|

बारा : जिल्ला प्रहरी कार्यालय बाराले खसी नियन्त्रणमा लिएर कार्वाही थालेपछि मासु व्यवसायीले त्यसको विरोधमा मासु बिक्रीवितरण नगर्ने घोषणा गरेका छन्।

विरोधस्वरूप दशैंको टीकाको दिन मंगलबार मासु बिक्री वितरण गर्ने घोषणा गरेका हुन्। जिल्लाभित्रकै गाँउगाउँबाट संकलन गरेको ल्याइएको खसी प्रहरीले नियन्त्रणमा लिएको विरोधमा मासु बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको संघका अध्यक्ष भोला शेखले बताए।

‘व्यवसायीले जिल्लाभित्रबाट ल्याएको खसीलाई प्रहरी भारतबाट ल्याएको भन्दै दुःख दिइरहेको छ,’ अध्यक्ष शेखले भने, 'त्यतिका धेरै खसी भन्सार पठाइसक्यो अब कसरी उपभोक्तालाई सेवा दिने?’ दशैंमा खसीको उच्च माग भएको बेलामा प्रहरीले व्यवसायीलाई दुःख दिएको उनको आरोप छ।

व्यवसायीको विरोध

१२ लाख मूल्य बराबरको खसी प्रहरीले नियन्त्रणमा लिई भन्सार चलान गरेकोमा व्यवसायीले विरोध जनाएका छन्। बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले विरोध जनाएका छन्।

उनले प्रहरीको कदमले मासु व्यवसायी निरीह बन्नु परेको टिप्पणी गरेका छन्। प्रहरीले सोमबार पनि ४२ वटा खसी कलैयाको बघवनबाट नियन्त्रण लिएको उनले बताए। मासु व्यवसायीको आन्दोलनमा महासंघको समर्थन रहेको उनले बताए।

९२ वटा खसी भन्सार चलान

दुई दिनमा कागजपत्र नभएका ९२ वटा खसी र एउटा बाख्रा लोड गरिएको सवारी र दुईजना चालकलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताए।

प्रहरीले बलेरो पिकअपमा लोड गरेर ल्याइँदै गरेको अवस्थामा आईतबार अवैध खसी सहित १ जना पक्राउ गरेको थियो। प्रहरीले बारा कलैया उपमहानगरपालिका-१ भरतचोकबाट भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइएको भन्दै बा.१७ च ५८६५ नम्बरको बलेरो जिप र सवारी चालक कलैया–९ का २५ वर्षीय शेख अफजललाई नियन्त्रणमा लिएको थियो। बोलेरोमा खसी ४९ वटा र बाख्रा १ वटा गरी ५० वटा लोड गरिएको थियो।

बरामद सवारी, चालक र खसी बाख्रा भन्सार ऐनअनुसार आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय वीरगञ्जमा बुझाएको बारा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.