|

बैतडी : स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ। केही वर्ष अघिसम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्ष यतादेखि स्याउ फल्न छोडेको छ। स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो।

विसं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सुख्खा फलफूल विकास केन्द्रले जिल्लामा जैतुन खेतीको विस्तार गर्ने तयारी गरेको सुख्खा पलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए। 'जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती हो,' उनले भने, 'जैतुनको तेल बहुऔषधिको रूपमा समेत प्रयोग गरिन्छ।' 

किसानलाई जैतुन खेतीमा आकर्षण गराउनका लागि सुख्खा फलफूल विकास केन्द्रले एक सय वटा जैतुनका माउ बोट आफ्नो नर्सरी लगाएको प्राविधिक खड्काले बताए। '५ हजार जति विरुवा कलमीका लागि नर्सरीमा राखिएको छ' उनले भने 'एक वर्षभित्रै किसानलाई ५ हजार जैतुनका विरुवा वितरण गरिने तयारी भएको छ।' जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधिका लागि उपयुक्त भएको उनको भनाइ छ।

६ केजी जैतुनबाट १ केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा किसानको जीविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ। यसका साथै सुख्खा फलफूल विकास केन्द्रले काजुखेती, कागजी बदामलगायत किसानलाई बढी आम्दानी दिने खालका फलफूलका विरुवा नर्सरीमा राखेको छ। सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका विरुवा उत्पादन गर्न थालिएको छ।

तत्कालीन राजा महेन्द्रले स्याउ फलाउन रोजेको बैतडीको सतबाझ स्याउ नर्सरीमा जैतुनखेती विस्तार गरिन लागिएको छ। सुरुमा सतबाँझ स्याउ नर्सरी राखिएको त्यस ठाउँको नाम स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्र राखिएको थियो। विसं.२०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवर्द्धनका लागि स्थापना भएको सुक्खा फलफूल केन्द्रमा पछिल्लो समय स्याउका जातहरू लोप भएका हुन्।

यसैबीच बैतडीमा पहिलो पटक किसानहरुलाई जैतुनको बिरुवा वितरण गरिने भएको छ। सुख्खा फलफूल विकास केन्द्र सतबाँझले आफ्नो नर्सरी जैतुनको विरुवा उत्पादन गरेकाले यो वर्षदेखि जैतुनको विरुवा वितरण गरिने सुख्खा पलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए। नर्सरीमा ७ सय बढी जैतुनको विरुवा राखिएको छ।

उन्नत जातको जैतुनको बिरुवा नर्सरीमा राखिएको छ। जैतुन बिरुवा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न स्थानीय तहको समन्वयमा अनुदानमा समेत वितरण गर्न सक्ने जनाइएको छ। जैतुनको बिरुवा हिउँदमा रोप्नुपर्ने भएकाले आउँदो हिउँदमा किसानलाई बिरुवा वितरण गर्ने उनले बताए।

जैतुनको तेल निकै महंगो हुने भएकाले किसानलाई जैतुन खेतीमा आकर्षित गराउन सुख्खा फलफूल विकास केन्द्रले नर्सरीमा जैतुनको बिरुवा राखेको हो। जैतुनको तेल खान, औषधिको रुपमा प्रयोग गर्न र अन्य कस्मेटिक सामग्रीमा पनि प्रयोग गर्न सकिने भएकाले निकै महंगो हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.