|
फोटो :रासस

काठमाडौं : व्यवस्थापिका संसद सचिवालयमा एक महिना १० दिन अघि दर्ता भएको संविधान संशोधन विधेयक आइतबार संसद बैठकमा पेश भएको घटनालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले असंसदीय अभ्यास भनेको छ। 

एमाले उपाध्यक्ष बामदेव गौतमले सम्पूर्ण प्रतिपक्षी एक भएर विरोध गरिरहेको अवस्थामा संसारमा भएको संसदीय अभ्यासकाविरुद्ध सभामुखले विधेयक प्रस्तुत गरेको आरोप लगाए। उनले सभामुख ओनसरी घर्ती मगरले प्रतिपक्षीले विरोध गर्दा समेत विधेयकले अनुमति प्राप्त गरेको घोषणा गर्नु लज्जास्पद घटना भएको बताए।

‘सत्तापक्ष र प्रतिपक्षीबीच एग्रि टु डिस एग्री भन्ने सहमति भएको होइन’, बैठकपछि पत्रकारसँग गौतमले भने ‘प्रधानमन्त्रीले यसरी जाउँ भन्नुभएको हो। त्यो उहाँको कुरा हो। हामीले सहमति गरेका छैनौं। उनले आफूहरु विगतमा माओवादीले प्रतिपक्षमा रहँदा जस्तो सांघातिक हमला नगर्ने जनाएको बताए।

‘संसद चल्नुअघि हामी जुन तरिकाले बिरोध गर्दै थ्यौं, अब पनि त्यस्तै गर्छौं भनेका हौं’,  उनले भने ‘प्रधानमन्त्रीसँग त्यस्तो कुनैं एग्री डिसएग्री भन्ने कुरामा हाम्रो सहमति छैन। सहमति भयो भन्नु झुटो कुरा हो।’ गौतमले सहमतिमा विधेयक टेबल नभएको जिकिर गरे। उनले भने ‘हामीले टेबल हुन दिएको होइन। सम्पूर्ण प्रतिपक्षी विरुद्धमा गएको बेला विधेयक टेबल हुँदैन तर आज नेपालको संसदमा यस्तो शुरु भयो।’

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले लामो समयदेखि अबरुद्ध संसद आज प्रमुख प्रतिपक्षीको अबरोधका बाबजुद टेबल गर्ने काम सभामुखको विगतको रुलिङविरुद्ध भएको टिप्पणी गरे। उनले भने ‘सभामुखज्यूले पटक पटक प्रमुख प्रतिपक्षी लगायतका दलका सांसदहरुले बिरोध गरेको यो अवरोधको अवस्थामा संसद चल्न सक्दैन भनेर गर्नुभएको विगतको रुलिङको विरुद्ध आज बैठक गरिएको छ।’

ढकालले निर्वाचन र महाभियोगको सम्बन्धी विधेयकप्रति प्रतिपक्षको विरोध नभएपनि सरकाले गलत बाटो चयन गरेको आरोप लगाए। उनले यसले सरकारलाई अप्ठ्यारो बाटो हिँड्न अभिप्रेरित गरेको बताए।

अब देशले निकास पाउँछ : कानुन मन्त्री

कानुन तथा न्याय मन्त्री अजयशंकर नायकले संविधान संशोधन बिधेयक संसदमा टेबल भएपछि देशले अब निकास पाएको प्रतिक्रिया दिए। उनले विधेयकका सम्बन्धमा सुझाव र प्रतिक्रिया लिन एक महिनाको समय लाग्ने बताए।

नायकले भने ‘यो विधेयकमाथि थप छलफल र परिमार्जन गरेर पारित गरिन्छ। राष्ट्रिय आवश्यकता संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नु भएकोले निर्वाचनको वातावरण बनाउन यो विधेयक पेश गरेका हौं।’ उनले राष्ट्रिय आवश्यकताको बिषयमा प्रतिपक्षी भन्ने कुरालाई गौंण राखेर विधेयकलाई प्राथमिकता दिएको बताए।

माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटले संविधान संशोधन विधेयक संसदमा पेश हुनुलाई मुलुकको संकट निकासको लागि छलफल गरेर अघि बढ्ने संकेत दिएको दाबी गरे।

उनले प्रतिपक्षीले बिरोध गरे पनि सहयोगले नैं विधेयक अघि बढेको दाबी गरे। ‘यसले व्रेक थ्रु गर्छ। देश सहमतिको बाटो तिर अघि बढ्यो’, सापकोटाले भने ‘उहाँहरुले एकै पटक समर्थन गर्न सक्नुहुने थिएन नि तर टेबलको वातावरण त बनाई दिनु भयो।’ सापकोटाले असहमति भित्रको सहमतिबाट विधेयक टेबल भएको दाबी गर्दै यो राष्ट्रहितको लागि गरिएको म्याच फिक्सिङ नैं हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.