|

काठमाडौं : दशैं रातो टीका र जमराका साथै खानपानका लागि पनि उत्तिकै महत्वपूर्ण छ। उहिलेको समयमा मासु खानका लागि दशैं नै कुर्नै नपर्ने भए पनि दशैंलाई टन्‍न मासु खाने पर्वको रूपमा लिने गरिन्छ। अहिले पनि दशैं भन्ने बित्तिकै घरमा खसी काट्नै पर्ने, मासु खानै पर्ने मान्यता छ। तर, दशैंमा खानपानमा ध्यान नदिँदा हामीलाई जटिल प्रकारका स्वास्थ्य समस्या देखा पर्ने गर्छन्। धेरैले दशैंमा खानपानलाई ध्यान नदिँदा दीर्घ रोग देखिने सम्भावना धेरै हुने गर्छ।

उच्च रक्तचाप, मुटु, मधुमेह, पित्तथैलीको समस्या तथा अन्य जटिल प्रकारका पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकको जस्ता समस्या देखिन्छ। एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खाँदा स्वास्थ्यलाई असर गर्छ। यस्तै, दशैंमा खाइने रातो मासुले कोलेस्ट्रोरोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साघुरिँदा हृदयघात, उच्चरक्त चापको सम्भावना बढ्छ।

रातो मासुभन्दा सेतो मासु खानु राम्रो

वर्ष दिनमा आउने चाड भनेर दशैंमा अन्य समयमा भन्दा धेरै मासुलगायत अन्य खानेकुरा खाने चलन छ। दशैंको समयमा काम गरिने र खानेकुरा बढी खाने हुँदा हामीले खाएको खाना पचाउनसमेत गाह्रो हुन्छ। दशैंमा धेरैले खसी, राँगालगायत चार खुट्टे जनावरको रातो मासु अत्याधिक खाने हुँदा यसमा भएको चिल्लोले शरीरमा कोलेस्ट्रोरोलको मात्र बढ्न गई  उच्च रक्तचाप, हृदयघात हुने सम्भावना बढ्छ।

त्यसैले रातो मासु भन्दा सेतो मासु अर्थात् कुखूरा, माछाको मासु खानु उपयुक्त हुन्छ। माछामा चिल्लो कम हुनुको साथै प्रोटिन र भिटामिनजस्ता शरीरलाई आवश्यक तत्त्वहरू प्रशस्त हुन्छन्। माछामा भिटामीन बी, फोस्फोरस, आयोडिन, सेलिनियम, पोटासियम, ओमेघा ३ जस्ता खनिज तत्त्व पाइने हुँदा यसले शरीरलाई आवश्यक पर्ने प्राय धेरै खनिज तत्त्वको पूर्ति गर्छ र स्वस्थकर पनि हुन्छ। मुटु र मधुमेह तथा उच्च रक्तचाप भएका मानिसले रातो मासु नखानु नै राम्रो हुन्छ।

 चिल्लो, पोलेको, धेरै फ्राई गरेको मासु कम खाने

दशैंमा धेरै चिल्लो र फ्राइ गरेका खानेकुराले रक्तचाप र मधुमेहका बिरामीलाई असर गर्छ। धेरै फ्राई गरेका खानेकुरा खाँदा फ्राई गर्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेरसम्म तताउँदा खेरी त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानी पुर्‍याउँछ। अर्को कुरा दशैंमा पकाएको माछामासु धेरै दिनसम्म खानु पनि राम्रो हुँदैन। पकाएको मासु लामो समयसम्म राख्दा मासु दूषित हुन्छ र हाम्रो शरीरलाई हानी गर्छ।

धूमपान र पेय पदार्थ कम खाऊँ

दशैंमा माछामासुका साथै धूमपान तथा पेय पदार्थको प्रयोग धेरै हुन्छ। वर्ष दिनमा आउने चाड भन्दै साथीभाइसँग रमाइलो गर्ने बहानामा माछामासुसँगै पेय पदार्थको प्रयोग अत्याधिक हुने भएकाले रमाइलो गर्ने बहानामा माछा मासुसँगै खाइने पेय पदार्थले शरिरलाई हानी गर्छ। चाडवार्डको बहानामा खाइने यस्ता पेय पदार्थ र धूमपानले मुटु र फोक्सोलाई हानी गर्छ।

चिसो र पेय पदार्थमा अत्याधिक गुलियो हुने भएकाले धेरै सेवन गर्नु राम्रो हुँदैन। सुगर, प्रेसर र मुटुरोग भएका व्यक्तिले पेयपदार्थ सेवन गर्नु उचित हुनन्। हरियो सागसब्जी र फलफूलमा जोड दिँदा राम्रो हुन्छ। दशैंमा धेरै माछामासु खानुभन्दा फलफूल, दूध, दही, सलाद र हरियो सागपातमा जोड दिनु राम्रो हुन्छ। यसले शरीरमा कोलेस्ट्रोरेलको मात्रालाई बढ्न दिँदैन। 

- वरिष्ठ मुटु रोग विशेषज्ञ  डा. प्रकाशराज रेग्मीसँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.