|

  • अर्जुन आचार्य-

विराटनगर : विराटनगरमा आउँदो फागुन ११ गतेदेखि ७ दिनसम्म चौथो विराट एक्स्पो २०७३ (कृषि तथा औद्योगिक प्रदर्शनी) हुने भएको छ।

विराटनगर उपमहानगरपालिका–३ स्थित शंकरपुर मार्गको खाली जग्गामा हुने एक्स्पोमा औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरायसी सामाग्री, गार्मेन्ट, खाद्यपदार्थको प्रदर्शन हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए।

नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानका समेत औद्योगिक उत्पादन तथा सेवा गरी २ सय २० भन्दा बढी स्टल रहने एक्स्पोको अवलोकन ३ लाख बढीले गर्ने आयोजकको दाबी छ। ‘सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप आयोजना गर्न लागिएको यस प्रदर्शनीले यस क्षेत्रको आर्थिक, सामाजिक, पर्यटन, सांस्कृतिक लगायतको क्षेत्रको प्रवर्द्धनमा सघाउ पुग्ने छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपाध्यायले भने, ‘एक्स्पोले कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावरणको सिर्जना, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट कृषि तथा औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानमा पनि सघाउ पुर्‍याउनेछ।’

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ हुने एक्पोमा ५० करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ। प्रदर्शनीको आकर्षणको रुपमा रोजगारी मेला, अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाको विभिन्न परिकार, वस्तुहरुको अलग–अलग पेभेलियन रहनेछ।

एक्स्पो सञ्चालनका लागि १ करोड १० लाखको खर्च अनुमान गरिएको छ भने दैनिक ६ देखि ७ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ। स्टल राख्न चाहनेहरुका लागि प्रति स्टल २५ हजार, कृषि, घरेलु, कुटिर र जडिबुटीका लागि प्रतिस्टल ११ हजार र अटोमोबाइल्सको लागि प्रतिस्टल ३७ हजार शुल्क तोकिएको छ।

एक्स्पोको सह–आयोजकहरुमा क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिति, मोरङ, विराटनगर उपमहानगरपालिका रहेका छन् भने प्रबर्द्धक नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.