्दा सुरक्षा गस्ति बाक्लो बनाइएको उनको भनाइ छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक घटना नियन्त्रणका लागि जिल्लाभरका मातहत प्रहरी युनिटले सुरक्षा गस्ती बाक्लो बनाएको छ।

सवारी सुरक्षा जाँचमा कडाइ

यात्रुको धनजनको सुरक्षाका लागि राजमार्गमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सवारी सुरक्षा जाँचमा कडाइ गरिरहेको डीएसपी न्यौपानेले बताए।

प्रहरीले आपराधिक घटना हुने सम्भावित क्षेत्रहरुको पहिचान गरी सुरक्षा निगरानी समेत बढाएको छ। ‘हाइवेमा धेरै ड्युटी खाएका छौँ। सवारीसाधन जाँचमा कडाइ गरिरहेका छौँ’ उनले भने,‘मोटर साइकलमा गएर पनि छड्ने रुपमा चेकजाँच गर्दैछौँ। लामो दूरीको गाडीमा सवारी चालक दुइटा छन् कि छैनन् त्यो हेर्दैछौँ।’

उनले प्रहरीको सुरक्षा चेकजाँचमा सबैले सहयोग गर्न आग्रह समेत गरे। अपराधिक घटना नियन्त्रणका लागि सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दशैंतिहारमा दुर्घटना हुने गरेका छन्। त्यस्ता दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी तथा सुरक्षा निकायले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने गर्दछन्। यो पटक पनि चाडपर्वका बेला जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ। डडेल्धुरामा चाडपर्वलाई मध्यनजर गरेर विभिन्न सुरक्षा योजना बनाइएको जिल्ला ट्राफिक कार्यालय, डडेल्धुराले जनाएको छ।

‘विभिन्न स्थानमा स्थानिय तहको सहकार्यमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड लगाएका छौँ।’ ठाँउठाउँमा चालक र सहचालकलाई परीक्षणसमेत दिने गरेका छौँ’ ट्राफिक प्रमुख दिलबहादुर खत्रीले भने ‘प्रत्येक सवारी रोकर क्षमताभन्दा बढी यात्रु तथा मालसमान हालेको चेक र मादकपदार्थ सेवन गरेको समेत कडा रुपमा चेकिङ समेत गरिरहेका छौँ।’

नागरिक सहायता कक्ष

त्यस्तै डडेल्धुरा बसपार्कमा सवारी साधनको नियमन गरी दुर्घटना न्यूनीकरण गर्दै यात्रुलाई सहज यात्राको लागि जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा ‘नागरिक सहायता कक्ष’ समेत स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ५२ नं. गुल्मको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.