समाज

घटालथानमा दशैं जाँतको तयारी अन्तिम चरणमा
SHARES

असोज २०, २०७६

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशै जाँत (मेला) को तयारी पूरा भएको छ। हरेक वर्ष बडा दशैंको अवसरमा अशिग्राम मन्दिरमा दशैं जाँत धुमधामसँग धार्मिक आस्थाका साथ मनाइने गरिन्छ।

    डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्। मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्लालगायत छिमेकि देश भारतबाट पनि भक्तजन आउने गर्दछन। धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्।

    धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयले बताउने गरेका छन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहिआएको छ।

    किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

    दशैं जाँतको ९ दिन अघि घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा र्पुयाइन्छ बडा दशैको दिन मेला सकिएपछि बेलुँकी देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

    दशैजातका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका स्थानीय विमलप्रसाद बोहराले जानजकारी दिए। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ।

    लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। सदियौँदेखि त्यहि मान्यताअनुरूप घटाल बाबालाई यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

    दशैं जातको अर्को आकर्षण आफन्तजनसँगको भेटघाट केही समयका लागि भए पनि एकै थलोमा बसेर सुख दुःख साँटासाँट गर्न पाउनु पनि हो। हालका वर्षमा वैदेशिक रोजगारी तिर जानेको संख्या बर्सेनि बढन थालेको छ। त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाको उपस्थिति बढदै गएको देखिन्छ।

    यस्तै, घटाल थानमा हरेक वर्षको बैसाख २ गते मेला लाग्ने गर्दछ। साथै जाँत अवधिभर जाँड रक्सी बिक्री वितरण, सेवन गर्ने तथा जुवाँतास खेल्ने खेलाउनेलाई समितिको निर्णयअनुसार कडाभन्दा कडा कारबाही गरिने भएकाले जाँतलाई मर्यादित बनाउन घटाल क्षेत्र विकास समाजले सबैलाई आग्रह गरेको छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]