|

काठमाडौं : ओमनमा जारी पाँच देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्यान्डलाई चार विकेटले हराएको छ। नेदरल्यान्डले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैमा करण केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको हो।

नेपालका लागि केसीले विष्फोटक ब्याटिङ गरे। उनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए। यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिँदा विनोद भण्डारीले २६ रन जोडे। त्यसैगरी, पवन सराफले ९, दीपेन्द्रसिंह ऐरीले ८ र आरिफ शेखले २ रन जोडे।

बलिङमा नेदरल्यान्डका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एक/एक विकेट लिए। पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो। 

नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिए। संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन्। यसबाहेक ललित राजवंक्षीले १ विकेट लिए। 

पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो। यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्यान्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो।

यस्तै, नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ। यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ। एउटा खेल रद्ध भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्यान्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.