|

डडेलधुरा : नेपालीहरूको महान पर्व वडादशैं नजिकिएको छ। पछिल्लो समय दशैंतिहारलगायतका बिदामा परिवार तथा साथीभाइसँग घुम्न जाने नेपालीहरु बढ्न थालेका छन्। कम खर्चमा घुमफिर गर्न चाहनेहरूको रोजाइमा नेपालका विभिन्न ठाउँहरू हुने गर्दछन्। घुमफिरका लागि अछामका केही उपयुक्त स्थलहरूका बारेमा यहाँ बताउन गइरहेका छौँ।

रामारोशन

अछामको रामारोशन गाउँपालिका-५ मा अवस्थित छ, रामारोशन क्षेत्र। समुद्री सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको रामारोशन पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण प्रकृतिको वरदान हो।

उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन्। ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइने रामारोशनले पर्यटकको मन जित्न थालेको छ।

विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ। यहाँ थुप्रै मनमोहक ताल छन्। जसले सबैको मन लोभ्याउँछ। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन्। यहाँ रहेका हरेक तालको परिक्रमा गर्नै घण्टौँ लाग्ने गर्छ।

पर्यटकीय दृष्टिले ‘स्वर्ग’ मानिने रामारोशन क्षेत्र पुग्ने जो कोहीले एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ। १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय अनुकूल मानिन्छ।

यहाँका बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका ताललेसमेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्। यहाँ तालहरुमात्रै छैनन्, अग्ला पनि उत्तिकै आकर्षक छन्।

रामारोशनसम्म पुग्न कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले, दिपायल–सिलगढी हुँदै अछामको जयगढसम्म पक्की सडक मार्ग छ। त्यहाँदेखि रामारोशनसम्म कच्ची सडकबाट पुग्ने गरिन्छ। अछाम सदरमुकाम मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ।

वैद्यनाथ धाम

नेपालका चार धाम मध्येको एक हो अछामको वैद्यनाथ धाम। नेपाल सरकारले घोषित पूर्वपश्चिम मध्यपहाड राजमार्गमा पर्ने १० वटा स्मार्टसिटी (नयाँ शहर) साँफेबगर नगरपालिकाका साथै टीकापुरबाट कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मानिएको सेती लोकमार्ग र पूर्वपश्चिम मध्यपहाडी राजमार्गको संगममा रहेको पौराणिक धार्किक ऐतिहासिक सांस्कृतिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो वैद्यनाथ।

साँफेबगर नगरपालिका–१ मा अवस्थित छ वैद्यनाथ।  वैद्यनाथ धाम मन्दिर बूढीगंगाको कटानको उच्च जोखिममा परेको छ। कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन। विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो। मन्दिरको शिवलिंग भने यथास्थानमै फेला परेको थियो।

शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो। राजा बद्ध शर्माले पितृ तार्न युग्मपर्वतबाट जाह्नवी गंगालाई प्रवाहित गराएकोले राजाकै नामबाट रहन गएको उत्तरी दिशामा रहेका हिमश्रृंखलामध्ये बूढीनन्दा र शंखपर्वतको बीचमा रहेको शंखसरोवरबाट प्रवाहित पवित्र पावन वृद्धगंगा सवालाख पर्वतको माध्य भागमा रहेको सिद्धस्थल वृक्षखण्ड(भारखण्ड)लाई चिर्दै सागरतर्फ उन्मुख हुँदा साँफे पुगरे अपर्णा(छिपेखोला) र गोदावरी (पर्वालीगाड) नदीलाई अंकमाल गर्दा बन्न गएको साँफे–त्रिवेणीदेखि पञ्चपुरी रामारोशनमा भृगुपुत्रले सोमयाग (स्वर्ग जाने यज्ञ) गर्दा आह्वान गरिएकी कैलाश गंगा आएर वृद्धगंगामा मिलेको संगमको मध्येभागमा रहेको सुरम्य उपत्यका पवित्र वैद्यनाथ क्षेत्र छ।

शिवजीले सवालाख पर्वतको माध्यभागमा रहेको वृक्षखण्ड अर्थात् भारखण्ड वैद्यनाथ क्षेत्र सबैभन्दा मनपरेको बताए र त्यहाँ बस्ने इच्छा प्रकट गनुभयो। शिवजीको प्रिय स्थल जसको महिमा स्कन्दपुराण मानसखण्डको अध्याय १६६ मा स्वंम शिवजी पार्वतीसँग भनेका थिए।  यस्तै शिव महापुराणको अध्याय २८ मा भनिएको छ–‘कैलाशमा कठोर तपस्या गर्दा पनि शिवजीको दर्शन नपाएकोले रावणले शिवजीको प्रिय स्थलको अन्वेषण गरी कैलाश मानसरोवरको दक्षिण सिद्धस्थल वृक्षखण्ड (भारखण्ड)  ‘वैद्यनाथ क्षेत्र’ पत्ता लगाइ त्यहाँ आइ कठोर तपस्या गर्‍यो।

तैपनि शिवदर्शन नपाउदा दशानन रावणले आफ्ना एकरएक वटा शिर छेदन गर्दै अग्निमा होम्दै दसै शिर छेदन गर्न लाग्दा शिवजी प्रसन्न भई ज्योतिस्वरूपमा प्रकट भएर आलौकिक वैदाङ्गीद्वारा रावणका नौवटै शिर जस्ताको त्यस्तै पारी के चाहन्छौँ भनि महादेवले सोधनी गर्दा–रावणले ‘अतुल बल’ माग्दा ‘तथास्तु’ भनी वर प्रदान गरेको उल्लेख छ।

भन्ने कुराको तथ्य शिव महापुराणमा रावण भन्छन्,– ‘उक्त स्थलमा मेरो प्रार्थना स्वीकारेर भगवान् शिव वैद्यानथेश्वर नामले तीनै लोकमा प्रख्यात भएर वैद्यनातथ क्षेत्रमा रहनुहुन्छ ।

यस्ता महेशको दर्शन पुजनले भुक्तिमुक्ति प्राप्त हुनाको साथै सबैको कल्याण हुन्छ। स्कान्दपुराणान्तरगत मानसखण्ड अध्याय १६६ काअनुसार यहाँ रावन मात्र होइन कुम्भकर्ण, वाणासुर, विभिषण, यम, कुवेर, महेन्द्र बदी आदि आइ उपासनाका साथै वैद्यनाथको दर्शन पुजन गरी आफ्नो मानोइच्छा पूरा गरेका थिए। यहाँ आएर कसैले विमुख भएर जानुपर्दैन भनिएको छ।

मन्दिर परिसरभित्रै वैद्यनाथ संग्रहालय स्थापना गरिएको छ। विक्रम सम्वत् १८४८ सालमा जर्नेल अमरसिंह थापा नेतृत्वको टोलीले अछाम बिजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएका छन्। सो संग्रहालय स्थापनासँग सम्बन्धित रोचक किम्वदन्ती छ।

यहाँ नित्य तथा वर्षभरीमा ३० वटा पर्वपूजा हुन्छन्। यहाँ महाशिवरात्रि, मकर सक्रान्ति र विषु पर्व, होरी पर्व, दशैं पर्व, कृष्णजनमाष्टमी, श्रावण स्नानलगायत पर्वहरू विशेष धुमधामका साथ मनाइन्छ। सबैभन्दा ठूलो मेला महाशिवरात्रिमा लाग्दछ।

फागुन कृष्ण चर्तुदशीमा देवाधिवेद महादेव स्वयंले रुद्ररुप धारणा गर्ने भएकाले यस दिनको शिवपूजाको विशेष महत्व भएको धार्मिक मान्यता रहेका वैद्यनाथ क्षेत्र विकास संस्थाका सचिव एवं प्रधान गुरु देवराज उपाध्यायले बताए। उनका अनुसार धार्मिक तथा पौराणिक कथन अनुसार भगवान शिवको प्रियस्थल मानिने वैद्यनाथमा महाशिवरात्रिको अवसरमा छिमेकी बाजुरा, डोटी, डडेल्धुरा, कैलाली, बझाङलगायतका जिल्लाहरूबाट समेत तीर्थालुहरू आउने गर्दछन्।

साथै पर्गलो चढाउने सलमी तथा बडाई, चँदयो भित्र्याउने, रातिमा देउडाखेल खेल्ने आदि कार्यक्रम यस पर्वका विशेष आकर्षण मानिन्छन्। वैद्यनाथ धाम पुग्न कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले, दिपायल–सिलगढी हुँदै अछामको साँफेबगरसम्म पक्की मार्गको सुविधा छ। त्यहाँबाट थोरै ग्रामित सडक भएर धाममा पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.