डडेल्धुरा : नेपालीको चाड दशैँ सुरु भएको छ। रोजगारीका लागि छिमेकी मुलुकलगायत अन्य तेस्रो मुलुक पुगेका स्थानीय धमाधम घर फर्कदै छन्।
रोजगारी मात्र नभइ पढाइलगायत अन्य विभिन्न कामले घर बाहिर रहेका सयौं स्थानीय दैनिक जसो गाउँघर फर्कन लागेका छन्। विषेश गरी मठ मन्दिरलगायत घरमै पनि घटस्थापनादेखि दशैंसम्म नवरात्री बसेर मनाइने डडेल्धुरालगायत सुदूरपश्चिममा पछिल्ला वर्षहरूमा संस्कृति सँगै संस्कार पनि बदलिँदै गएको छ।
समय र प्रविधिको विकाससँगै डडेल्धुरालगायत सुदूरपश्चिममा वर्षेनी रुपमा दशैंलगायत अन्य चाड पर्व मनाउने तौर तरिका पनि फेरिँदै गएका छन्। घटस्थापनादेखि विभिन्न मठ मन्दिरहरूमा नवरात्री बस्नुका साथै यहाँका अधिकांश मठ मन्दिरमा दशैंका दिन पूजाआजा गरी देवताका धामीबाट टीका जमरा थाप्ने चलन डडेल्धुरालगायत सुदूरपश्चिममा छ।
नव रात्री बसेकाले मठ मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने गर्दछन्। कुनै मन्दिरमा घटस्थापनाका दिन नै गाउँमा रहेको देउताको भ्राणबाट देउरो मन्दिरमा लागि दशैंका दिन मन्दिरमा पूजाआजा गरी फेरि गाउँकै भ्राणमा ल्याउने प्रचलन छ भने प्राय मन्दिरहरूमा पञ्चमीका दिन देउरो मन्दिरमा लागि दशैंका दिन पूजाआजा गरी टिका जमरा थापेपछि गाउँको भ्रमणमा ल्याइन्छ।
देवी देवतामा बढी नै आस्था राख्ने भएकाले यहाँका स्थानीय प्रायः दशैंमा घर फर्कन्छन्। अष्टमीका दिन मेला लाग्ने मन्दिरमा राँगा बोकोको बली दिइन्छ। भने दशैंका दिन पनि बली चढाइने मन्दिरमा राँगा बोकाको बली दिइन्छ। भाकल गरेपछि बली दिने प्रचलन यहाँ छ।
यस्तै मन्दिरमा भाकल गरेअनुसार सुन चाँदीका गरगहना, घण्टा, त्रिशुल, नेजा ध्वजा चढाउने प्रचलन यहाँ रही आएको पण्डित लोकराज भट्टले बताए। ‘कुनै काम पनि सफ होस् भनेर देवी देवतालाई भाकल गरिन्छ’ उनले भने, ‘भाकल गरे अनुसार बली दिनुका साथै भनेका सरसामान मन्दिरमा चढाउने रीतिरिवाज छ।’ कति पय समयमा कमि कमजोरीलाई औल्याउँदै जान अञ्जानका भएका गल्तीको दण्ड सजाय स्वरुपमा बली वा अन्य वस्तु देवताले मागेपछि चढाउने चलन रहेको उनले बताए।
फेरिँदै दशैं मनाउने तौरतरिक
यहाँ धार्मिक सांस्कृतिक रुपमा दशैं मनाइँदै आए पनि पछिल्ला वर्षहरूमा केही तौरतरिक फेरिँदै गएको अमरगढी–५ का ७६ वर्षीय रामबहादुर बताउँछन्। ‘दशैं सुरु हुँदा पहिले गाउघरमा निकै रौनक हुन्थ्यो। अहिले त्यस्तै छैन।’ उनले भने, ‘घटस्थापनादेखि नै राँगा बोका घर घरमा भित्र्याइन्थेँ। अहिले त अष्टमी, दशैंका दिनमा मात्रै देखिन्छन्। त्यो पनि घट्दै गएको छ। अहिले धेरै परिवर्तन आएको बताउँदै उनले भने, पुरानो तरिका शैली अनुसार हुने गरेको छैन। पूजाआजामा पनि रित पुर्याउन मात्रै गरिन्छ।’
‘दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउँन्थ्यौं।’ विगत सम्झँदै राम बहादुरले भने, ‘अहिले त कसैले बजाउँदैनन्। क्लाँटा बाजा बज्नै छोड्यो। क्लाँट बजाउँदै विभिन्न धून गुञ्जाउँदै दशैंमा रौनकता आउने उनले सुनाए। अहिले यो बाजा कसैले बजाएको नसुनेको उनले बताए। दशैंमा बजाइने यस्ता बाजा अहिले बिहे वर्तमा मात्रै बज्ने गरेको उनले बताए।
पहिलेका दिनमा बुढा पाकालगायत सबै एकै ठाउँमा जम्मा भई टीकाटालो गर्ने प्रचलन थियो। अमरगढी–४ की वृद्धा गौरीदेवी भण्डारीले भनिन्, ‘पछिल्ला वर्षहरूमा घर परिवार बाट टाँढा बस्ने चलन बढेको छ। कामका शिलशिलमा छोरा बुहारी घर बाहिर नै बस्छन्। कहिले आउँछन कहिले आउँदैनन्। बिहे गर्ने बित्तिकै आमा बुवा, दाइभाइबाट अलग बस्ने चलन पनि छ। त्यहीँ भएर सबै एकै ठाउँमा खासै आउँदैनन्।’
पुरना दिनमा बिहानै पाँच बजे नै दशैंका बाजा घर आँगनमा बज्ने भए पनि अहिले बज्न छोडेको उनले बताइन्। घटस्थापनको दिनदेखि नै बिहानै अध्यारोमै ठूला ठूला क्लाँट बाजा बज्थे। घर टोलमा मिठो धुन सुन्न पाइन्थ्यो। अहिले त्यो संस्कार हराएको छ। दमाई जातीले बाजा बजाउँथे। अनि दशैंमा हामी उनलाई खान, लगाउन सामान दिन्थ्याैं।’
पहिलेको तुलनमा रहन सहनमा पनि निकै भिन्नता हुँदा संस्कारहरू पनि हराउँदै गएको उनले बताइन्। पछिल्ला वर्षहरूमा देखासिकीका रुपमा चाड पर्व मालाउँदै गएको उनको भनाइ छ। डडेल्धुरा सदरमुकामा आजभोलि यो बाजा बजाउन छोडिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।