|

डडेल्धुरा : दशैं नजिकिँदै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्र विन्दूमा रहेको डडेल्धुरामा मानिसको चहल-पहल ह्वातै बढेको छ। दशैं सुरु भएसँगै डडेल्धुरा सदरमुकामको बजारमा सामान किनमेल गर्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दै गएको हो।

नेपालीको चाड भएकाले पनि यो समयमा मानिसले खाद्य सामग्रीदेखि लुगाकपडासम्मका सामान अनिवार्य रुपमा किन्ने गरेका छन्। त्यसैले पनि बजारमा सामान किन्ने मानिसको चहल-पहल बढ्ने गरेको छ। सुदूरपहाडको हिलस्टेशनका रुपमा चिनिने डडेल्धुरा सदरमुकाम भएर बैतडी, बझाङ, डोटी, दार्चुला र अछामलगायतका जिल्लामा जाने भएकाले पनि डडेल्धुरामा चहल-पहल बढेको हो।

पढाई तथा रोजगारीका लागि जिल्ला बाहिर तथा भारत लगायतका खाडी मुलुकमा जाने युवा दशैं मनाउन घर फर्किने क्रम पनि सुरु भएको छ। असारको महिना रोपाईँ गरेर भारत गएका युवा घर फिर्किने क्रम सुरु भएसँगै डडेल्धुरा सदरमुकाममा भीडभाड बढेको छ। 

भीडभाडसँगै सदरमुकाम क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ। अन्य सिजनभन्दा अहिले कमाई राम्रो भइरहेको व्यापारी बताउँछन्। अहिले धनगढी, महेन्द्रनगर तथा काठमाडौँलगायतका शहरबाट दैनिक हजारौँ मानिस डडेल्धुरा सदरमुकाममा पुग्ने गरेका छन्। 

यस्तै बजारमा सामान किन्ने स्थानीयको भीडभाड र साँघुरो सडकले गर्दा डडेल्धुरामा आवत-जावत गर्ने पनि निकै समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन्। साघुँरो सडकमा ठूला-ठूला यातायातका साधन चल्छन्। त्यसैमा सडक किनारमा मोटरसाइकल पार्किङ गर्दा ठूला गाडीलाई साइड काट्न समस्या हुने गरेको चालकले गुनासो गरेका छन्।

अहिले दिनहुँ डडेल्धुरा सदरमुकाममा गाडीको जाम लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.