थिएटरमा थारु नाटक

|

काठमाडौं : जसै दशैं नजिकिदै जान्छ भूमिपुत्र थारु गाउँमा रौनक शुरु हुन्छ। अझ थारु समुदायका युवायुवती दशैंका लागि विशेष तयारी गर्न थाल्छन्। कला, संस्कृतिले धनि थारु जाति दशैंलाई भव्यरुपमा मनाउँछन्।

दशैं भनेपछि अरु समुदायमा टीका लगाउने, टाढा रहेका आफन्तसँग भेटघाट हुने र सद्भाव साटासाट गर्ने भन्‍ने बुझिन्छ। तर थारु समुदायमा भने दशैं भनेपछि नाचगान र उत्सवको पर्व भनेर समेत बुझिन्छ।

पश्चिम तराईका थारु गाउँमा दशैंमा लोकप्रिय सखिया (डसैना) नाच नाच्ने प्रचलन छ। थारु गाउँका किशोरीहरु मादलको तालसँगै मजुरा बजाउदै सखिया नाच्छन्। यस्तै कथावस्तु समेटिएको थारु भाषाको नाटक "भुरभुरा रहर" पहिलोपटक मञ्चन गरिएको छ।

थारु समाजको यही दृष्टान्तलाई मौलिक रुपमा कथाकार सुशील चौधरी र निर्देशक प्रणव आकाशले मञ्चमा उतारेका छन्। पुस १५ गतेबाट शुरु भएको उक्त नाटक २३ गतेसम्म सर्वनाम थिएटरमा मञ्चन गरियो। 

सखिया नाच्नका लागि थारु युवतीले हातमा लिएर बजाउने मजुरा अनिवार्य हुन्छ। त्यो नभए युवतीहरु नाचमा सहभागी हुन सक्दैनन्। तर थारु गाउँमा त्यस्ता परिवार पनि हुन्छन् जसले आफ्नी छोरीका लागि मजुरा किन्‍न नसक्दा छोरी नाच्‍नबाट बञ्चित हुन्छिन्।

नाटकमा मजुरा नहुँदा आफ्नो सँगीसँगै नाच्न जान नपाएकी एक युवती छिन् गुल्पी (अञ्जु चौधरी)। गरीब परिवारकी गुल्पी नाटककी मुख्य पात्र हुन्। उनी अन्य किशोरीजस्तै सखिया नाच्न चाहन्छिन् तर सखिया नाच्ने दिन आउँदासमेत उनीसँग मजुरा र फरिया हुँदैन। आफ्नै टोलमा साथीहरु मादलको तालमा सखिया नाचिरहँदा गुल्पी भने छटपटाइरहेकी हुन्छिन्।

घरमा रहेकी गुल्पीका बुडी (हजुरआमा)को छेउमा नातिनी पटक-पटक रोइरहेको देखिन्छिन्। सुत्न समेत सक्दिनन् उनी। गुल्पीको नाचमा अनुपस्थित हुँदा उनका संगीले पनि खोज्न थाल्छन् र घरसम्म पुग्छन्। गुल्पीका बुढी (सरिता चौधरी) ले उनको इच्क्षा पुरा गर्न छोरा जलविर (नन्दु चौधरी) र बुहारी टेंग्नीलाई डाकेर घरमा भएका गरगहरा सबै बेचेर भएपनि आफ्नी नातिनीका लागि मजुरा र फरिया किनिदिने निधो गर्छन्। सम्पत्तिको नाममा त्यही गहना मात्र भएका उनीहरुले घरमा भएको सबै गहनार भेँडा बेचेर गुल्पीका लागि बजारबाट मजुरा र फरिया किनेर ल्याइदिन्छन्।

नातिनी र छोरीको इच्छा पूरा गर्न आफूले लगाएको गहना बेच्न विवश भएका हजुरआमा र आमा कुनामा बसेर रोइरहेका हुन्छन्। उक्त दृष्यले थारु समाजको गरिबी यथार्थरुपमा बोलिरहेको देखिन्छ। बजार गएका बाबालाई उनी घन्टौं बाटो कुरेर बस्छिन्। बाबा नजिकै आउन थालेको देखेर गुल्पी बाटोमै बाबाका लागि अर्नी (जाँड र चट्नी) लिएर जान्छिन्। गुल्पी बाबाले ल्याइदिएको मजुरा र भुरभुरा लिएर उनी पन्छी झैँ उड्न थाल्छिन्। संगीहरुसँग सखिया नाच्ने गुल्पीको सपना पूरा हुन्छ।

मजुरा पाएर नाच्न पाउने भएपछि गुल्पी खुसीले गदगद भएकी हुन्छिन्। अनाज राम्रो भएमा बेचेको गहना फर्काउने आशमा रहेका गुल्पीका अभिभावक गुल्पीको खुसी देखेपछि भने पीडाभित्र खुसी खोज्न थालेका हुन्छन्। सपना पूरा भएको रात एक्लै मजुरा बजाएर गीत गाएको दृश्यले पनि ती थारु परिवारलाई बयान गर्छ, जसले आर्थिक अवस्था कमजोर भएर आफ्ना छोरीलाई कमलरी राख्न बाध्य छन्।

नाटकमा थारु गाउँ, त्यहाँ परिवेश, थारु युवतीहरुले माछा मारिरहेको, कलकरवा (बाँदरको नाच देखाउने मान्छे) को रोचक प्रस्तुति, डोरी बाटेको दृश्य, युवतीहरु खोलामा रमाएको, कुवामा पानी भरेको, घोंगी, माछा खाएको, अर्नी (जाँड, अचार, चट्नी) खाएको मौलिक दृष्य हेर्दा साँच्चिकै थारु गाउँमै गएको महसुस गर्न सकिन्छ।

नाटकमा मजुरा नभएर नाच्न नपाएको एक किशोरी कथासँगै थारु जातिको मौलिक समाज, त्यहाँको विवशता, संस्कृति, परम्परा, भाषा, भेषभूषा निर्देशकले मौलिकरुपमा प्रस्तुत गरिएको छ।

नाटकका लेखक चौधरीले "भुरभुरा रहर"को अर्थ किशोरकिशोरीको रहर भएको बताए। 'सख्या नाच्दा युवतीले प्रयोग गर्ने मुजुरामा हालिएको रिबन, जुन हावाको झोँक्कासँगै हल्लिन्छन्, किशोरकिशोरीको रहर/भावना पनि त्यस्तै हुन्छ। त्यो भुरभुरा उड्नु र किशोरीको भावना उड्नु एउटै कुरा हो,' उनले भने, थारु समाजमा रहेको त्यही कथा नाटकमा प्रस्तुत गरेका हौं।'

नाटकमा गुल्पीका हजुरआमा र आमाले बिहेमा श्रीमानले दिएको नासो बेचेर आफ्नो सन्तानको इच्क्षा पुरा गरिदिन्छन्। मान्छेको रहर मार्नु भनेको जीवन मर्नु जस्तै भएको कथाकार चौधरीले बताए। 'एउटा मान्छेको रहर मर्नु भनेको जीवन मर्नु जस्तै हो। थारु समुदायमा एउटा हुर्केकी छोरीका लागि मजुरा र फरिया नहुनु भनेको अत्यन्तै अप्ठ्यारो स्थिति हो-उनले भने, आफ्नो नातिनीको रहर पुरा गर्न हजुरआमाले टरिया र आमाले माइतीबाट दिएको भेँडा बेच्ने निधो गर्छन्। माइतीले दिएको नासो बाध्यताले बेच्नु र हजुरआमालाई बिवाहमा हजुरबाले दिएको टरिया बेच्नु भनेको अत्यन्तै अप्ठ्यारो अवस्था हो। यसमा निकै गहिरो भावनात्मक सम्बन्ध हुन्छ। हाम्रो समाजमा गरिबी छ। गरिबी भएपछि सन्तानको रहर पुरा गर्न उनीहरु ती दुवै कदम उठाएको कथा नाटकमा छ।' 

नेपालमा कचहरी नाटक शुरु गर्ने सिमित व्यक्तिहरुमध्ये एक हुन् शुसील चौधरी। अहिलेका चर्चित कलाकार सुनील पोखरेल, राजन खतिवडासँग कुनै बेला रंगमञ्चमा अभिनय गरेका चौधरीलाई थारुभाषामै नाटक मञ्चन गर्ने सपना थियो। मानवअधिकारकर्मी चौधरीको सपना रंगमञ्चमा जमिरहेका प्रणव आकाशसँगको सहकार्यपछि पुरा भएको छ।

नाटक थारु भाषामा छ तर, थारु भाषा नबुझ्नेले पनि नाटक हेरिसक्दासम्म सबै कथावस्तु बुझ्छन्। त्यसरी कलात्मकरुपमा नाटक तयार गरिएको छ। निर्देशक प्रणवले नाटकमा ५० वर्षअघिको पश्चिमी थारु समाज देखाउन खोजिएको बताए। नाटक थारुको पनि दंगौराभाषी लवज प्रस्तुत गरिएको छ।

चम्पन सांस्कृतिक समूहले सर्वनाम थिएटरसँगको सहकार्यमा प्रस्तुत गरेको नाटकमा नन्दुराज चौधरी, अन्जु चौधरी, इन्द्र चौधरी, दोषहरण चौधरी, जितु चौधरी, सरिता चौधरी पछल्डङ्ग्या, शान्ती चौधरी, दीपा चौधरी, भूमिका चौधरी, भिष्मा चौधरी, गायत्री चौधरी, दीपक चौधरी र निरज चौधरीको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.