|

म्याग्दी : वडा दशैं शुरु भएसंगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरु भरिन थालेका छन्। सदरमुकाम बेनीबजार लगाएत गलेश्वर,बावियाचौर र दरवाङ आदि ग्रामिण बजारहरुमा मानिसहरुको चहलपहल कम भएको छ ।

अध्ययन,जागिर,छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरु आ-आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ । शनिबार फूलपातीदेखि सरकारी कार्यालयहरु समेत बन्द भएपछि बजारमा मानिसको शहर सुनासान लागेको महसुस गरेका छन् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य।

फूलपातीको अघिल्लो दिनसम्म निकै भीडभाड भएको वैंक तथा वित्तिय संस्थाहरु पनि अहिले सुनसान छन् । वसपार्क,जीपपार्क र देवालयहरुमा भने मानिसहरुको चहलपहल देखिएको छ ।

अधिकांश व्यक्तिहरु वैदेशिक रोजगारीमा जाने भएकोले म्याग्दीलाई लाहुरेहरुको जिल्ला भनेर चिनिन्छ । यहाँको कुल जनसंख्या १ लाख १३ हजार मध्ये ३८ प्रतिशत मानिसहरु वैदेशिक रोजगारीमा रहेका छन् । तीमध्ये आधा भन्दा बढि व्यक्तिहरु दशैं मनाउन गाउँमा फर्किएकाले गाउँको रौनक फेरिएको अन्नपूर्ण गाउँपालिकाका यामवहादुर वरुवालले बताए ।

६ दिनमा २२ करोड विप्रेषण
रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले  दशैं-तिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थामा दशैंका ६ दिन (घटस्थापनादेखि फूलपातीको अघिल्लो दिनसम्म) करिब २२ करोड विप्रेषण भित्रिएको बैंकतथा वित्तिय संस्थाहरुले जानकारी दिएका छन् ।

असोजको पहिलोसाता सम्म सामान्य भिडभाड रहेका वित्तिय संस्थामा तीनदिन सामान्य अवस्था भन्दा चार गुणा बढेको बैंक तथा वित्तिय संस्थाले जनाएको छ । दशैंतिहारलाई लक्षित गरी पठाएको रेमिट्यान्स लिन सदरमुकाम बेनी सहित जिल्लाका अन्य ब्यापारिक केन्द्रमा दैनिक रेमिट्यान्स लिन आउनेको भीड लागेको थियो । 

विश्वका विभिन्न देशमा रहेका म्याग्दी बासीले परिवारलाई खानपिन, लत्ताकपडा सहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि ३ लाखसम्म रेमिट्यान्स पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए ।

जिल्लामा चारवटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा करिव ५ करोडको कारोबार गर्ने जनाएको छ । गरिमाले बार्षिक करिव एक अर्वको हाराहारीमा गरिमाले रेमिट्यान्स भुक्तान गर्ने बताउँदै यसबर्ष विगतको तुलनामा बढेको जनाएको छ । 

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्क अनुसार प्रतिव्यक्ति न्यूनतम १० हजारदेखि पाँच लाखसम्म वितरण भइरहेको लोकदिप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए । उनले सहकारीमार्फत बार्षिक ६ करोडको रेमिट्यान्स वितरण गर्ने गरिएपनि दशैंको सिजनमा अत्याधिक रहेको बताए ।

जिल्लामा साक राष्ट्रका साथै यूरोप, अमेरिका सहित खाडीमुलकबाट रेमिट्यान्स भित्रिने गरेकोमा करिव ७० प्रतिशत रेमिट्यान्सको हिस्सा खाडीमुलुक रहेको छ । खाडीमुलुकबाट भित्रिने रेमिट्यान्स घरायसी खर्चमै सिमित हुने गरेको समेत सेवाप्रदायक संस्थाले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.