|

डडेल्धुरा : नेपालहरूको महान पर्व वडादशैं नजिकिएको छ। पछिल्लो समय दशैंतिहारलगायतका विदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरू नेपालीहरू बढ्न थालेका छन्। कम खर्चमा घुमफिर गर्न चाहानेहरूको रोजाइमा नेपालका विभिन्न ठाउँहरू हुने गर्दछन्। देशमा रहेका सात प्रदेश मध्येकको एक हो सुदूरपश्चिम।

सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा सम्भावनाका ढोका प्रशस्त छन्। देश संघीयतामा जानुअघि सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिका कारण यस क्षेत्रका पर्यटकीय क्षेत्रहरू सधैं ओझेल परे। सुदूरपश्चिम प्रदेशमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन्।

यदि तपाईं दशैंतिहार बिदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी सुदूरपश्चिम प्रदेशमा रहेका केही गन्तव्यका बारेमा जानकारी गराउँछौँ।

यी हुन् डडेल्धुराका प्रमुख पर्यटकीय गन्तव्य

उग्रतारा

उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब पाँच किलोमिटर पश्चिममा छ। उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ।

उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन। तर पनि उग्रतारा भगवती मन्दिरो उत्पतिको किंवदन्ती भने रोचक छ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमतर्फ विशाल, रमणीय फाँटमा अवस्थित छ। सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ।

अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी–८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ। सडक मार्ग मार्फत यहाँ पुग्न सकिन्छ। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ। यहाँ दिनहुँ भक्तजन पूजा गर्न आउँछन्।

२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। 

उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुखप्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास छ। उग्रताराको महिमाबारे अर्को किम्वदन्ती पनि छ। कार्तिक पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरूले वीरताका साथ लडाइ गर्दा रगतको खोला बग्ने गरेपछि जसलाई त्यहाँ न्वाखोलाको रूपमा नामकरण गरिएको छ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन्। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ।

ऐतिहासिक अमरगढी किल्ला

सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ ऐतिहासिक अमरगढी किल्ला।

समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ।  बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना  कुमाउ गढवालसम्म पुगेको थियो।

एकीकरणको अभियानका बेला वि. सं. १८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।

तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले यो ‘अमरगढी किल्ला’को रूपमा परिचित छ।

वि. सं. १८४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँगडा र कुमाउँको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ।

बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ।

अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ। नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउँ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षका उमा श्रेष्ठले बताइन्।

समय बित्दै जाँदा पछि वि. सं २०२० तिर यो किल्लामा गोरख दल बसेर हेरचाह गर्ने गरेको समेत उनले बताइन्। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको छ।

छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्। विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ जहजै रूपमा पुग्न सकिन्छ।

घटालथान

डडेल्धुरा पुग्ने हिन्दू धर्मावलम्बीहरूका लागि ‘घटालथान’ आस्थाको धरोहरका रूपमा रहेको छ भने अरूहरूलाई मनमोहक दृष्यावलोकन गर्ने तथा ऐतिहासिक अध्ययनस्थलका रूपमा रहेको छ। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येको एक हो ‘घटालथान’।

घटालथाल पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो। अमरगढी नगरपालिका–३ घटाल क्षेत्रमा रहेको घटालथान बाबा मन्दिर बुढीघटालका नामले पनि प्रसिद्ध यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ।सदरमुकाम बागबजारदेखि पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा रहेको घटालथानसम्म सडक कालो पत्रे भएसँगै आन्तरिक तथा डडेल्धुरा पुग्ने जो कसैले पनि त्यहाँसम्म पुग्न सजिलो भएको छ।

जिल्ला सदरमुकामबाट घटालथान पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ। जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो। यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्व–टुँडा–चम्साल हो।

घटालथानसँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ। चारैतिर डाँडाले घरेको डोटी घटाल क्षेत्र सम्म परेको घटाल गाड खोला क्षेत्रमा अवस्थित छ। घटाल गाडका बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुंगै नौला र ऐतिहासिक हिङलो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द पनि लिन मिल्छ।

घटालथानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र बैशाख २ गते मेला लाग्छ। त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन्।

बिसु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०÷१२ मुठि जति  मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरूले बताउने गरेका छन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ।

यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहिआएको छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

माथि उल्लेखित उग्रतारा भगवती मन्दिर, अमरगढी किल्ला, घटनाथान एकै दिन घुम्न सकिन्छ।

ऐतिहासिक अजयमेरुकोट

डोटेली राज्यको राजधानीका रूपमा चिनिन्छ अजयमेरुकोट। उचित संरक्षण नहुँदा पुरातात्विक सम्पदाहरू संकटमा परेका छन्। डडेल्धुराको अजयमेरु गाउँपालिका–२ मा अवस्थित छ अजयमेरुकोट।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही संरक्षण र यसको प्रचारप्रचास गर्नमा ध्यान दिइरहेका छन्। दरवार क्षेत्रका अद्भुत कलाकृतिहरू चोरी हुन थालेपछि गाउँपालिकाले कोट संरक्षणका लागि पनि योजनावद्ध रूपमा लागिरहेको जनाएको छ।

बाइसे-चौबीसे राज्यअन्तर्गत डोटेली राज्यको राजधानी रहेको अजयमेरुकोटमा तत्कालीन राजा नागी मल्लले राज्य सञ्चालन गरेका थिए। आधुनिक सभ्यताको उद्गमस्थलको केन्द्र भनेर समेत अजयमेरुकोटलाई चिन्ने गरिन्छ।

संरक्षणको अभावमा दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटरको गढिका नदीमा रानी नुहाउन जाने गुफा, तत्कालीन समयका अद्भूत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू जीर्ण बन्दै गएपछि अजयमेरुकोटको महत्व संकटमा पर्दै गएको हो।

अजयमेरुकोटको १३औं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको स्थानीय जानकारहरू बताउँछन्। वि.सं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष तथा देवलसमेत जीर्ण अवस्थामा रहेका छन्।

अमरसिंह थापाले निर्माण गरेको अमरगढी किल्लादेखि सात किलोमिटर पश्चिममा अवस्थित अजयमेरुकोटमा डोटेली राजाहरूले समेत चार दशकसम्म शासन गरेका थिए। परम्परागत कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास हराउँदैै गइरहेको स्थानीयवासी, वुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ। अजयमेरुकोट जिल्ला सदरमुकामबाट २ घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ।

आलिताल

पर्यटकीय दृष्टिकोणले यस प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो ‘आलिताल’। यो ताल डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका–३ मा अवस्थित छ। समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको छ।

एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरि सुन्दर हरियाली वनले ढाकेको छ। आलितालमा डुंगा संचालनमा छ। डुंगा संचालनमा आएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर टाढा रहेको आलितालमा पहिलोपटक डुंगा सञ्चालन गरिएपछि पर्यटकहरू बढेका हुन्।

पर्यटकको पर्खाइमा रहेको तालमा डुंगा सञ्चालन गरिएसँगै दैनिक जसो आन्तरिक पर्यटक बढीरहेका छन्। तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्रि मधेश क्षेत्रकै  आलिताल, जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको थिए। तर, स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि तालको मुहार नै फेरिएको छ।

तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरू निर्माण गरिएका छन्। ताल क्षेत्रमा वनभोजका लागि भान्साघरलगायतका तालको पानी निकास हुने ठाँउमा व्यवस्थित रूपमा निकासका लागि नाला निर्माण गरिएको छ। तालमा पिकनिक स्पटहरू समेत निर्माण गरिएको छ।

डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ। डडेल्धुरा सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिममा रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी छ। कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको कच्ची सडक बाटो भएर आलिताल पुग्न सकिन्छ।

परशुराम धाम

सुदूरपश्चिमकै पवित्र तीर्थस्थल ‘परशुराम धाम’ डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ। श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ।

एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ। हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरूको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ।

महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ, त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण, गर्नाले पितृ उद्धार तथा देव लोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ।

परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ। गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ। त्यसमा पनि मकर स्नान अर्थात माघ स्नानको निकै ठूलो महत्व रहेको छ। स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ।

यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ। रथ पूजनको विशेष महत्व रहेको छ, विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव,परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ। अति पवित्र वामघाटमा अन्तेष्टि संस्कारको निकै महत्व रहेको छ।

परशुराम धाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ। जसको पूर्वमा जोगबुडा, पश्चिममा उत्तराखण्ड भारत, उत्तरमा ऐडिवान वन तथा दक्षिणमा कुणा सिमिलखेत सडक रहेको छ। भीमदत्त सडकखण्डमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घण्टामा परशुरामधाम पुग्न सकिन्छ।

डोटीका मुख्य पर्यटकीय गन्तव्य

खप्तड

सुदूरपश्चिमा रहेका सुन्दर स्थानमध्ये एक हो, खप्तड राष्ट्रिय निकुञ्ज। वर्षको छ महिना हिउँ पर्ने खप्तड क्षेत्रलाई हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ। यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ। यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू प्रख्यात छन्। 

पुराणअनुसार महादेवले खप्तडको जडिबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ। खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू शदियौँदेखि प्रचलित र प्रख्यात छन्। जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ।

हजारौँ तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् र त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्छन्।  खप्तडमा जताततै लामा अनि थुम्कासहितका हरिया फाँट छन्। फाँटभरी थरीथरीका फूलहरू, तीमाथि उडिरहेका रंगीबिरंगी पुतली, चारैतिर कलमी गरे झैँ लाग्ने घना जंगल। जंगलभित्र नौवटै रङका गुराँस। घना जंगलभित्र सुगन्ध फैलाउने जडीबुटी र हरिया घाँसे मैदान छन्।

डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो खप्तड। समुद्र सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाईमा २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो। यहाँ साना–ठूलागरी २४ भन्दा बढी पाटन (फाँट) छन्। वि.सं. २०४१ मा यस क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो।

उत्तरमा दार्चुलाको अपी र बझाङको सैपाल हिमालको मनोरम दृश्य, अमूल्य जडिबुटी र रंगीबिरंगी फूल फुल्ने बोटबिरुवा, सफा नरम पर्सीयन कार्पेट बिछ्याइए झैँ लाग्ने मैदान, जहाँ टेक्दा पनि बिग्रन्छ कि जस्तो लाग्छ। तीन हजार २०० मिटर उचाईमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ। पाटनहरू हिउँले सेताम्मे भएका हुन्छन्। प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन्।

खप्तड पुग्नका लागि काठमाडौंबाट धनगढीको बसमा यात्रा गर्नुपर्छ भने त्यहाँबाट डोटीको सिलगढीसम्म बसमै यात्रा गर्न सकिन्छ। त्यससँगै पैदल यात्रा गर्नुपर्नेछ । साथै निजी सवारी साधनमा पनि खप्तड पुग्न सकिन्छ।

प्रसिद्ध शक्तिपीठ ‘शैलेश्वरी’

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो शैलेश्वरी। सात बहिनी भगवतीमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको दिपायल सिलगढी नगरपालिका–६ मा अवस्थित छ। यहाँ दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुँइचो लाग्छ।

शैलेश्वरीमा प्रत्येक १२ वर्षमा लख्यहोम तथा १ सय ४४ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्दछ, भने मन्दिरमा नित्य पूजा हुने गर्दछ। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ। शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरू पनि छन्।

जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन्। यो  मन्दिरमा  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। स्थानीय पञ्चेबाजा र आफ्नै मौलिक विशेषतासहित यहाँ भव्य मेला लाग्ने गर्दछ।

यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले जानकारी दिए। शैलेश्वरीको मेला भर्न सुदूरपश्चिम क्षेत्रका प्रायः नौ वटै जिल्लाका साथै काठमाडौं र भारतबाट समेत हजारौं दर्शनार्थी आउने गर्दछन्।

शास्त्रमा उल्लेख भएअनुसार महादेव र पार्वतीको स्वयंवर भएपश्चात् विहार गर्ने  क्रममा वनमा सयर गर्दै चन्दनगिरि पर्वत अर्थात् सिलगढीमा पुग्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वत देखियो। शिवपार्वती यहाँ मोहित भए र प्रणयमा रमाउन थाले। यही बेला राक्षस तारकासुरले देवलोक तथा पृथ्वीलोकमा आतंक मच्चाउँदै थिए।

आतंकबाट जोगिन पीडित ऋषिमुनि तथा देवता महादेवको खोजी गर्दै चन्दनगिरि (सिलगढी) आइपुगे। त्यस बेला शिवपार्वती एकाकार भइ प्रणयमा लीन थिए। सोही बेला एकाएक ऋषिमुनि तथा देउता आएपछि पार्वती लाजले शिलामा लुप्त भइन्। पार्वती शिलामा परिणत भएकाले जसको नाम शिलादेवी तथा शैलमा शयर गरेकाले शैलेश्वरी रहन गयो। यसैको नामबाट सो ठाउँको नाम पनि सिलगढी रहन गएको किम्बदन्ती छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.