भ्रमणका लागि अनुकुल समय, मौसमले  भने दिएन साथ

|

म्याग्दी : राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन्।

विगत ५ दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन्।

मौसम प्रतिकूल भए पनि शरद ऋतुको सुरुवातसँगै अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बृद्धि हुँदै गएकोले यहाँका होटलहरू खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताए।

कास्कीको पोखरा-नयाँपुल, घान्द्रुक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम वेनी-तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी-महरेडाँडा हुँदै पुनहिलमा जानेमा अधिकांश चीन, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायतका मुलुकका रहेको पर्यटक भ्रमणका लागि आएका इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइरहेको छ।

‘दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्। कास्की क्षेत्रबाट आउने अत्याधिक छन्’ उनले भने। यहाँ आएका पर्यटक दुई/तीन दिनसम्म घोडेपानी, पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन्। ९ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमश्रृंखलाको दृश्यावलोकन गर्न नपाएका बताए।

समुन्द्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमश्रृंखला, मगर जातिको संस्कृति र रहन-सहन, विविध प्रजातिका पशुपंक्षी, वनस्पतिको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले जानकारी दिए।

‘मौसम खरावीका कारण अन्य पर्यटकीय क्षेत्रमा जान नसकेका समेत आएका छन्’ उनले भने। मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन ब्यवसाय गरिबसेका छन्। चार दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधासम्पन्न होटलहरू बनेका छन्। 

पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल ब्यवसायी समितिले सरसफाइमा नमुना  बनाउने प्रयास गरिरहेको छ। पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ। विश्वको उत्कृष्ट १० गन्तब्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रा मार्गअन्तर्गत घोडेपानी १७ देखि १९ औं दिनको सुन्दर गन्तब्य हो। 

४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा वस्ती विस्तार भएसँगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीको भनाइ छ। शुरुमा टहरो बनाएर होटल व्यवसाय शुरु गरेका यहाँका व्यवसायीले अहिले करोडौं रुपैयाँ खर्च गरेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटेलहरू संचालन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.