|

गुल्मी :  सरकारले संचालन गरेको विपन्‍न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभांवित भएका छन्। जसमध्ये सबैभन्दा धेरै मुटु र क्यान्सर रोगका बिरामी रहेका छन्।

गत आर्थिक वर्षको सुरुदेखि हालसम्म मुटुरोगका ९५ र क्यान्सरका ८३ गरी कुल १७८  जना बिरामी छन्। जुन कुल सङ्ख्याको ७५.१० प्रतिशत हो। जसध्ये पनि मुटुरोगतर्फ ४८ महिला र ४७ पुरुष तथा क्यान्सरका ५० महिला र ३३ पुरुषले सेवा पाएका छन्।

 विपन्‍न नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले २०६८ बाट विपन्न नागरिक सहायता कोष संचालन गरेको थियो।उक्त कोषबाट गुल्मीका नागरिकले हालसम्म दुई करोड ३५ लाखको सेवा निःशुल्क प्राप्त गरेका छन्।

कुन स्थानीय तहका कति जनाले लिए सुविधा?

सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाका बिरामी रहेका छन्। धुर्कोटमा ९ महिला र ७ पुरुष गरी १६ जना मुटुरोगी र ६ महिला ३ पुरुष गरी ९ जना क्यान्सर पीडित भेटिएका छन्।

रेसुंगा नगरपालिकाका कुल ३३ जना बिरामीले सेवा पाएका छन्। जसमध्ये ८ महिला र ५ पुरुष गरी १३ जना मुटुरोगी र ९ महिला तथा ३ पुरुष गरी १२ जना क्यान्सर लागेका बिरामीले नागरिक सहायता कोषको सेवाको लागि सिफारिस प्रदान गरिएको छ।

 इस्मा गाउँपालिकाबाट सेवा लिएका १२ जनामध्ये मुटुरोगी र क्यान्सर लागेका ४/४ जना छन्। जसमध्ये ३ महिला र एक पुरुषमा मुटुको समस्या देखिएको छ भने २/२ जना महिला, पुरुषमा क्यान्सरको समस्या देखिएको छ।

मुसिकोट नगरपालिकाबाट ५ महिला र ७ पुरुष गरी १२ जना मुटुरोगी तथा ८ महिला र ४ पुरुष गरी १२ जनाको क्यान्सरको उपचारको लागि सिफारिस प्रदान गरिएको छ। गत आर्थिक वर्षको सुरुदेखि हालसम्म नगरपालिकाका कुल २६ नागरिक लाभाम्बित भएका छन्।

मदाने गाउँपालिकाका ५ जनाले मात्रै यो सेवा प्राप्त गरेका छन्। जसमध्ये ३ पुरुष मुटुरोगीका बिरामी छन्। छत्रकोट गाउँपालिकाका १२ जनाले विपन्न नागरिक नागरिक कोषबाट उपचार गराएका छन्। जसमध्ये ४ महिला र ३ पुरुष गरी ७ जना मुटुरोगी तथा २ महिला र ३ पुरुष गरी ५ जना क्यान्सर पीडितले औषधी गराएको स्वास्थ्य शाखा संयोजक पुण्य गौतमले जानकारी दिए।

रुरु गाउँपालिकाबाट ३ महिला र १ पुरुष गरी ४ जनाले मुटुरोग तथा ७ महिला र ६ पुरुष गरी १३ जना क्यान्सर रोगको उपचारको लागि सिफारिस प्रदान गरिएको छ। चन्द्रकोट गाउँपालिकाका ११ जनाले विपन्न नागरिक सहायता कोषबाट उपचार गराएका छन्। जसमध्ये ३ महिला र २ पुरुष गरी ५ जना मुटुरोग तथा ३ महिला र १ पुरुष गरी ४ जनाले क्यान्सर रोगको निदानको लागि सिफारिस बनाएको गाउँपालिकाले जनाएको छ।

गुल्मीदरबार गाउँपालिकाका कुल २९ जनाले सेवा पाएका छन्। ५ पुरुष र ४ महिला गरी ९ जना मुटुरोगी तथा ३ पुरुष र ४ महिला गरी ७ जनाले क्यान्सर रोगीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए।

कालिगण्डकी गाउँपालिकाका ३ महिलाले मुटुरोगसम्बन्धि तथा महिला/पुरुष १/१ जना लगायत कुल ९ जनाले विपन्न नागरिक कोषको सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सत्यवती गाउँपालिकाका कुल ३१ जना बिरामीले सो कोषबाट सेवा पाएका छन्। जसमध्ये महिला ४ र पुरुष ९ गरी १३ जना मुटुरोगी तथा महिला ४ र पुरुष ६ गरी १० जना क्यान्सर पीडित रहेका छन्। मालिका गाउँपालिकाका ११ जनाले सेवा पाएका छन्।

जसमध्ये २ महिला र ४ पुरुष गरी ६ जना मुटुरोगी तथा ४ महिला १ पुरुष गरी ५ क्यान्सर पीडित बिरामीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए।

यता गुल्मी अस्पताल तम्घासका निमित्त प्रमुख डाक्टर उत्तम पच्याले स्वास्थ्यमा ख्याल गरे मुटु र क्यान्सर रोगबाट बच्न सकिने बताएका छन्। नियमित शारीरिक व्यायाम, मोटोपन घटाउने, पोशिलो खाना खाने, चिल्लो र नुन कम खाने लगायतका उपाय अपनाएमा क्यान्सर र मुटुरोगबाट बच्न सकिने उनले सुझाव दिए।

त्यसका साथै स्वास्थ्यमा अनियमित तरिकाले कुनै समस्या आउनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.