|

बैतडी : बैतडीमा रहेको नेपाली सेनाले पनि आज फूलपाती भित्र्याएको छ। सदरमुकाममा रहेको हनुमानध्वज गुल्मले शनिबार विधिवत रुपमा फूलपाती भित्र्याएको हो। देशका अन्य जिल्लामा रहेका नेपाली सेनाले फूलपातीको दिन ब्यारेकभित्र निसान भगवतीको पूजा गर्ने भए पनि बैतडीमा भने ब्यारेक बाहिर निसान भगवतीको पूजा गरेको हो।

बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर रहेको ब्यारेक बाहिर निसानको पूजा गर्ने गरिएको छ। गुल्मले आज निसान भगवतीको पूजाआजा गरी फुलपाती भित्र्याइएको हो। जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा ससस्त्र प्रहरीको टोलीले शाहिलेकस्थित निसान देवी भगवतीको मन्दिरमा बोका र कुपिण्डोको बली दिनुका साथै पूजाआजा गरी सेनाको ब्यारेकभित्र फुलपाती भित्र्याएको हो।

निसान भगवतीको मन्दिरमा जगन्नाथ मन्दिरका पुजारी हरिहर भट्टद्वारा पूजापाठ गरिएको थियो। सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पण गरेको थियो। 

पूजाआजा तथा फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अमित सिंह, हनुमानध्वज  गुल्मका गुल्मपति सेनानी महेश्वर शिलवाल लगायतको सहभागिता रहेको थियो। योसँगै फूलपाती अन्य सबै सुरक्षा निकायले पनि भित्र्याएका छन्। 

सशस्त्र प्रहरीले हाल्यो पिङ

बैतडीमा पनि दशैं तथा तिहारको अवसरमा पिङ हालिएको छ।  बैतडीमा रहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्मले सदरमुकामस्थित टुडिखेलमा लिंगेपिङ हालेको हो। पिङको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उद्घाटन गरे। 

दशैंतिहार रमाइलो गर्ने पर्व भएकोले पिङ राखिएको बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए। सशस्त्र प्रहरी बलले दशैंमा देशका सबै जिल्लामा पिङ राख्ने नीतिअनुसार बैतडीमा पनि पिङ हालिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.