|
फाइल फोटो

दमक : दशैंको नौरथा आइसक्दा पनि ग्रामीण क्षेत्रमा समेत लिङ्गे पिङ देखिएका छैनन्। पिङ हाल्न चाहिने सनपाट (पाटा), त्यसलाई तयार पार्ने युवा शक्ति समेत पाइन छोडेपछि पिङविहीन दशैं मनाउनु परेको हो।

दशैंको नवरथा शुरु हुनु अगावैदेखि गाउँमा लिङ्गे पिङ हाल्ने चलन थियो। तिहार पछिसम्म गाउँमा पिङ हल्लिन्थे। अचेल भने लठ्ठा बाट्ने, बाँस काट्ने, गाड्ने जस्ता बलका काम गर्ने युवा नहुँदा गाउँमा पिङ समेत न्यून देखिन्छन्। पिङका लागि चाहिने पाटा समेत पाइन छोडेको र कतै महँगो मूल्य तिर्दा पाए पनि त्यसको लठारो बनाउने मान्छेनै जुट्न गाह्रो हुने कमल-६ का कृष्णप्रसाद गौतमले बताए।

‘एक दशक अघिसम्म त हामीले गाउँभरिबाट पाटा भेला पार्थ्यौं, गाउँकै बाँस झ्याङ गएर बाँस काट्थ्यौँ, राति-राति भेला भएर लठारो बाट्थ्यौं’ गौतमले सम्झना सुनाए-‘तर अचेल पाटा कहाँ भेटनु, बाट्ने मान्छे कहाँ पाउनु, लिङ्गो जोड्न उस्तै गाह्रो कसले गर्ने? पिङ लाउनै गाह्रो छ।’

सोही ठाउँका अभिशेक आचार्य भर्खरका किशोर हुन्। १६ वर्षीय उनलाई गाउँमै पिङ हालेर धित मरुन्जेल खेल्न मन छ। तर, उनका दौतरी पिङ हाल्न सक्ने भएका छैनन्। उनी एक्लै पनि सक्दैनन्। उनले भने - ‘अब हामी जस्ताले पिङ हाल्न सकिदैन, अलिक ठूला दाजु-काकाहरू छैनन्।’ यस वर्षको दशैं पिङबिना नै जाने भए पनि उनी खिन्न भएका छन्।

त्यसो त केही दिन अघिसम्म पनि सुनसान रहेको बजारमा चहल पहल बढेको छ। आफन्तको भेटघाट, आशिर्वाद आदन प्रदान तथा मीठो खाने–राम्रो लाउने पर्वका रूपमा दशैं नेपालीको सबैभन्दा ठूलो पर्वको रुपमा मनाउने गरेका छन्। तर, समयको परिवर्तनसँगै दशैं मनाउने चलनमा समेत भिन्नता आउँदै गएको छ।

वर्षौंअघि आम्दानीका स्रोत भरपर्दा नहुँदा मिठो खान र राम्रो लगाउन पनि दशैं नै पर्खनु पर्ने अवस्था थियो। यन्त्र उपकरण नहुँदा चामल, चिउरा, पिठो कुट्न ढिको जाँचोको चलन थियो। मनोरञ्जनको साधनका रुपमा लिङ्गे, रोटे, चक्रे पिङ हालिन्थ्यो। तर, यी चलन अहिलेको पुस्ताका लागि नौलो बन्दै गएका छन्। झापा कमल–६ की देवीमायाँ आचार्यको अनुभवमा भने अहिलेको भन्दा उहिलेकै दशैँ रमाइलो हुन्थ्यो।

‘बिहान झिसमिसै देखि राती अबेरसम्म गाउँभरिका ढिकी बज्थे, पालो गरि गरि चिउरा कुटिन्थ्यो’ ८३ वर्षीया आचार्यले भनिन्–‘अहिले त के दशैं, के अरु बेला, पैसा हुनेले जे मन लागो किन्न पाईहाल्छन्, नहुनेले दशैंमा पनि पाउँदैनन्।’ गाडीको सुविधा, बजार विस्तार, आम्दानीका स्रोत वृद्धिलगायतका कारण मिठो खान र राम्रो लगाउन दशैं नै पर्खनु पर्ने चलन हराएको उनको भनाइ छ। पहिलेको तुलनामा अचेलको दशैं खर्चिलो बनेको भन्दै उनले देखासिकी गरेर कसैले पनि पर्व मनाउन नहुने समेत उनको सुझाव छ।

दमक–५ की ५४ वर्र्षीया सुशिला ढुंगाना पनि उहिले र अहिलेको दशैंमा धेरै अन्तर लाग्छ । उहिलेको दशैंमा नवरथा लागे देखिनै घर पोत्ने, माटो खोज्ने, गाउँमा बाटो सफा गर्ने जस्ता चलन रहेका थिए। कोही परदेश गएको भए दशैं मनाउन घर आउने कुराले गाउँभरि हल्ला हुन्थ्यो। यसले दशैं आएको रौनक दिन्थ्यो। साना केटाकेटीका लागि नयाँ लुगा लगाउने कुराले उस्तै खुसी थप्थ्यो।

तर अहिले यस्ता चलन नभएकाले पनि दशैंमा पुराना दिनको सम्झना हुने गरेको उनको अनुभव छ। अचेल चाहेको कुरा खान, लाउन दशैं नै पर्खनु पर्दैन। बजार समेत सहज भएकाले पैसा हुनासाथ सधैंभरि जे पनि पाइने भएकाले उहिलेको जस्तो दशैं कहिले आउला भनेर औंला भाँच्ने अवस्था पनि नरहेको उनले बताइन्। तर, मनाउने चलनमा जे जस्तो परिवर्तन आए पनि दशैंले ल्याउने खुसी, आफन्त भेटघाट, आशिष दिने र थाप्ने चलनको महत्व उस्तै रहेको उनी बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.