आसनग्रहण २० मिनेटमा सक्‍नु पर्ने

|

कास्की:  गण्डकी प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा अतिथिलाई एकै साथ फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेस गरेको सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्देशिका स्वीकृत गरेसँगै यस्तो ब्यवस्था भएको हो।

मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवत्ता रामशरण बस्नेतले भने ‘प्रमुख अतिथि, अतिथिहरुलाई बैठक, समारोहमा सहभागि हुनुभन्दा सामान्यतया तीन दिन अगावै विषयबस्तुको बारेमा जानकारी गराए। समारोह छोटो हुनुपर्ने। समारोहमा फूलमाला, खादा, अबिर मध्ये एक चिज मात्र लगाएर सम्मान गर्नुपर्ने छ।’ त्यस्तै घण्टौँ समय खर्चेर गरिने आसनग्रहणलाई २० मिनेट भित्रमा सिध्याउनुपर्ने ब्यवस्था गरेको छ।

‘प्रदेशले यस्ता समारोहमा तीन जना भन्दा बक्ता राख्दै नराख्ने भएको छ। प्रदेश भित्र अरु संघसंस्थालाई पनि यहि अनुशरण गर्न हामी आग्रह गर्छाैँ,’ उनले भने। यसैबिच गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपूरबाट नै अब सवारी लाइसेन्स वितरण गरिने भएको छ।

बार एशोसियसन र पत्रकार महासंघलाई ७० लाख 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्री परिगादमा पेश गरेको संघसंस्थालाई अनुदान सम्बन्धी छलफल पनि मन्त्री परिषदको बैठकले टुंग्याएको छ। कानुन मन्त्रालयले पेस गरे अनुसार कास्की जिल्ला अदालत बार एशोसियशनको भवन निर्माणको लागि ३० लाख रुपैयाँ दिने निर्णय भएको छ।

त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितीलाई १५ लाख, पत्रकार महासंघ जिल्ला शाखा बाग्लुङलाई १५ लाख रुपैयाँ र नेपाल पत्रकार महांसघ तनहुँलाई १० लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए।

यो अघिल्लो वर्ष नै निर्णय भएको र यस वर्ष बजेटमा ब्यवस्था भए बमोजिम प्रदान गरिएको सरकारले जनाएको छ।  

अब नवलपरासीबाटै सवारी लाइसेन्स 
गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपूरबाट नै अब सवारी लाइसेन्स वितरण गरिने भएको छ। नवलपूरमा रहेको यातायात ब्यवस्था सेवा कार्यालयलाई स्तोरन्‍नती गर्नेबारे भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव पेस गरेको थियो।

‘नवलपूरको यातायात ब्यवस्था सेवा कार्यालयलाई स्तरोन्नती गर्ने निर्णय भएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सरकारका प्रवत्ता बस्नेतले भने, ‘अब जनताले नवलपूबाटै सवारी लाइसेन्स पाउँछन्।

त्यसको लागि आवश्यक पर्ने बजेट ब्यवस्था भइसकेको छ। कर्मचारी अर्काे आर्थिक ब्ययभार नपर्ने गरी सात जना कर्मचारी खटाइने छ। अहिले आठ जना दर्बन्दीकै कर्मचारी छन्।’  

क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश मातमत दिन आग्रह 
सामाजिक विकास मन्त्रालयले मन्त्री परिषदमा पेस गरे बमोजिम गण्डकी प्रदेशमा सञ्चालनमा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश सरकार मातहत दिन संघ सरकारलाई आग्रह गरेको छ।

उक्त केन्द्र हाल कुनै पनि सरकारको जिम्मामा छैन। ‘यो न केन्द्रको, न प्रदेशको न स्थानीय सरकारको भयो,’ उनले भने, ‘यो केन्द्र हामीलाई दिनु पर्‍यो भनेर केन्द्र सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्ने निर्णय गरेका छौँ।’ 

त्यस्तै धर्मकाय बुद्ध मण्डला विकास तथा ब्यवस्थापन समितिले  कास्कीको काहुँडाँडामा बुद्ध मन्दिर बनाउने भनि पेस गरेको प्रस्ताव बमोजिम प्रदेशले राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा राख्न संघलाई सिफारिस गर्ने भएको छ।

बुद्ध मन्दिर काहुँको धारापानी सामुदायिक बनको १७० रोपनी जग्गामा निर्माण हुनेछ। सामुदायिक बनले मण्डला समितिलाई १७० रोपनी जग्गा दिने निर्णय समेत गरिसकेको छ।

गोरखा, मनाङ र मुस्ताङमा इटालीयन स्याउ 
भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको स्याउ विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत पनि मन्त्री परिषदले स्वीकृत गरेको छ। स्याउ विशेष कार्यक्रम मुस्ताङ, मनाङ, गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा लागु हुनेछ। गोरखाको धार्चेमा भौतिक पूर्वाधार विकास मन्त्रालयले गत वर्ष परिक्षण समेत गरेको थियो। 

त्यहाँ रोपेकै वर्ष फल दिएको थियो। परिक्षण सफल भएपछि यस वर्ष प्रदेश सरकारले तीन जिल्लाको लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन भएको गरेको छ। स्याउ किन्न ३० प्रतिशत उपभोत्ताले ७० प्रतिशत सरकारले अनुदान दिनेछ।

इटालीबाट ल्याइने तीन वटा उन्नतजातका स्याउका विरुवा प्रदान गरिने छ। एग्रो मनाङ सँगको समन्वयमा स्याउको विरुवा वितरण गरिने प्रदेश सरकारका प्रवत्ता बस्नेतले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.