|

जाजरकोट : अघिल्लो वर्ष कृषि जन्य पर्दाथको उत्पादन बढाउन माटो जाँच गरेसँगै उत्पादन बढेको छ। 

अघिल्लो वर्ष भन्दा यो वर्ष उत्पादनमा बृद्धि भएसँगै किसानहरुले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यवसायिक खेती गर्न थालेका छन्। ७५ प्रतिशत अनुदानमा अघिल्लो वर्ष बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन्।

नगरपालिकाले गाउँ, गाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लिए पन पत्ता लगाएर सोही अनुसारका बीउ सिफारिस गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

 कृषक समूहमार्फत बीउ वितरण गरी सवै कृषकलाई व्यवसायिक रुपमा खेती गर्ने वातावरण बनाएको छ। उनले भने , 'अघिल्लो वर्ष भन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको संख्या अत्यधिक भएको छ। हामीले पनि जिल्लाकै मुटु मानिने भेरी नगरपालिकालाई सवै भन्दा उत्कृष्ट बनाउनका लागि किसानको माग नै पहिलो आधार बनाएका छौँ।' 

कृषकले लगाएको बालीको हेरदेख र सल्लाह दिनका लागि उहाँहरुकै खेतबारीमा प्राविधिक खटाउनुका साथै वडा अध्यक्षहरूलाई निगरानी गर्न आग्रह समेत गरेको प्रमुख घर्तीले भने। उनले जनताको जीवनस्तरमाथि नउठाई राजनीतिक क्रान्ति र देश समृद्ध नहुने भएकाले हाम्रो पहिलो प्राथमिकता किसानमैत्री बन्ने बताए।नगरप्रमुख घर्तीले भने, 'अहिले हामीले जिल्ला सदरमुकाममा दूध डेरी सञ्चालन गर्न र ठाउँ अनुसारको खेती गराउन पलस्टर बनाएर काम गरिरहेको छौँ।' 

माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउनका लागि कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ। यो कार्यक्रमबाट भेरी नगरपालिकाका कृषकको जीवनस्तरमाथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ।

कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, औखर, कागती लगाएका विरुवा उत्पादनमा लगानी गर्ने छ। कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजना समेत रहेको छ। त्यस्तै  किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालिम समेत दिने प्रमुख घर्तीले बताए।

जिल्लाको सवै भन्दा बढी तरकारी उत्पादन गर्ने थलोको रुपमा परिचित भेरी नगरपालिकामा कृषि क्षेत्र विकास कार्यक्रम लागु भएसँगै आर्थिक रुपमा पनि निकै सजिलो भएको कृषकले बताएका छन्। माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ, नयाँ खालका योजना माग गर्न थालेका छन्। 

भेरी नगरपालिका ८ का कृषक लालबहादुर थापाले भने, 'हामी माल भएर चाल नपाउँने किसान रहेछौँ। अहिले हामी नगरपालिकासँगको सहकार्य लाई बढाएर लैजान्छौँ।आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ।' 

स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि बीउ नपाई फर्केको व्यथा सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले भने, 'हामीले नै भोट हालेको छोरा , मालिक छ। हामी केही परेमा उसैलाई भन्छौँ। हाम्रा कुरा राम्रो सँग सुनेका छन्। हामी खुसी छौँ।'

भेरी नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभ समेत उठाएका छन्। सो एप्समा कृषिदेखि पोषणसम्म र बालीबाली लगाउनेदेखि कसरी खाने सम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो। 

कृषकलाई राहत पुग्ने खालका नयाँ-नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज वेल्वासेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.